भर्खरै :

मजदुरहरूले मनाए अक्टोबर क्रान्ति दिवस

भक्तपुर, ३० कार्तिक । १०४ औँ अक्टोबर समाजवादी क्रान्ति दिवसको अवसरमा नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले शोषणमा आधारित पुँजीवादमा मानिसहरू पैसाको निम्ति जस्तोसुकै अपराध गर्न पछि नपर्ने बताउनुभयो । उहाँले आर्थिक समानता, योग्यताअनुसार काम र कामअनुसारको ज्यालाको बन्दोबस्त, निःशुल्क शिक्षा स्वास्थ्यको बन्दोबस्त तथा उत्पादनका साधनहरू राष्ट्रियकरण समाजवादमा मात्र हुने भएकोले समाजवादी व्यवस्था कामदार वर्गको स्वर्ग हो भन्नुभयो ।
विदेशी सहयोगविना भक्तपुर नपाले कोरोनाबाट नगरवासीहरूलाई बचाउन सञ्चालित ख्वप अस्पतालमा अक्सिजन प्लान्ट निर्माणमा जनताले गरेको आर्थिक सहयोग तथा सम्पदा पुनः निर्माणमा प्राप्त सहयोग र श्रमदान उदाहरणीय बनेको चर्चा गर्दै उहाँले भक्तपुर नगर जिउँदो सङ्ग्रहालयको रूपमा देशी विदेशीहरूको आकर्षण केन्द्र बनेको उल्लेख गर्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले अक्टोबर समाजवादी क्रान्तिको महत्वबारे बताउँदै सङ्गठित र अनुशासित पार्टीले मात्र समाजको आमूल परिवर्तनमा भूमिका खेल्न सकिने हुनाले सङ्ख्याभन्दा गुणस्तर महत्वपूर्ण रहने तर्क गर्नु भयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य नारायणबहादुर दुवालले लेनिनवादी नीति अनुसार पुँजीवादी चुनाव उपयोग गर्दै आएको बताउँदै पुरानो पुस्ताले गरेका सङ्घर्ष र योगदानबाट सिक्दै नयाँ पुस्ता वैचारिकरूपमा सक्षम हुनुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष उपेन्द्र सुवालको सभापतित्वमा भएको कार्यक्रममा आयोजक समितिका रमेश दुमरु, पञ्चरत्न सैंजूलगायतले बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *