भर्खरै :

जनतन्त्र के हो र के होइन ?

जनतन्त्र, प्रजातन्त्र, जनवाद, लोकशाही र लोकतन्त्रलाई अङ्ग्रेजीमा ‘डेमोक्रेसी’ शब्दले नेपालको राजनैतिक डबलीमा स्थान पाएको सत्य कुरा हो । तर, केही मानिसहरू ‘जनवाद’ भनेको ‘कम्युनिस्ट’ वा ‘वामपन्थी’ प्रजातन्त्र हो भन्ने अर्थमा पनि लिन्छन्, त्यो भ्रम हो वा त्यसले पाठक र साधारण जनतामा ठूलो भ्रम फैलाउने अर्थ लाग्छ । रातमा डोरीलाई ‘सर्प’ ठान्नु जसरी गल्ती हुन्छ, त्यस्तै जनतन्त्र, जनवाद, लोकतन्त्र, लोकशाही र डेमोक्रेसी ‘प्रजातन्त्र’ होइन भन्ने ठम्याइ राख्नु पूर्णरूपले गल्ती हो ।
‘पुँजीवादी’ प्रजातन्त्र र ‘समाजवादी’ प्रजातन्त्र निश्चय पनि फरक अर्थ लाग्ने शब्दावली हुन् । केही मानिसहरू ‘जबज’ अर्थात् ‘जनताको बहुदलीय जनवाद’ निश्चित पार्टीको ‘शब्दावलीको रूपमा प्रचार गर्दै छन्, त्यो पनि भ्रमपूर्ण छ ।
सन् १९४९ को चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा स्थापना भएको चीनको प्रजातन्त्रलाई ‘नयाँ प्रजातन्त्र’ भनियो । बेलायत, अमेरिका, फ्रान्स, भारत आदि प्रचलित प्रजातन्त्र ‘पुँजीवादी’ वा पुरानो ‘प्रजातन्त्र’ भएको हुँदा मजदुर र किसान वर्गको नेतृत्वमा अन्य आठ वटा देशभक्त दलहरूको प्रजातन्त्रलाई चीनमा ‘नयाँ प्रजातन्त्र’ भनिएको हो ।
त्यही सन्दर्भमा पुँजीपति वर्गले नेतृत्व नगरिएको मजदुर, किसान, बुद्धिजीवी र देशभक्तहरू मिलेर बनेको तर साम्राज्यवाद र उपनिवेशवादविराधी ‘प्रजातन्त्र’ लाई ‘जनताको प्रजातन्त्र’ भनियो ।
यही कसीमा घोटेर हेर्दा ‘जनताको बहुदलीय जनवाद’ लाई नेपालमा ‘बहुदलीय’ शब्दले ‘बहुदलीय प्रजातन्त्र’ को अर्थ दिन्छ । त्यसको अर्थ हो – संरा अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, भारत आदि देशमा चलिआएको ‘पुँजीवादी’ प्रजातन्त्र नै हो । यसबारे ‘मदन भण्डारी’ वा कसैले गलत व्याख्या गर्दैमा त्यो सामान्य प्रचलित राजनैतिक शब्दलाई बदल्न सकिँदैन वा स्वीकार्य हुँदैन । त्यही शब्दावलीमा हिजो एमालेकै अध्यक्ष मनमोहन अधिकारीसँग फ्रान्सेली कम्युनिस्टहरूसँग कुराकानी हुँदा प्रस्टै स्वीकारेका थिए – “वास्तवमा हाम्रो पार्टी पुँजीवादी पार्टी नै हो, जनतासँग मत बटुल्नमात्रै हामीले आफ्नो पार्टीको नाममा ‘कम्युनिस्ट’ जोडेका हौँ ।” त्यही कुरा अमेरिकी ‘न्युयोर्क टाइम्स’ पत्रिकाको अन्तर्वार्तामा अधिकारीले बताएका थिए । एमालेका बुद्धिजीवीहरूकै भेलामा पनि अधिकारीले ‘जनताको बहुदलीय जनवाद’ सत्तामा जाने सिँढी हो’ भनेका थिए ।
त्यो शब्दावली एक व्यङ्ग्य र सत्तामा जाने उपाय हो भनेका थिए– नत्र नेपालको तत्कालीन सन्दर्भमा ‘काङ्ग्रेस’ सँगको वा आफ्नै एमालेको एकल सरकारलाई गैरपुँजीवादी सरकार बन्न सकिन्नथ्यो जसरी डा. माझीले ‘पञ्चायती निर्दलीय व्यवस्था’ लाई संशोधनवादी अन्तर्राष्ट्रिय शिविरमा ‘गैरपुँजीवाद’ सरकारको संज्ञा दिन्थे ।
आज आएर माधव नेपाल नेतृत्वको ‘एकीकृत समाजवादी’ दलले ‘जबज’ छोडेको घोषणा ग¥यो । ओली पक्षले वा अन्य कुनै पक्षले ‘जबज’ राखे पनि नराखे पनि काम–कारबाहीले ती पार्टी ‘क्रान्तिकारी पार्टी’ सावित हुने छैनन् र ‘क्रान्तिकारी संसद्वाद’ का हिमायती सावित हुँदैनन् । किनभने, नेपाली काङ्ग्रेसको नेतृत्वमा चलेको एमाले पार्टी सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दसँगको नेतृत्वको सरकारमा नेका, एमाले, राप्रपा आदिसँगको संयुक्त सरकारलाई पनि ‘गैरपुँजीवादी’ सरकार साबित गर्दैन ।
त्यस्तै मनमोहन अधिकारीको सरकारको प्रकाशनमा आएको पहिलो सोल्टी होटलको तस्बिरमा पुँजीपति वर्गकै बीचमा प्रधानमन्त्री अधिकारी थिए । यसरी, कम्युनिस्ट पार्टीहरूसमेत ‘संशोधनवादी’ सामाजिक – साम्राज्यवादी’ भनिएजस्तै पुँजीवादी प्रजातान्त्रिक दलहरूलाई पनि तिनीहरूको उद्देश्य र काम कारबाहीले ‘दक्षिणपन्थी’, ‘पुरातनपन्थी’, ‘जातिवादी’, ‘फासीवादी’, ‘उदारवादी’ विशेषण र नामबाट सबै छर्लङ्ग हुन्छ । निर्वाचित सरकारहरू सबैलाई ‘प्रजातन्त्रवादी सरकार’ भनिए पनि ‘साम्राज्यवादी’, ‘उपनिवेशवादी’ र ‘विस्तारवादी’ भन्ने गरिन्छ । यसको अर्थ हो – कामअनुसारको नाम उपयुक्त हुन्छ र आँखै नभएको व्यक्तिको नाम ‘सुलोचना’ वा ‘सुनयन’ भनिए पनि त्यो सत्य हुँदैन ।

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *