भर्खरै :

गोर्खामा एमसीसी सम्झौताविरुद्ध जुलुस

गोर्खा, २ मंसिर । एमसीसीविरोधी देशघाती सम्झौताविरूद्ध देशव्यापी जनजागरण अभियानअन्तर्गत नेपाल मजदुर किसान पार्टीको आयोजनामा बिहीबार गोर्खा बजारमा प्रदर्शन तथा विरोधसभा भयो । हरमटारीको पेट्रोल पम्पबाट सुरू भएको जुलुस, बसपार्क, हस्पिटल चोक, ठूलो आँगन हुँदै हरमटारी चोकमा गएर विरोध सभामा परिणत भएको थियो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईँले वर्तमान सरकारले पेट्रोलियम पदार्थमा गरेको अचाक्ली मूल्यवृद्धिको विरोध गर्नुभयो । नेमकिपा विगत ३ वर्षदेखि एमसीसीविरोधी सङ्घर्षमा रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “अमेरिकी साम्राज्यवादले भारतीय विस्तारलाई प्रयोग गरेर नेपाललाई नवउपनिवेश बनाउने षड्यन्त्र गर्दै छ । एमसीसी पारित गर्नु भनेको नेपाललाई अमेरिकी साम्राज्यवादको एउटा निगमको मातहत राख्नु हो ।”
अमेरिकी साम्राज्यवाद विश्वमा बदनाम र एकपछि अर्को पतन भइरहेको उल्लेख गर्दै उहाँले विदेशी शक्तिसामु झुक्न खोज्ने शासकहरूविरूद्ध जनता सङ्घर्षमा उत्रनुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सचिव हरिराम सुवालले एमसीसीका देशघाती प्रावधानहरूको चर्चा गर्नुभयो । उहाँले नेपाली शासकहरूले पालैपालो सत्तामा गएर देशघाती सन्धि सम्झौता गरेको हुनाले जनता आन्दोलित हुनुपर्नेमा जोड दिनुभयो ।
बसपार्कमा भएको कोणसभामा नेपाल क्रान्तिकारी युवा सङ्घका मिनबहादुर बाटाले एमसीसीलाई बीआरआईसँग तुलना गर्ने बुद्धिजीवीहरूको कुप्रयास सफल नहुने बताउनुभयो । बीआरआई विश्वभरका जनताको साझा विकासको निम्ति ल्याइएको परियोजना भएको बताउँदै उहाँले एमसीसीले नेपालको सार्वभौमिकतामा आँच आउने चर्चा गर्नुभयो ।
नेमकिपा गोर्खा जिल्ला अध्यक्ष प्रह्लाद लामिछानेले स्वागत गर्नुभएको सभामा नेक्राविसङ्घ केन्द्रीय सदस्य हृदय दाहालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *