भर्खरै :

भक्तपुर नगरपालिकाका किसानहरूलाई गहुँ र आलुको बीउ वितरण

भक्तपुर, २८ कार्तिक । भक्तपुर नगरपालिकाले भक्तपुर नगर क्षेत्रभित्रका किसानहरूलाई गहुँ र आलुको बीउ वितरण गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार आयोजित कार्यक्रममा १० वटै वडाका कृषक समूहलाई आलु र गहुँको बीउ हस्तान्तरण गर्नुभएको छ ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले निर्यातजन्य वस्तु उत्पादन तथा उत्पादकत्व बढाउन नसक्दा मुलुकको व्यापार घाटा चुलिएको चर्चा गर्दै कृषिप्रधान देश भएर पनि नेपाल कृषिमै परनिर्भर हुनुमा शासक दलहरू जिम्मेवार भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विश्वमा नेपाल धेरै धान उत्पादन गर्ने देशभित्र पर्छ । नेपालको खेतबारीमा फलेको अन्नबाली अपुग भएका कारण करोडौँको चामल विदेशबाट आयात गर्नुपरिरहेको विडम्बना छ ।”
भक्तपुर नगरपालिकाले किसानहरूको हित र फाइदा हुने गतिविधिमा जोड दिँदै आएको उल्लेख गर्दै उहाँले पुँजीपति सरकारले कामदार वर्गको हितमा काम नगर्ने विचार व्यक्त गर्नुभयो ।
जलस्रोतको धनी देश नेपालमा नागरिकहरू आधारभूत खानेपानी र बिजुली सेवाबाट वञ्चित छन् । उहाँले जलविद्युत्को विकासबाट नेपाललाई समृद्ध र धनी बनाउन सम्भव छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ, भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालले खेतबारीमा गहुँ र आलु लगाउने समय भएकोले भक्तपुर नपाले कामदार जनतालाई लक्षित गर्दै उन्नत जातको बीउ वितरणमा जोड दिँदै आएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष एवम् कृषि समितिका संयोजक राजकृष्ण गोराले नगरवासी कृषकहरूलाई उत्साहित पार्न र कृषि उत्पादन गर्न उन्नत जातको गहुँ, धान, आलुको बीउ र कृषि चुन वितरण गर्दै आएको प्रस्ट पार्नुभयो । उहाँले कृषि उत्पादन घट्नु नेपाल कृषि क्षेत्रमा परनिर्भर हुँदै जानु हो भन्नुभयो ।
भक्तपुर नपाका कार्यपालिका सदस्य एवम् कृषि समितिका सदस्य कृष्णलक्ष्मी दुवालले बढी उत्पादन हुने आशाले किसानहरूले लगाएको हाइब्रीड धानको उत्पादन झन्झन् घट्दै जाँदा किसान निराश बनिरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १० का वडाध्यक्ष एवम् कृषि समितिका सदस्य लक्ष्मीप्रसाद ह्यौँमिखाले मलको बिक्री वितरणमा विचौलियाले ठगिरहेको भन्दै भक्तपुर नपाले मल बिक्री वितरणमा गरेको मूल्य निर्धारणले किसानहरू लाभान्वित भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका दस वटै वडामा गठित कृषि समूहमार्फत नगरभित्रका किसानहरूलाई प्रतिघर परिवार ५ किलो गहुँ र ५ किलो आलुको बीउ वितरण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *