भर्खरै :

“बदला लिन वर्ग शत्रु सधैँ दाउ खोजिरहन्छ”

भक्तपुर, २६ कार्तिक । १०४ औँ अक्टोबर क्रान्ति दिवसको अवसरमा नेपाल कर्मचारी समाजको आयोजनामा प्रवचन कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले क्रान्ति सफलतामा पु¥याउन बहुसङ्ख्यक कामदार जनतालाई राजनीतिकरूपमा सचेत र सङ्गठित गर्नुपर्ने बताउनुभयो ।
सोभियत रुसको इतिहास तथा अक्टोबर क्रान्तिअघिको राजनीतिक परिस्थितिबारे जानकारी दिँदै उहाँले युरोपको सबभन्दा पिछडिएको देश रुसमा लेनिनको नेतृत्वमा समाजवादी क्रान्ति सफल भई विश्वमा सर्वप्रथम माक्र्सवाद–लेनिनवादको सफल प्रयोग भएको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले वर्ग शत्रुले सधैँ बदला लिने दाउ खोजिरहने हुनाले मजदुर वर्ग सधैँ सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
बोल्सेविक र मेन्सेविकहरूबीचको भिन्नताबारे जनतालाई सचेत गराउनु आवश्यक भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “युरोपमा भन्दा रुसमा क्रान्तिको परिस्थिति तयार भएको लेनिनको बुझाइ अन्त्यमा सत्य सावित भयो र अक्टोबर समाजवादी क्रान्ति सफल भयो ।”
संसारका क्रान्तिहरूको सफलता र असफलताबाट पाठ सिक्नुपर्ने धारणा राख्दै उहाँले नेपालका शासक पार्टीका नेताहरू मेन्सेविक प्रवृत्तिका भएको उल्लेख गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “सबैभन्दा महत्वपूर्ण कुरा वर्गीय भावना हो । हामी वर्गीय भावनाका साथ अघि बढ्नुपर्छ ।
क्रान्तिलाई असफल पार्न प्रतिक्रियावादीहरूबाट षड्यन्त्र हुनसक्ने भन्दै उहाँले राजनीतिक कार्यकर्ताले जनताको शत्रु र मित्र चिन्नुपर्ने बताउनुभयो ।
आफू जोगिन देशलाई नै बर्बाद पार्ने राजनीतिक दलहरूदेखि सावधान रहन आग्रह गर्दै अध्यक्ष बिजुक्छेँले समाजवादको नारा दिएर समाजवादी विचारधाराविपरीत काम गर्नेहरूप्रति सचेत हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “चाहिने भन्दा बढी सहुलियत दिने पद्धति सही होइन । योग्यता अनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त गर्नु आवश्यक छ ।”
अध्यक्ष रोहितले देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने भावनाले काम गर्नुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशका सांसद सृजना सैँजूले समाजवादी व्यवस्था मानव समाजकै सबभन्दा अगाडि बढेको व्यवस्था हो भन्नुभयो ।
अक्टोबर क्रान्तिका उपलब्धिहरूलाई जोगाउन सोभियत एवम् विश्व सर्वहारा वर्गका नेता स्तालिनले गर्नुभएको योगदानलाई नयाँ पुस्तामाझ पु¥याउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले स्तालिनबारे लेखिएको ‘गुप्त दस्तावेजहरू’ स्तालिनका अङ्गरक्षकले लेखेको ‘स्तालिनसँग’ पुस्तकहरू अध्ययन गर्न सुझाव दिनुभयो ।
केन्द्रीय सदस्य सैँजूले भन्नुभयो, “शोषण र असमानता रहेसम्म सङ्घर्ष चालु रहनेछ । कामदार जनताको हातमा राज्यसत्ता नआएसम्म यो चक्र चालु रहनेछ ।”
“कुशल नेतृत्व र सङ्गठित शक्ति अजय रहनेछ । अक्टोबर क्रान्तिमा पड्केको तोपले संसारका न्यायप्रेमी जनतालाई बिउँझाएको थियो”, उहाँले भन्नुभयो ।
उहाँले थप्नुभयो, “अक्टोबर क्रान्तिले मानव समाजको विकासमा युगौँदेखि थिचिएर र शोषित भएर बाँच्न विवश जनतालाई शासन सत्तामा पु¥यायो । यस क्रान्तिले संसारलाई नयाँ बाटो देखाएको छ । एउटै देशमा पनि समाजवादी क्रान्ति सफल हुन्छ भन्ने शिक्षा अक्टोबर क्रान्तिले दियो । यस्तो उपलब्धि र महत्व भएको अक्टोबर समाजवादी क्रान्तिबारे जनतालाई सचेत र शिक्षित पार्ने काम नेपाल मजदुर किसान पार्टीले गर्दै आइरहेको छ ।”
केन्द्रीय सदस्य सैँजूले भन्नुभयो, “बाग्मती प्रदेशसभामा मेन्सेविक प्रवृत्तिका सांसदहरूको बाहुल्य छ ।”
कार्यक्रमका सभापति एवम् नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसाद लासिवाले कार्यक्रमको औचित्य र उपादेयताबारे चर्चा गर्दै सोभियत सङ्घको अस्थायी हार पछि सोभियत जनताले दुःख भोग्नुपरेको बताउनुभयो ।
कार्यक्रममा प्रभात मा.वि.का प्रिन्सिपल बदनकेशरी प्रजापति, आयोजक समितिका काजिबहादुर पञ्च र शिवराम धुख्वाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *