भर्खरै :

‘नयाँ–नयाँ तरिकाका भ्रष्टाचार बढ्दो’

काठमाडौं, ३१ असार । ‘नेपाल मजदुर किसान पार्टीका अग्रजहरूले २०१८-१९ सालदेखि नै भ्रष्टाचारविरोधी आन्दोलन अघि बढाउनुभएको हो । सरकामा गएका पार्टीहरू कमिशनमा लागेका हुँदा भ्रष्टाचार बढेको हो । २०५१ सालमा पहिलोपल्ट सरकारको नेतृत्व गरेको एमालेका मन्त्रीहरूले कमिशन राजश्वमा जम्मा गर्ने बताए पनि गरेनन् ।’
नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले नेपाल क्रान्तिकारी किसान सङ्घद्वारा काठमाडौं मनमैजूमा आयोजित भ्रष्टाचारविरोधी दिवसमा उक्त विचार राख्नुभएको हो ।
सचिव सुवालले असोज २ गते प्रदेश नं. २ को स्थानीय तहको चुनाव अगाडि भारतीय विस्तारवादले नेपालको हितविपरीत संविधान संशोधन तथा स्थानीय तहको सङ्ख्या बढाउन दबाब दिइरहेको उल्लेख गर्दै देशको सार्वभौमिकता रक्षा गर्न नेपाल मजदुर किसान पार्टी निरन्तर लागिपर्ने बताउनुभयो ।
नयाँ पुस्ताका भ्रष्टाचारविरोधी आन्दोलन अघि बढाउने लडाकू भावना कमजोर हुँदा कर फछ्र्यौटको निहुँमा ३० अर्ब ५२ करोड असुली हुनुपर्नेमा ९ अर्ब ५४ करोडमात्र असूली गरिएको र कमिशन खाएर २० अर्ब ९७ करोड कर मिनाहा गरिएको समाचार प्रकाशित भएको उल्लेख गर्दै सचिव सुवालले उपभोक्ताले तिरेको भ्याटसमेत छुट दिएर सरकारले जघन्य अपराध गरेको बताउनुभयो ।
सांसद सुवालले कर्मचारी प्रशासनलाई नै रू. १ खर्ब राजस्व नपुग भएको बजेट सरकारले पारित गरेको उल्लेख गर्दै प्रत्येक व्यक्तिको टाउकोमा रू. २३ हजार ऋण बोकाएको बताउनुभयो ।
निर्वाचन आयोगले असोजको अन्तिम हप्ता प्रदेशसभा र मंसिरको पहिलो हप्ता प्रतिनिधिसभाको चुनाव गर्ने तयारी गरेको उल्लेख गर्दै सांसद सुवालले साउन १ गतेदेखि १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालयमा तस्वीरसहितको मतदाता दर्ता कार्यक्रम राखेको जानकारी गराउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय अध्यक्ष एवं सांसद डिल्ली काफ्लेले भारतले बनाएका विभिन्न बाँध र तटबन्धका कारण नेपालको भूमि डुवानमा परेको तथा बाढीले हरेक वर्ष धनजनको क्षति हुने गरेको बताउनुभयो ।
उहाँले देशभरिका कामदार जनता उठेर भ्रष्टाचारको विरोधमा स·ठित नभएसम्म शोषणको अन्त्य नहुने स्पष्ट पार्दै भ्रष्टाचार पूँजीवादी व्यवस्थाको विशेषता हो भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले वर्षभरि विकासको काम नगर्ने आर्थिक वर्षको अन्त्यमा एकैदिनमा १० अर्बसम्म खर्च गर्नु नीतिगत भ्रष्टाचार भएको बताउँदै देशको बजेट सिध्याउने ध्याउनामा दर्जनौं कर्मचारीहरू विभिन्न देशको निरर्थक भ्रमण गरिरहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजवीर डंगोल, नेक्राकिसङ्घ केन्द्रीय सचिव विकल प्रजापति, केन्द्रीय सदस्यहरू गुणदास महर्जन, वीरबहादुर डंगोल, पूर्व केन्द्रीय सदस्य मणिराम तिवारीलगायतले भ्रष्टाचारविरोधी आन्दोलनबारे विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *