भर्खरै :

पश्चिम तराईका जिल्लामा रासायनिक मलको अभाव

सुदूरपश्चिम, २८ कार्तिक । हालैको बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेका कैलालीलगायतका जिल्लाका किसानले यतिबेला गहुँखेती गर्न रासायनिक मलको चरम अभावको समस्या झेल्नुपरेको छ ।
मल अभावका कारण समयमै गहुँ छर्न नपाएर समय घर्किन लागेको किसानले गुनासो गरेका छन् । वर्षापछि डुबानमा परेको होचो भागको अधिकांश क्षेत्रको जग्गा भने हिलाम्मे भएका कारण अझै खनजोत गर्न सकिएको छैन । पानी नजमेका अग्लो भागका जग्गामा खनजोत गरेर गहुँ छर्ने तयारीमा रहेका किसानलाई मल अभाव भएको हो ।
पश्चिम तराईका जिल्लामा यही कार्तिक अन्तिम हप्ताभित्रमा गहुँ छरिसक्नुपर्छ । यस समयभित्र गहँु नछरेमा उत्पादन राम्रो नहुने किसानको भनाइ छ । कार्तिक अन्तिमतिर गहुँ छर्दा उत्पादन राम्रो हुने भए पनि यसपालि वर्षाका कारण डुबानमा परेको खेत जोत्न सकिएको छैन । धनगढी उपमहानपगरपालिका–१३ का कृषक गुलाब रानाले भन्नुभयो, “डुबानमा नपरेका अग्लो भागका जग्गामा गहुँ छर्नका लागि मल नहुँदा अर्को समस्या आइलागेको छ ।”
मलका लागि दिनहुँ कृषि सहकारी संस्थाका प्रतिनिधि धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धाइरहेका छन् । पछिल्ला वर्षमा सहकारी संस्थामार्फत कृषकलाई अनुदानको रासायनिक मल बिक्री हुँदै आएको छ । सरकारी अनुदानको रासायनिक मल बिक्री वितरणको जिम्मेवारी पाएको सो कम्पनीमा डीएपी र युरिया मलको मौज्दात सकिएको छ ।
मल आपूर्तिका लागि गरिएको बोलपत्रमा कोरोना भाइरसको समस्याका कारण कसैले निवेदन नहालेकाले समयमै मल आपूर्ति गर्न ढिलाइ भएको कार्यालयका प्रमुख नबलसिंह बोगटीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चौध÷पन्ध्रपटक बोलपत्र आह्वान गर्दा पनि कोरोनाका कारण कसैको निवेदन नपरेको भन्ने छ, यसले गर्दा समयमै मल आपूर्ति भएन ।”
भैरहवा नाकामार्फत रासायनिक मल धनगढीका लागि ढुवानी हुन लागेकाले केही दिनमा मल आइपुग्ने उहाँले बताउनुभयो । “वर्षाले खेतमै काटेर सुकाइएको धानबाली भिजेर नष्ट भएको पीडामा रहेका किसानको हिउँदयामको प्रमुख गहुँ बाली पनि समयमै गर्न नपाएर प्रभावित हुने देखिएको छ”, कैलालीका किसान लोकराज ओझाले भन्नुभयो । रासायनिक मल प्रयोग गरिने खेतमा यसको प्रयोगबिना खेती गर्दा उत्पादन निकै घट्ने गरेको किसानको अनुभव छ ।
कम्पनीले चालु वर्षको साउनदेखि कार्तिकसम्ममा युरिया दुई हजार ३९४ मेट्रिक टन, डीएपी ८० मेट्रिक टन र पोटास ४३ मेट्रिक टन बिक्री गरेको छ । कार्यालयले यस वर्ष छ हजार मेट्रिक टन युरिया, पाँच हजार मेट्रिक टन डीएपी र ३०० मेट्रिक टन पोटास बिक्री गर्ने लक्ष्य राखेको छ । सरकारको अनुदानित मलमध्ये ७० प्रतिशत परिमाणको मल कृषि सामग्रीले र बाँकी ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत बिक्री वितरण हुँदै आएको छ । कर्पोरेसनमा पनि डीएपी र युरिया मलको मौज्दात सकिएको छ ।
कर्पोरेसनले अनुदानको डीएपी मलको विकल्पमा गैरअनुदानित सिङ्गल सुपर फस्फेट (एसएसपी) मल पनि बिक्री गर्दै आएको छ । सुदूरपश्चिम प्रदेश सरकारले किसानलाई सहुलियत मूल्यमा रासायनिक मल बिक्री वितरणको व्यवस्था गर्न कर्पोरेशनको धनगढी शाखालाई रु. एक करोड बजेट उपलब्ध गराएको थियो ।
यस सम्बन्धमा भएको सम्झौताअनुसार कर्पोरेसनले बिक्री गर्दै आएको रासायनिक मल एमोनियम सल्फेट र सिङ्गल सुपर फस्फेट तोकिएको मूल्त्न्दा सहुलियत मूल्यमा बिक्री वितरण भइरहेको छ । डीएपी र युरिया मलको विकल्पमा एमोनियम सल्फेट र सिङ्गल सुपर फस्फेट मल प्रयोग गर्न सकिने भए पनि कृषकबाट सो मलको माग खासै नआउने गरेको बताइएको छ ।
कर्पाेरेसनले सम्झौताअनुसार ५० किलोको प्रतिबोरा एमोनियम सल्फेट रु. एक हजार, बोरोन मिश्रण भएको सिङ्गल सुपर फस्फेट रु. ९३०, जिङ्क मिश्रण भएको सिङ्गल सुपर फस्फेट रु. ९०० बिक्री मूल्य निर्धारण गरेको छ । प्रदेशमा वर्सेनी रासायनिक मलको खपत बढ्दै गएको जनाइएको छ । रासस
…………………………
युरिया मल नपाउँदा किसान आक्रोसित
डोटी, २८ कार्तिक । गहुँ छर्ने बेलामा जिल्लामा युरिया मल नपाउँदा किसान आक्रोसित बनेका छन् ।
असोज अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीले यहाँका किसानको धान खेती बगाएपछि के खाने भन्ने चिन्तामा परेका किसानलाई अब गहुँ छर्ने बेलामा युरिया मल नपाउँदा झनै चिन्ता थपिदिएको छ ।
गहुँ छर्ने बेलामा पनि किसानले आवश्यक मल पाएका छैनन् । युरिया मल नपाउँदा सोचेजस्तो उत्पादन नहुने चिन्ता उनीहरूमा देखिएका छन् । मल ल्याउनका लागि सम्बन्धित निकायमा पटकपटक आग्रह गर्दा मल नल्याएको भन्दै किसान आक्रोसित बनेका छन् । अहिले डोटीसहित समग्र सुदूरपश्चिममा युरिया मल अभाव भएको छ ।
धान पसाउने बेलामा पनि मल नपाएको र अहिले गहुँ छर्ने बेलामा पनि मल अभाव भएपछि गहुँ बाली पनि नसप्रिने दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयवासी तथा व्यापारी धनबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “धान खेती बेलामा मल पाएनौँ, बेमौसमी वर्षाले धान बगाइदियो, अब गहुँखेतीका लागि मल माग्दा पाइँदैन, किसानले के गरी खाने ।” जिल्लामा मल आपूर्तिको जिम्मा पाएको नेपाल कृषि सामग्री कम्पनीले भैरहवाबाट मल नआएका कारण मल अभाव भएको बताउँदै आएको छ । मलका लागि भैरहवा कार्यालयमा पटकपटक आग्रह गर्दा ठेकेदारको लापरबाहीले मल आयात हुन नसकेको कम्पनीको दाबी छ ।
सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरका निर्देशक यज्ञराज जोशीले प्रदेशका नौवटै जिल्लामा मल अभाव भएको स्वीकार्दै प्रदेशमा कुल एक लाख मेट्रिक टन युरिया मल आवश्यक पर्ने भए पनि आपूर्ति गर्ने जिम्मा पाएको नेपाल कृषि सामग्री कम्पनीमा मल नभएका कारण वितरण गर्न नसकिएको जानकारी दिनुभयो ।
मल आपूर्ति व्यवस्थापनको जिम्मा पाएको नेपाल कृषि सामग्री कम्पनीले समयमै मल खरिद गरी नल्याउँदा यस्तो समस्या उत्पन्न भएको यहाँका किसानको आरोप छ । कृषि सामग्री कम्पनी दिपायलले कैलालीमा रहेको क्षेत्रीय कृषि सामग्री कम्पनीमा मल नभएका कारण आपूर्ति गर्न नसकिएको जवाफ दिने गरेको छ । जिल्ला कृषि ज्ञान केन्द्र सिलगढी डोटीले युरिया मलको विकल्पमा कुखुरा तथा गाईभैँसीको मल प्रयोग गर्न सकिने जानकारी दिएको छ । अहिले बजारमा युरिया मलको अभाव भएपछि वैकल्पिक मल प्रयोग गर्न प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरले आग्रह गरेको छ ।
निर्देशक यज्ञराज जोशीले ठूलो परिमाणमा गहुँ छर्नेहरूबाट मल नपाएको गुनासो आएको बताउनुभयो । “धेरै क्षेत्रफलमा गहुँ छर्न लागेकाहरूले मलको समस्या भयो भन्नुभएको छ । उहाँहरूको गुनासो आएपछि हामीले पनि समस्या हो वा हैन भनेर बुझेका छौँ”, उहाँले भन्नुभयो । मलको चर्को समस्या देखा परेको हो । मागअनुसारको आपूर्ति गर्नसक्ने अवस्था रहेनछ ।
यहाँ कृषि सामग्री कम्पनीले रासायनिक मल आपूर्ति गर्छ । तर मागअनुरूपको आपूर्ति भएको देखिँदैन । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *