भर्खरै :

सी र बाइडेनबीच साढे तीन घण्टा वार्ता

पेइचिङ, १६ नोभेम्बर । मङ्गलबार संसारका दुई ठूला अर्थतन्त्र चीन र संरा अमेरिकाका दुई राष्ट्रपतिहरू सी चिनफिङ र जो बाइडेनबीच भर्चुअल बैठक भएको छ । बाइडेन संरा अमेरिकाका राष्ट्रपति निर्वाचित भएपछि दुई नेताबीच पहिलो पटक भएको बैठक साढे तीन घण्टा चलेको थियो ।
चीन र संरा अमेरिकाबीच बढ्दो असहज सम्बन्धबीच भएको यो बैठकलाई संसारले चासोपूर्वक नियालेको थियो ।
बैठकमा दुई राष्ट्रपतिबीच दुई देश र अन्तर्राष्ट्रिय परिस्थितिका विविध विषयमा कुराकानी भएको सञ्चारमाध्यमहरूले बताएका छन् । बैठक दुई नेताहरूको आत्मीयतापूर्वक हावभावबाट सुरु भएको थियो । पर्यवेक्षकहरूले बैठकले दुईपक्षीय सम्बन्धलाई निश्चित गर्नुका साथै आपसमा कडा प्रतिस्पर्धाबीच धेरै क्षेत्रमा दुई देशबीच सहकार्य हुनसक्ने सङ्केत दिएको प्रतिक्रिया दिएका छन् । चीन र संरा अमेरिकाले आपसको प्रतिस्पर्धालाई व्यवस्थापन गर्न खोजिरहेको संसारलाई सकारात्मक सन्देश बैठकमार्फत भएको छ ।
बैठकमा सीले बाइडेनलाई पुराना साथी भनी सम्बोधन गर्दै विश्वका साझा चुनौतीहरू समाधानको लागि संरा अमेरिका र चीनले मिलेर काम गर्न अपरिहार्य भएको बताउनुभयो ।
“चीन र संरा अमेरिका दुवै विकासको गम्भीर चरणमा छ र मानव जातिको विश्व गाउँले आज विभिन्न चुनौती सामना गरिरहेको छ”, सीले भन्नुभयो ।
संसारका दुई ठूला अर्थतन्त्र र संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्का स्थायी सदस्य हुनुको कारण चीन र संरा अमेरिकाले आपसमा सहकार्य र संवाद बढाउनुपर्नेमा जोड दिँदै उहाँले दुवै आ–आफ्ना आन्तरिक मामिला अघि बढाउँदै अन्तर्राष्ट्रिय जिम्मेवारीको आफ्नो भाग पनि सम्हाल्नुपर्ने र विश्व शान्ति एवम् विकासको महान् लक्ष्यमा अघि बढ्न मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
“दुई देशका आ–आफ्ना विकास अघि बढाउन, अन्तर्राष्ट्रिय क्षेत्रको शान्तिपूर्ण र स्थायी वातावरण कायम राख्न, जलवायु परिवर्तन र कोभिड–१९ महामारीजस्ता विश्वव्यापी चुनौतीको प्रभावकारी सामना गर्न चीन–संरा अमेरिका सम्बन्ध चुस्त र राम्रो हुनुपर्छ”, सीले जोडका साथ भन्नुभयो ।
“चीन र संरा अमेरिकाले आपसमा सम्मान गर्नुपर्छ, शान्तिसँग बस्नुपर्छ र दुवैको हित हुने सहकार्य अघि बढाउनुपर्छ”, सहमति बनाउन र चीन–संरा अमेरिका सम्बन्धलाई सकारात्मक दिशामा अघि बढाउन आफू बाइडेनसँग काम गर्न तयार भएको भन्दै सीले भन्नुभयो ।
सो क्रममा चीनका नेताले चीन–संरा अमेरिका सम्बन्धका तीन सिद्धान्त र चार प्राथमिकताका क्षेत्र प्रस्तुत गर्नुभयो । सिद्धान्तको सन्दर्भमा दुई देशले एक आपसका सामाजिक व्यवस्था र विकासका बाटालाई सम्मान गर्नुपर्ने, एकअर्काका मूल हित र प्रमुख चासोलाई सम्मान गर्नुपर्ने र एकआपसको विकासको अधिकारलाई सम्मान गर्नुपर्ने छन् ।
“दुई देशबीच एकअर्कालाई समान मान्नुपर्ने, आपसी मतभेदलाई नियन्त्रणमा राख्नुपर्ने र मतभिन्नता प्रस्तुत गर्दै सहमतिका बिन्दु पनि खोज्न आवश्यक छ । अन्य दुई वटा सिद्धान्तअन्तर्गत शान्तिपूर्ण सह–अस्तित्व र सर्वहितकारी सहकार्य हुन् । दुवैले द्वन्द्व र झगडाको दिशा लिन हुन्न”, चीनका राष्ट्रपतिले भन्नुभयो ।
संरा अमेरिकाले चीन र संरा अमेरिकाबीच सहअस्तित्व स्वीकारेको छ । सहअस्तित्वमा अब शान्तिपूर्ण शब्द पनि थपौँ । आपसका हित गहिरोसँग जोडिएको हुनाले चीन र संरा अमेरिकाले सहकार्यबाट केही पाउनेछ, द्वन्द्वबाट गुमाउनेछ”, उहाँले भन्नुभयो ।
सीले भन्नुभयो,“यो संसार दुई देशलाई एक्लै र सामूहिक दुवै हिसाबले विकास गर्न मनग्य छ । कसैको हानि नहुने या आपसमा हित हुने अथवा म नै जित्छु भने जिद्दी त्याग्नुपर्छ ।”
“आगामी पचास वर्षमा अन्तर्राष्ट्रिय सम्बन्धका सबभन्दा महत्वपूर्ण घटना चीन र संरा अमेरिकाले सँगै हिँड्ने सही बाटो पहिल्याउने हुनेछ । इतिहास निष्पक्ष न्यायाधीश हो । राजेताले के गर्छ, सही गर्छ वा गलत, त्यसले सफलता पायो वा असफलता आदि सबै कुरा इतिहासमा अभिलेखित हुनेछ । मलाई आशा छ, राष्ट्रपति बाइडेनले राजनीतिक नेतृत्व प्रदर्शन गरेर संरा अमेरिकाको चीन नीतिलाई तर्क र गतिशीलताको बाटोमा फर्काउनुहुनेछ”, सीले भन्नुभयो ।
बैठकमा अमेरिकी राष्ट्रपति बाइडेनले विगतमा जस्तै आफूले ‘प्रस्ट र हाकाहाकी छलफल’ गर्न खोजिरहेको भन्दै उहाँले दुई देशका नेताहरूले ‘दुई देशबीच द्वन्द्व नभई प्रतिस्पर्धा’ सुनिश्चित गर्नुपर्ने विचार राख्नुभयो ।
“हामीले विवेकको मार्गचित्र कोर्नुपर्छ, हाम्रा मतभेदलाई प्रस्ट र इमानदारीका साथ राख्नुपर्छ, आपसी हितका क्षेत्रमा मिलेर काम गर्नुपर्छ, विशेषतः जलवायु परिवर्तनजस्ता विश्वव्यापी मुद्दामा मिलेर काम गर्नुपर्छ । हाम्रा दुई देशको सम्बन्धले हामीलाई मात्र प्रभाव पार्दैन, बरु सिङ्गो संसारलाई प्रभाव पार्छ”, बाइडेनले भन्नुभयो ।
बाइडेनले संरा अमेरिकाले शीतयुद्ध नखोजेकोमा जोड दिंदै गर्दा चीनका राष्ट्रपतिले ‘नयाँ शीतयुद्ध’ नचाहने संरा अमेरिकाको कुरा प्रस्ट व्यवहारबाट अभिव्यक्त हुने आशा व्यक्त गर्नुभयो ।
बैठकमा बाइडेनले तीन वटा प्रतिबद्धता व्यक्त गर्नुभयो–चीनको व्यवस्थामा परिवर्तन गर्न नखोज्ने, आफ्ना सहयोगी मोर्चाको पुनःस्थापनालाई चीनविरोधी नबनाउने र चीनसँग द्वन्द्वमा जाने कुनै मनसाय नराख्ने । सीले बाइडेनका यी वचनबद्धताहरूको पालना हुने आशा व्यक्त गर्नुभयो ।
ताइवानको प्रश्नमा सीले चीन धैर्यवान भएको र इमानदार प्रयासबाट शान्तिपूर्ण पुनःएकीकरणको निम्ति प्रयास गरिरहेको बताउनुभयो ।
“यदि पृथकतावादी शक्तिहरूले ‘ताइवानको स्वाधीनता’ लाई उछाले, हामीलाई जबरजस्ती हात चलाउनुपर्ने अवस्था सिर्जना गरे अथवा लक्ष्मण रेखा पार गरे हामी कडा कदम चाल्न बाध्य हुनेछौँ”, सीले भन्नुभयो ।
जवाफमा बाइडेनले संरा अमेरिकी सरकार एक चीनको आफ्नो पहिलेदेखिको नीति निरन्तर भएको भन्दै संरा अमेरिका ‘ताइवानको स्वाधीनता’ को पक्षमा नरहेको बताउनुभयो । उहाँले ताइवान क्षेत्रमा शान्ति र स्थायित्व कायम रहने आशा व्यक्त गर्नुभयो ।
चीनमा बैठक बिहान भएको भए पनि त्यत्तिबेला संरा अमेरिकामा रात निकै छिपिसकेको थियो ।
बैठकमा दुवै देशका वरिष्ठ अधिकारीहरू पनि सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *