भर्खरै :

भक्तपुर नपाका किसानहरुलाई गहुँ र आलुको बीउ वितरण

भक्तपुर, ३० कार्तिक । भक्तपुर नगरपालिका वडा नं. १ ले मङ्गलबार वडावासी किसानहरूलाई उन्नत जातको गहुँ र आलुको बीउ वितरण गरेको छ । उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले किसानहरूको प्राथमिकताका आधारमा गहुँ र आलुको बीउ वितरण गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख प्रजापतिले गहुँ बालीका लागि रसायनिक मलको अभाव हुन नदिन नगरपालिकाले मलको सिफारिस दिन सुरु गरेको उल्लेख गर्दै नेपालमा बर्सेनि अरबौँ रकम बराबरको धानको बीउ आयात हुने क्रम जारी रहेको र देश परनिर्भरतातर्फ धकेलिँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
नेमकिपाले भक्तपुरमा चलाएको किसान आन्दोलनबाट बहुसङ्ख्यक किसानहरूको हित भएको स्पष्ट पार्दै उहाँले कामदार वर्गको हितमा काम गर्नु नेमकिपाको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
उहाँले किसानको उत्पादकत्व बढाउन र किसानलाई प्रोत्साहित गर्ने हेतुले नगरपालिकाले उन्नत जातका बीउबिजन वितरण गर्दै आइरहेको बताउनुभयो ।
कोभिडविरुद्धको खोप प्रभावकारी देखिएकोले हाल कोभिडविरुद्धको फाइजर खोप अभियान सञ्चालन भइरहेको अवगत गराउँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले आधुनिक प्रविधिको प्रयोग गरी कुहिने वस्तुहरूलाई कम्पोस्ट मल बनाई सस्तोमा किसानहरूलाई बिक्री वितरण गर्ने तयारीमा रहेकोे जानकारी गराउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले वडावासी किसानहरूको उत्पादकत्व बढाउन नगरपालिकाले हरेक वर्ष उन्नत जातको बीउबिजन वितरण गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा भनपा वडा नं. १ का पार्टी इन्चार्ज लक्ष्मीनारायण राजलवट र वडाका कृषि समितिका पुण्यराम बाइजुले पनि बोल्नुभएको थियो ।
यसरी नै भक्तपुर नपा वडा नं ७ कृषि समितिको आयोजनामा मङ्गलबार किसानहरूलाई आलु र गहुँको बीउ वितरण भयो ।
कार्यक्रममा वडाका वडाध्यक्ष उकेश कवांले स्थानीय निर्वाचनमा नेमकिपाले जारी गरेको घोषणापत्रअनुसार किसानहरूको हितमा हरेक वर्ष उन्नत बीउ वितरण गरेको बताउनुभयो ।
नक्कली र गुणस्तरहीन बीउले कृषि उत्पादन ¥हास भएको चर्चा गर्दै उहाँले सरकारको नियमकारी निकायले यस्ता विषयमा ध्यान दिन नसक्दा किसानहरूलाई समस्या हुने गरेको बताउनुभयो ।
स्थानीय अगुवा तथा पूर्ववडाध्यक्ष कृष्णगोविन्द खाइजुले किसानहरूको हितमा भक्तपुर नपाले गरेको बीउ वितरण कदरयोग्य भएको भन्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा भक्तपुरका जनताले हासिल गरेका उपलब्धि अरु पालिकोका निम्ति अनुकरणीय भएको बताउनुभयो ।
कृषिविज्ञ सविन ख्याजूले जीवनभर कृषिमा लागेका किसानहरूको अनुभव अरु कृषि विशेषज्ञको भन्दा कम नभएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं ७ कृषि समितिका अध्यक्ष हेरा ख्याजू र हरिकृष्ण सुकुपायोले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *