भर्खरै :

जर्मन प्रोजेक्टबारे समीक्षा आवश्यक

पञ्चायत कालमा राजाको राज्याभिषेकको उपहारस्वरूप सम्भवतः भक्तपुरमा ‘जर्मन प्रोजेक्ट’ आएको थियो । तर, ‘भक्तपुरको जर्मन परियोजना’ बारे सरकारको तर्फबाट कहिल्यै समीक्षा भएको साधारण जनतालाई थाहा छैन । हरेक काम विशेषका राम्रा पक्ष र नकारात्मक पक्ष पनि हुन्छन् उज्यालोले वस्तुको छाया निर्माण गरेजस्तै ।
२९ कार्तिक २०७८ को ‘मजदुर’ दैनिकमा एक पाठकको पत्र छापियो । पत्रको शीर्षक हो– ‘भक्तपुरमा राजनीतिक सचेतता’ । पाठकपत्रमा लेखिएको छ – “सन् १९७४–१९८७ सम्म जर्मनीबाट प्राप्त आर्थिक सहयोग उल्लेखनीय छैन ।”
पत्रका प्रेषक भक्तपुर निवासी नभई नेपालकै बाहिरी जिल्लाको हुनुपर्छ, नत्र उहाँले जर्मन प्रोजेक्टबारे यति छिटो र छोटो प्रतिक्रिया दिनुहुन्नथ्यो होला !
सरकारसँग भएका लिखित सम्झौता आफ्नो ठाउँमा होला तर व्यवहारमा नेपाली हाकिम (मेनेजर) र अन्य कर्मचारीहरू कार्यरत थिए । जर्मनीबाट आएका थरीथरीका प्राविधिकहरू थिए । ‘पाउल’ भन्ने एक गैर–जर्मनी प्राविधिकको अग्लो जिउ र दारी पुरानो पुस्ताका भक्तपुरेहरूले बिर्सने छैनन् । त्यसपछि निल गुस्चो, ह्यागमुलर, वेग्नर आदि पुरानो पुस्ताका भक्तपुरे जनतामाझ चर्चित थिए । कोही नेपालका भूमि व्यवस्था र गुठीबारे राम्रो जानकारी राख्थे, कोही नेपालको वास्तुकला, प्राचीन भित्तेभित्र र कोही नाचगान, नौ बाजादेखि ‘कान्तां डबडब’ वा डमरु बनाउनेसमेतको जानकारी राख्थे । छोटोमा, नेपाल र भक्तपुरमा काम गर्ने जर्मन प्रोजेक्टका सहयोगीहरूले अर्को भक्तपुर सहर निर्माण गरेमा आश्चर्य नमान्दा हुन्छ ।
जर्मनीका जनता विगतमा दार्शनिकमात्रै होइनन् राज्य सञ्चालक र युद्धका लडाका पनि थिए – आज अर्थतन्त्र, रसायनशास्त्र, भौतिक विज्ञानका विज्ञहरूमात्रै होइनन् आफ्नो भाषा र साहित्य एवम् कलाका प्रेमी पनि हुन् । मानव सभ्यताको विकासमा जर्मनी र जर्मन विशेषज्ञहरूको ठूलो योगदान छ ।
भक्तपुर नगरको दत्तात्रय, त्यस पछाडिको तजः मठ (काष्ठ सङ्ग्रहालय), त्यहाँको भित्तेचित्र, तजः मठको सामुन्नेको ‘धातु सङ्ग्रहालय’ तथा अन्य केही मठको मर्मत र पुनः निर्माण जर्मन प्रोजेक्टबाटै भएको मानिन्छ । त्यस्तै केही विद्यालय, भक्तपुर नगरपालिकाले केही वर्ष अगाडिसम्म सञ्चालन गरेको जनस्वास्थ्य केन्द्र भवन जर्मन प्रोजेक्टले नगरपालिकाको कार्यालयकै रूपमा बनाइएको बताइन्छ । त्यस्तै, सुकुलढोकाको मठ, टौमढीको दुईतले क्याफे रेष्टुराँ (पहिले भैरवको रथको सामान राख्ने ठाउँको रूपमा प्रयोग गरिन्थ्यो) को पुनः निर्माण, दरबारस्क्वायरको ‘च्यासिं देग’ (अर्थात् आठकुने मन्दिर) आदिको जर्मन प्रोजेक्टकै बेला पुनः निर्माण तथा मर्मत भएको थियो ।
जहाँसम्म ढल निकास, उपचार पोखरी, ढुङ्गेधारा र पोखरीहरूको प्रश्न छ– त्यसमा केही तलमाथि भएका थिए । ती निम्न छन् ः–
(क) ‘लामा गः पुखु’ ठूलो ऐतिहासिक पोखरी मानिन्छ, सँगैको नः गांचा अर्थात् ‘नयाँ गाउँ’ पहिलो प्राचीन व्यवस्थित बस्ती हो । त्यहाँ ढलको बन्दोबस्त भएको, घरलाइन मिलेको र पानीका स्रोत बस्तीबीचमा यथावत छ । तर, प्रोजेक्टबाट पोखरी सानो बनाई विद्यालय र मैदान बनाइयो ।
(ख) भक्तपुर नगरपालिकाको कार्यालय बनाउने उद्देश्यबाट भएको भवन निर्माण पनि पोखरीमै भएको थियो । ब्यासी र अन्य टोलमा पनि त्यस्ता गल्ती कमजोरी भएका थिए ।
(ग) खानेपानीको बन्दोबस्तको कुरा गर्दा ‘भक्तपुरको खानेपानी कार्यालय’ र केन्द्रीय अफिससमेत मौन रहँदा २४ घण्टा ‘पानी खेर’ गइरहेको ठूलो धाराको पानी पनि खानेपानी पाइपमा मिलाइयो । तर, भक्तपुरमा विभिन्न ढुङ्गेधाराहरू स्थानीय स्रोतका पनि छन् । पानीको स्रोतमा ठूल्ठूला गाडी चलाउँदा पुरानो बन्दोबस्त भत्किएको कारण केही ढुङ्गेधारा तथा पोखरीमा पानी सुकेको बताइन्छ ।
(घ) यस कार्यमा जर्मनहरू होइन नेपाली हाकिम र गुठी कार्यालयहरू जिम्मेवार छन् । पुराना ढलहरूलाई सफा गरे पुग्नेमा सिमेन्टको ढल बनाउन दिनुमा नेपाली प्राविधिकहरू जिम्मेवार छन् । स–साना कसिङ्गरसमेत फाल्न नहुने ढलमा पराल, छ्वाली, भोजको पात, रक्सी बनाउँदाको कसर सबै ढलमा फाल्दा ढल जाम हुनु स्वाभाविक हो, यसबारे जनतालाई शिक्षित गर्ने काम नेपालीको हो ।
(ङ) पुरानो ढललाई सानो बनाउन दिनुमा नेपाली प्राविधिकहरू जिम्मेवार छन् । असार, साउन र भदौमा नेपालमा वर्षा भएजति जर्मनीमा वर्षा हुँदैन । हिउँ पर्ने जर्मनीका प्राविधिकहरूलाई के थाहा ? उपचार पोखरीमा मेसिनको पार्ट–पुर्जाबारे जान्ने कर्मचारी थिएनन् । खाली तास खेल्ने युवाहरू त्यहाँ जम्मा हुन्थे । वर्षाैसम्म अक्सिडाइजेसन कार्य अर्थात् प्रशोधन नहुँदा मेसिनको दुरगति भयो ।
यसरी नेपाली प्रशासनले विदेशीसँग काम गर्न नजान्नु वा कर्मचारीले आफ्नो देश बनाउन राम्रो ध्यान नदिएकोमा नेपाल सरकार नै जिम्मेवार छ– विदेशी वा जर्मनी प्राविधिक होइनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *