भर्खरै :

निकोसेरादेखि सल्लाघारीतर्फ ढलान गरिने

भक्तपुर, ३० कार्तिक । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले भक्तपुरको निकोसेरादेखि सल्लाघारीतर्फ अगाडि झन्डै १७५ मिटर सडकमा कङ्क्रिट ढलान गर्ने भएको छ । वर्षामा पानी जम्ने सो सडकमा कालोपत्र नटिक्ने भएकोले ढलान नै गरिने आयोजनाले जनाएको छ । चार वर्ष पहिले विस्तार सुरु भएको सो सडकमा पुरानै ठेक्काबाट ढलान गरिने आयोजनाका इन्जिनियर वसन्तकुमार गार्इँले बताउनुभयो । उहाँका अनुसार आयोजनाले अहिले विभाग हुँदै मन्त्रालयमा फाइल पठाउन लागेको छ । उहाँले भन्नुभयो, “अबको १०÷१५ दिनसम्ममा निर्माण सुरु हुनसक्छ ।” यस क्षेत्रमा पहिले पहिले पनि वर्षाको पानीका कारण सडकमा खाल्डो बन्ने गरेको थियो । अहिले कालोपत्र गर्दा पनि चाँडै उप्कने र लगानी खेर जाने हुँदा ढलान गर्न लागिएको इन्जिनियर गार्इँले बताउनुभयो ।
कालोपत्र सडकमा पानीको निकास राम्रो नहुँदा सडकमा चाँडै खाल्डाखुल्डी पर्छ । ढलानमा कालोपत्रमा भन्दा बढी लगानी चाहिने भए पनि बढी समयसम्म टिक्ने र पानीले असर नगर्ने बताइन्छ । अहिले यहाँ ढलानका लागि स्थानीयवासी र पालिका दुबैले माग गरिरहेका थिए । उहाँले भन्नुभयो, “सबैको मागकै आधारमा प्रक्रिया अघि बढाइएको हो ।”
उपत्यका विस्तारको क्रममा रहेका अरू सडकजस्तै यो सडक पनि स्थानीयवासीले सङ्गठितरूपमा मुआब्जाको माग गरिरहेकाले लामो समयसम्म निर्माण अवरुद्ध बनेको थियो । चार दशमलव पाँच किमि लम्बाइको यो सडकको ठेक्का सम्झौता २०७४ साल असारमा भएको थियो । निर्माणस्थल खाली गराउन नसकिएकोले अवधि पटक–पटक थप भइरहेको छ । पछिल्लो समयमा भने उपलब्ध चौडाइमा नै कालोपत्र भइरहेको छ । उपलब्ध चौडाइमा निर्माण गर्दा अधिकांश स्थानमा मापदण्डभन्दा आधा वा त्योभन्दा कम चौडाइमा निर्माण अघि बढाइएको छ ।
यो सडक निर्माणको ठेक्का कान्छाराम पीआर उमा कम्पनी एन्ड जेभीले लिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *