भर्खरै :

“पुँजीवादी सरकारमा जाने दल कम्युनिस्ट हुनसक्दैन”

कैलाली, ३० कार्तिक । अक्टोबर समाजवादी क्रान्तिको १०४ औँ दिवसको अवसर र देशघाती एमसीसी सम्झौताको विरोधमा नेपाल मजदुर किसान पार्टी कैलाली जिल्ला समितिको आयोजनामा मङ्गलबार जिल्लास्तरीय कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सचिव तथा प्रतिनिधि सभा सदस्य प्रेम सुवालले मजदुर र किसानको शोषण गर्ने पुँजीवादी सरकारमा गई भागबन्डाको राजनीति गर्ने एमाले र माओवादी कम्युनिस्ट पार्टी हुन नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “रुसमा लेनिन नभएको भए अक्टोबर समाजवादी क्रान्ति हुने थिएन । स्तालिन नभएको भए दोस्रो विश्वयुद्धमा सोभियत सङ्घलाई जोगाउन सकिन्नथ्यो । माओ त्से तुङ नभएको भए चीन आजको शक्तिशाली देश हुने थिएन । हो चि मिन्ह नभएको भए भियतनाममा क्रान्ति हुने थिएन ।”
सचिव सुवालले नेपालमा एमाले, माओवादीलगायत पार्टीले जनतालाई कम्युनिस्ट र क्रान्तिको नाममा झुक्याइरहेको प्रस्ट पार्नुभयो ।
सचिव सुवालले भारतको सहयोगमा नेपालका कथित जनयुद्ध गर्ने माओवादी अराजकतावादी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पृथ्वीनारायण शाहले राज्य एकीकरणको नाममा र नेपाली काङ्ग्रेसले प्रजातन्त्रको नाममा हतियार उठाए, बन्दुक पड्काए तर तिनीहरू कम्युनिस्ट थिएनन् । बन्दुक त डाँकुहरूले पनि बोक्छन् । माओवादीले बन्दुक देखाएर जनतालाई लुट्ने काममात्र ग¥यो ।”
उहाँले सभ्य र सुसंस्कृत हुनु नै कम्युनिस्टको परिचय भएको बताउनुभयो ।
सचिव सुवालले प्रधानन्यायाधीशलाई मन्त्री घुस दिने प्रधानमन्त्री देउवा र प्रचण्ड पनि दोषी भएकाले राजीनामा दिनुपर्ने बताउँदै भन्नुभयो, “घुस लिने र दिने दुवै दोषी हुन् ।”
पार्टी स्थापनाका सैद्धान्तिक आधारहरूबारे प्रस्ट पार्दै उहाँले तत्कालीन कम्युनिस्ट पार्टीसँग राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा सैद्धान्तिक मतभेद भएकै कारण नेमकिपाको स्थापना भएको चर्चा गर्नुभयो ।
सचिव सुवालले एमसीसीलाई चित्त बुझ्ने र भारतको समर्थन चाहिने योजना हुनुपर्ने सम्झौताको दफाले नेपाललाई अमेरिका र भारतको उपनिवेश बनाउने खोजिएको बताउनुभयो ।
उहाँले भन्नुभयो,“दक्षिण एसियामा युद्ध थोप्न र नेपाललाई युद्धमैदान बनाउने उद्देश्यले ल्याएको एमसीसी सम्झौताको विरोधमा सम्पूर्ण जनता एकजुट हुन आवश्यक छ, युद्ध भए नेपाल ध्वस्त हुन्छ ।”
नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले नेमकिपाको उद्देश्य कामदार जनताको व्यवस्था स्थापना गर्नु हो भन्नुभयो ।
उहाँले मजदुर हक–हितको लागि सङ््घर्ष आवश्यक भएको औंल्याउँदै सही र गलत बाटो छुट्याउने हो भने नेमकिपालाई साथ दिनुपर्ने उल्लेख गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले साम्राज्यवाद युद्ध र हतियार व्यापारको भरमा बाँच्ने भएकोले साम्राज्यवादी संरा अमेरिकाको एसियामा युद्ध लाद्न र हतियार व्यापार गर्ने कुत्सित मनसायलाइ विफल तुल्याउनुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय संयोजक प्रकाश गुरुङले अमेरिकी एमसीसी सम्झौता पारित भए देशमा विभिन्न बहानामा अमेरिकी साम्राज्यवादले हस्तक्षेप गर्ने बताउनुभयो ।
नेमकिपा कैलाली जिल्ला समितिका अध्यक्ष रमेशकुमार रावलको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा कैलालीका पूर्वअध्यक्ष धनबहादुर थापा, सचिव गगनबहादुर थापा, नेपाल क्रान्तिकारी शिक्षक सङ्घ कैलालीका अध्यक्ष गुप्तबहादुर शाही, शिक्षक जङ्गबहादुर तारामी, नेपाल क्रान्तिकारी किसान सङ्घका गजबहादुर दर्लामी, नेपाल क्रान्तिकारी महिला सङ्घका सुलोचना छ्वाजू, लक्ष्मी पोखरेल, लक्ष्मी पुन मगरलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *