भर्खरै :

धार्मिक द्वन्द्वको विष नफैलाऔँ

शनिबार जनकपुरबाट आएको समाचार चिन्ताजनक खालको छ । समाचारअनुसार जनकपुरमा हिन्दू र मुसलमान समुदायबीच साम्प्रदायिक झडप हुँदा प्रहरीले हस्तक्षेप गर्नुपर्ने अवस्था सिर्जना भयो । समाचार स्रोतअनुसार छठ मनाउने विषयमा भएको विवादले झडपको रूप लिएको हो । सम्भावित जोखिमलाई ध्यानमा राखी धनुषा जिल्ला प्रशासन कार्यालयले शनिबार दिनको २ बजेदेखि आइतबार राति १० बजेसम्म तनाव भएको क्षेत्रमा निषेधाज्ञा लागु गरेको छ ।
छिमेकी देश भारतमा हिन्दू र मुसलमान समुदायबीचको द्वन्द्वको घटनाले भारतीय जनताले भोगेको त्रासद समयको कुनै हिसाबकिताब हुनैसक्दैन । भारत र पाकिस्तानबीच धर्मकै आधारमा विभाजन भएको थियो । बेलायती साम्राज्यवादले भारत छोड्ने क्रममा त्यसलाई कमजोर बनाउन धर्मको विषादि छर्दा भारत विभाजित भएको थियो । भारत–पाकिस्तान विभाजनको क्रममा भएको हिंसा र अभूतपूर्व बसाइसराइ मानव इतिहासमा सधैँ वियोगको कथा बनेर रहनेछ । त्यसयता पनि भारतका विभिन्न क्षेत्रमा धार्मिक दङ्गा हुँदा सर्वसाधारण पीडित हुने गरेका छन् । भारतमा अझै पनि सक्रिय हिन्दू अतिवादी सङ्गठनहरूले विशेषतः मोदी सरकार बनेयता मुसलमान र अल्पसङ्ख्यक समुदायमाथि दमनको क्रममा त्यस्ता हिंसाका घटना भइरहेका छन् । सन् २०१९ मा दिल्लीमा भएको दङ्गा सबभन्दा पछिल्लो उदाहरण हो ।
धर्म र जातको आधारमा हुने साम्प्रदायिक दङ्गा अन्त्यहीन हुने गर्छ । सन् १९४७ मा बेलायती उपनिवेशवादीहरूले मलजल गरेको हिन्दू–मुसलमानको विभाजनको बीज आज पनि भारतमा जरा गाडेर बसेको छ । धर्म व्यक्तिगत आस्था र स्वतन्त्रताको विषय हो । नेपालको संविधानले धार्मिक स्वतन्त्रता सुनिश्चित गरेको छ । सबै नागरिक आफ्नो आस्थाअनुसार धर्म मान्न वा नमान्न जति स्वतन्त्र छन्, उनीहरूले अरूको आस्थालाई सम्मान गर्न पनि उत्तिकै आवश्यक छ । कसैलाई धर्मको आधारमा विभेद गर्नुलाई हाम्रो संविधानले अपराध बताएको छ । त्यसकारण, धर्मलाई कुनै पनि हालतमा विभाजनको कडी बन्न दिनु हुन्न ।
जनकरपुरमा भएको द्वन्द्व नियोजितरूपमा देशका अन्य भूभागमा पनि फैलाउने प्रयास हुन सक्नेप्रति पनि सरकार सचेत बन्न जरुरी छ ।
जनकपुरमा शनिबार भएको द्वन्द्वको यथोचित समाधान गरी जनजीवन शान्त बनाउनुपर्छ । दुवै समुदायबीच झगडाको टुसमात्र पनि बाँकी नहुने गरी समाधानको उपयुक्त बाटो खोज्नु आवश्यक छ । धार्मिक द्वन्द्वले कसैलाई पनि फाइदा हुँदैन । त्यसकारण, धार्मिक वा राजनीतिक सङ्गठनले यो अवस्थाबाट फाइदा उठाउन खोज्नु कालान्तरमा आफ्नो खुट्टामा आफैले वञ्चरोले हान्नु हुनेछ । त्यस्तो मूर्खता कसैले पनि गर्नु हुन्न । भारतमा मौलाएको धार्मिक कट्टरता नेपालमा प्रवेश गराउन सबैको निम्ति घातक हुनेछ ।
धर्मको आधारमा गरिने विभाजनले समाजको सबभन्दा तल्लो वर्गलाई अझ कमजोर बनाउने गर्छ । धर्मको नाममा जनतालाई विभाजित गरी शोषणको चक्र चलाइरहेका शोषकहरू अझ शक्तिशाली हुने गर्छ । त्यसकारण, जनता धर्मको आधारमा विभाजित हुँदा जनतालाई शोषण गर्ने शोषकलाई नै लाभ हुन्छ । आज भारतका शोषक वर्गले त्यसको मनग्य लाभ उठाइरहेका छन् । नेपाली जनताले यो वास्तविकतालाई बुझ्न जरुरी छ ।
सङ्घ, प्रदेश र स्थानीय सरकारले तत्कालै समस्या समाधानको निम्ति अग्रसरता लिन जरुरी छ । कुनै समुदायमाथि दमन वा विभेद गरेर नभई न्यायको आधारमा र भविष्यमा फेरि त्यस्ता द्वन्द्व नदोहोरिने गरी समस्याको समाधान गर्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *