भर्खरै :

निःशुल्क पाइने ७० मध्ये २८ थरी औषधिमात्र उपलब्ध

खोटाङ, ३० कार्तिक । सरकारले निःशुल्क उपलब्ध गराउने ७० प्रकारका औषधिमध्ये जिल्ला अस्पतालमा २८ प्रकारका मात्रै रहेको पाइएको छ । सामान्य अवस्थाका बिरामीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकभरका ७७ वटै जिल्लामा ७० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरे पनि खोटाङमा अहिलेसम्म सबै औषधि आएको छैन ।
निःशुल्क उपलब्ध गराउने औषधि अस्पतालमा नभएपछि सर्वसाधारण सामान्य उपचारका लागि राजधानी काठमाडौँलगायत सुविधा सम्पन्न अस्पताल जान बाध्य छन् । कतिपय अवस्थामा त सामान्य किसिमका बिरामीले रू. दुई लाख ५० हजारसम्म तिरेर हेलिकप्टर चार्टर गरी उपचारका लागि जानुपर्ने बाध्यता रहिआएको छ ।
सत्तरी प्रकारका निःशुल्क औषधि उपलब्ध गराउने व्यवस्था भए पनि यहाँ २८ प्रकारको मात्रै रहेको जिल्ला अस्पतालका सूचना अधिकारी रवीन फुयाँलले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले ७० किसिमका औषधि निःशुल्क उपलब्ध गराउने भने पनि जिल्लामा अहिले २८ प्रकारका छन्” । माथिल्लो निकायले जति उपलब्ध गरायो त्यति औषधिमात्रै जिल्ला अस्पतालले वितरण गर्दै आएको छ ।”
निःशुल्क भनिएका ७० वटै प्रकारका औषधि अहिलेसम्म कहिलै पनि आइनपुगेको जिल्ला अस्पतालको भण्डारण शाखाले जनाएको छ । अस्पताल स्रोतका अनुसार माथिल्लो निकायबाट आएको निःशुल्क औषधि जिल्लाका दशवटै स्थानीय तहमा जनसङ्ख्याको आधारमा वितरण गर्ने गरिएको छ ।
सरकारले सबै क्षेत्रका नागरिकको स्वास्थ्यमा सहजरूपमा पहुँच पु¥याउने उद्देश्यले निः शुल्क औषधि वितरण गर्न वार्षिक अरबौँ रकम छुट्याउने गरेको छ तर आम सर्वसाधारणले भने उक्त औषधि पाएका छैनन् । निःशुल्क औषधि कता बेपत्ता हुन्छ पत्तो छैन । यस विषयमा अस्पताल व्यवस्थापन तथा सञ्चालक समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका अध्यक्ष बबि चाम्लिङ बेखबर हुनुहुन्छ ।
अस्पतालमा निःशुल्क पाउने औषधि अभाव रहेको भन्ने विषयमा अहिलेसम्म कसैबाट गुनासो नआएको उहाँले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *