भर्खरै :

बीमासम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम

भक्तपुर, १ मङ्सिर । भक्तपुर नगरपालिका र बीमा समितिको संयुक्त आयोजनामा ‘स्थानीय तहसँग बीमा समिति’ विषयमा बुधबार सरोकारवालाहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको आतिथ्यमा बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नगरपालिकाका कार्यपालिका सदस्य, बीमा कम्पनीका प्रतिनिधि, अगुवा व्यक्तिलगायतका सरोकारवालाहरूबीच उक्त कार्यक्रम भएको थियो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले बीमा समिति नेपाल बीमा क्षेत्रको नियमनकारी आधिकारिक निकाय भएको बताउँदै बीमाप्रति जनताको विश्वसनीयता हुनुपर्ने र जनतालाई यसको महत्वबारे थाहा दिनुपर्ने बताउनुभयो ।
नेपाल सरकारको स्वास्थ्य बीमाको कार्यक्रमबाट भक्तपुरका ७५ प्रतिशत जनता लाभान्वित भएको र यसलाई ९० प्रतिशत जनताको पहुँचमा पु¥याउने लक्ष्य रहेको बताउँदै उहाँले स्वास्थ्यबीमाअन्तर्गतको रकम समयमै निकासा नगरिँदा जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउन समस्या उत्पन्न भएको बताउनुभयो ।
बीमा संस्थाहरू सेवामुखी हुनुपर्नेमा जोड दिँदै नगर प्रमुख प्रजापतिले बीमा कम्पनीहरूबाट हुने व्यवहारिक कारण र झन्झटले गर्दा जनताले अनाहकमा दुःख पाउने र बीमाप्रतिको विश्वास हट्दै जाने सम्भावनाहरू रहेको औँल्याउनुभयो ।
कार्यक्रमका सभापति एवम् बीमा समितिका उपनिर्देशक सन्तोष कार्कीले बीमा समितिको सङ्क्षिप्त इतिहास, महत्व र नेपालको बीमा बजारको अवस्थाबारे प्रस्तुतीकरण दिनुभयो । बीमा संस्थानको कूल लगानी ४ खर्ब बराबरको रहेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले नेपालमा बीमा समितिबाट इजाजत प्राप्त १९ वटा जीवन बीमा कम्पनी रहेको, २० वटा निर्जीवन बीमा कम्पनी रहेको र २ वटा पुनः बीमा कम्पनीहरू रहेको अवगत गराउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले बीमा व्यवसाय जनविश्वासमा अडिएको हुन्छ भन्दै बीमा क्षेत्रबाट प्रशस्त रोजगारीको सिर्जना भइरहेको र ग्रामीण क्षेत्र र न्यून आय भएका जनतामा बीमाको पहुँच हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उपस्थित विभिन्न सरोकारवालाहरूले बीमा समितिको काम–कारबाही, समस्या आदिबारे आ–आफ्नो राय व्यक्त गरेका थिए भने उक्त बीमा समितिका राम कोजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *