भर्खरै :

महाअधिवेशनमा अध्यक्ष र प्रमका दाबेदार कस्ता ?

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा महाअधिवेशनको अर्थ हिजोका वर्षहरूका गतिविधिहरूको लेखा–जोखा (समीक्षा) र आगामी वर्षका कार्यक्रमबारे छलफल हुने गथ्र्यो र नयाँ नेतृत्व चयन, सैद्धान्तिक र नीतिगत विषयमा तल्लो समितिहरूबाटै छलफल र मत विभाजनबाटै आउने गथ्र्यो ।
उदाहरणको निम्ति पार्टी केन्द्रले महाअधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजका खेस्रा हरेक जिल्ला समिति अर्थात् ‘सेल’ सम्म पु¥याउँथ्यो । हिजो ४–५ वर्षमा भए गरेका पार्टीका गतिविधिको समीक्षा र आगामी कार्यक्रमबारे खाका वा योजना प्रस्तुत गरिन्थ्यो । प्रस्तुत केन्द्रीय दस्तावेजमा बुँदागतरूपमै छलफलबाट सहमत, असहमत र आआफ्नो ‘सेल’ को राय लिखितरूपमै पठाइन्थ्यो । जिल्ला सम्मेलनले ती सबै ‘सेल’ बाट आएका र केन्द्रबाट पठाइएका दस्तावेजबारे छलफल, पक्ष विपक्ष र आफ्नो दृष्टिकोणसहित माथि पठाइन्थ्यो ।
यसरी देशभरबाट आएका महाअधिवेशनका प्रतिनिधिहरू आ–आफ्ना जिल्ला, प्रदेश वा प्रान्तको अडानअनुसार छलफलमा भाग लिन्थे । जिल्ला, प्रदेश वा प्रान्तका प्रतिनिधिहरू महाअधिवेशनमा पठाउँदा छलफलमा आएको मतको प्रतिशतको आधारमा पक्ष र विपक्षका प्रतिनिधिहरू निर्वाचित हुन्थे ।
महाअधिवेशनले बैठकमा केन्द्रीय दस्तावेज अर्थात् आगामी कार्यक्रम र नीतिबारे मतदान हुँदा हिजोका केन्द्रीय समितिको दस्तावेज अर्थात् सिद्धान्त र कार्यक्रम बहुमतले अस्वीकार गरेमा तत्कालीन केन्द्रीय समितिको नेतृत्वले राजीनामा गर्छ र निर्वाचनबाट नयाँ केन्द्रीय समितिले नेतृत्व चयन गर्छ । नेपालको कम्युनिस्ट आन्दोलनमा दोस्रो महाअधिवेशनले सिद्धान्त तथा नीति पारित ग¥यो र नेतृत्व चयनमा ठीक विपरीत डा. माझीको नेतृत्व चयन ग¥यो ।
तेस्रो महाअधिवेशन तत्काल बस्न नसक्ने स्थितिको कारण केन्द्रीय समितिको विस्तारित बैठक ‘प्लेनमा’ मा बस्यो । त्यस बैठकले डा. माझीलाई एकल महासचिवको ठाउँमा ‘शम्भुराम श्रेष्ठ, डीपी अधिकारी’ समेत गरेर तीन जनाको सचिवालय बनाइयो । सचिवालयका तीनै जना पक्राउपछि नेपाल कम्युनिस्ट पार्टीको विशृङ्खलता सुरु भयो ।
तेस्रो महाअधिवेशनमा पी.एल.को ‘विघटित संसद्को पुनः स्थापनाको निम्ति सङ्घर्ष गर्ने’ र दोस्रो ‘संविधान सभाको निर्वाचनको माग’ अघि सार्ने नीति देखियो । तर, निर्वाचनबाट टी.एल. महासचिव चुनिए । उनको लाइन थियो, ‘सर्वसत्तासम्पन्न संसद्को निर्वाचन ।’
त्यसपछि आन्दोलन गर्ने कार्यक्रम नबन्दै एकएक गरेर नेताहरू पक्राउमा परे, टी.एल. को केन्द्रले नेतृत्व दिन सकेन, पी.एल. को सम्मेलनले नयाँ केन्द्रीय समिति गठन ग¥यो, पूर्वकोसी र अन्य अनेक पार्टी सङ्गठनहरू देखिए । डा. माझीले आफ्नो बहुमतको पार्टी चालु राखे– ‘निर्दलीय पञ्चायती व्यवस्थाको न समर्थन, न सङ्घर्षको’ नीति लियो । त्यसमा पछि अनेक विभाजन देखियो ।
………
छोटोमा वा सारमा महाअधिवेशनले उपयुक्त बाटो नलिँदा नेपाल कम्युनिस्ट आन्दोलन विशृङ्खलित भयो । अनेक एकता र फुट देखिँदै गयो ।
तर, अहिले एमाले, एमाओवादी केन्द्र वा प्रचन्ड समूह वा माधव नेपाल (समाजवादी) का हुने महाअधिवेशनहरू र पार्टी नीतिबारे स्पस्टता नदेखिनु केन्द्रीय नेतृत्वमा नेताहरू को–को हुने भन्नेमात्र सुनिन्छ र पुँजीवादी प्रचार माध्यमहरूले ती पार्टीका सम्भावित नेता र कार्यकर्ताहरूको नाम र तस्बिरमात्रै छापेका छन् । त्यस्तै नेपाली काङ्ग्रेसका सम्भावित नेता र उपनेताहरू गुटगत विषयले मात्र प्रचार हुँदै छन् ।
१) काङ्ग्रेस महाधिवेशन, सभापति उठ्ने शशांकको घोषणा इतर समूहमा फाटो (राजधानी, २ मंसिर २०७८)
२) शेखरको नाममा जुट्ला त सहमति ? (नागरिक, २ मंसिर २०७८)
३) देउवा गिरिजाभन्दा पनि क्रूर (नेपाल समाचारपत्र, २ मंसिर २०७८)
४) ‘महाधिवेशनलाई निर्वाचनमुखी मात्र बनाउनु हुँदैन –एन.पी. साउद (अन्नपूर्ण, २ मंसिर २०७८)
त्यस्तै शशांकलाई प्रकाशमानको जवाफ : “आफू जस्तो, अरूलाई पनि त्यस्तै देख्दा रहेछन् ।”
नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन र एमालेको १० औँ  महाअधिवेशनबारे बढी चर्चा परिचर्चा गरी नेपाली प्रचारमाध्यमले सैद्धान्तिक र नीतिगत विषयलाई ओझेलमा पारिँदै छ । संरा अमेरिकामा डेमोक्रेटिक र रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार जुनसुकै व्यक्ति जिते पनि अमेरिका एक सच्चा प्रजातन्त्रवादी देश हुनैसक्दैन, यसका निम्न कारण छन्–
(क) अमेरिकी सबैजसो प्रचार माध्यमको प्रचारबाट प्रस्ट छ– अमेरिकी प्रजातान्त्रिक निर्वाचनमा पैसाले निर्णय गर्छ ।
(ख) ट्रम्प (पूर्वराष्ट्रपति) ले निर्वाचनको अन्तिम भेला समर्थकहरूको हुलहुज्जतले प्रतिनिधिसभा कब्जा गर्र्दै उपद्रव मच्चाउनु, काठका सामान भाँचकुँच र हत्या–हिंसा गर्नु अर्थात् बल प्रयोग निर्वाचनको एक महत्वपूर्ण हतियार प्रस्ट देखाइयो ।
(ग) बुद्धिजीवी र रिसर्चस्कलरहरूकै भनाइमा अमेरिकामा अहिले जनतन्त्र होइन धनिकतन्त्रको शासन छ ।
(घ) अत्यधिक अमेरिकी राष्ट्रपतिहरू सेना वा व्यापारको पृष्ठभूमिका हुन् । राष्ट्रपतिहरू आफै तेल र हतियारका उत्पादक र व्यापारी हुन्, हतियारबाट नाफा लिनकै लागि अमेरिकी शासक वर्गको राजनीतिले विदेशमा धार्मिक र साम्प्रदायिक झगडा लगाउँछन् र दुवैतिर हतियार बेच्छन्, दुवैतिरबाट अरबौँ डलर नाफा लिन्छन् ।
(ङ) सेना र सीआईए नै अमेरिकी प्रशासनका मुख्य निर्देशक तत्व हुन् । अरू सबै गौण ! किनभने आज पनि अमेरिकी सेना र प्रशासन दक्षिणपन्थी अतिवादीको हातमा छ, त्यसको उदाहरण जर्ज फ्लोयड्को हत्या र अत्यन्त धेरै अश्वेत जनतामाथिको दमन हुन् । यस अर्थमा संरा अमेरिकी प्रशासन र राजनीति प्रजातान्त्रिक र मानवतावादी होइन बरु प्रजातन्त्रविरोधी, धर्म–जात र अन्य भाषाविरोधी फासीवादी चरित्रको छ । त्यसैले पूर्वराष्ट्रपति ट्रम्प हाकाहाकी स्वीकार्छन् – “हरेक रात म हिटलरको पुस्तक हेर्छु र मेरो शिरानमा उसको पुस्तक हुन्छ ।”
(च) तुलनात्मकरूपले धेरै राष्ट्रपतिहरूको हत्या भएको देश हो संरा अमेरिका र बढी राष्ट्रपतिहरूलाई विभिन्न आपराधिक काण्डमा फसाई राजीनामा गराइएको छ वा तिनीहरूविरुद्ध महाअभियोग लागेको छ ।
(छ) अश्वेत जनताको ठूलो राजनैतिक आन्दोलनको सम्भावना भएकोले मात्र संरा अमेरिकामा राष्ट्रपति, मन्त्री वा केही सचिव पदमा बाराक ओबामाजस्ता र अन्य अश्वेतहरूलाई सत्ता र पदमा ल्याउँछन्, तर तिनीहरू नाममात्रको राष्ट्रपति, मन्त्री वा सचिव हुन्छन्, काम सबै फासीवादी प्रशासन मन्त्रीमा नै रहन्छ ।
नेपाली काङ्ग्रेस र एमालेको अहिलेको महाअधिवेशनहरूमा सिद्धान्त र नीतिमा छलफल नगरी व्यक्ति व्यक्तिको प्रचारलाई प्राथमिकता दिलाइएको प्रस्ट छ– त्यो दुई पार्टीबाट भन्दा भित्री वा बाहिरी प्रतिक्रियावादीबाट हुँदै छ । तिनीहरू व्यक्ति व्यक्तिबारे लामो समय पार्टीमा काम गरेको, सत्तामा काम गरेको, धेरै जेल भोगेको, कष्ट र दुःख भोगेको, धेरै देशको सभा सम्मेलनमा घुमेको, पारिवारिक पृष्ठभूमि, वर्ग, जात र भाषालाई बढी उठाइएको पाइन्छ ।
हुन त दुवै पार्टीमा चर्चित नेताहरू बाहुन–क्षेत्री, नेपाली भाषी र हिन्दू छन्, वर्गीयरूपले माथिल्ला खान्दान परिवारका हुन्छन् । प्रचार गरिएजस्तै ….साँच्चै धेरै जेल बसेका र दुःख कष्ट भोगेका, सानैदेखि घर छोडी काम गरेका व्यक्ति नै योग्य हुने भए नेपालमा दुःखी, गरिब, फकीर र हवाई सेविकाहरूको कमी छैन । प्रधानमन्त्री, मन्त्री र अझ राष्ट्रपति बनाउन लामो जेल सजाय नै राजनैतिक व्यक्तिको मापदण्ड हुने भए १५–२० वर्ष लामा–लामा जेल सजाय भोगेका अनेक निर्दाेष वा दोषी व्यक्तिहरू छन् ।
तर, उम्मेदवारहरूको योग्यता पदमा बस्दा तिनीहरूले देश र जनताको हितमा राम्रो काम हुने नीतिको प्रचार हुनुपर्ने र सिद्धान्त र एक ‘आदर्श’ समाजको उदाहरण आउनुपर्ने हो त्यो छैन ।
प्रचारमा आएका केही युवा मन्त्रीहरू पनि फरकफरक कृषि मन्त्री हुँदा समयमा मलको बन्दोबस्त नगर्ने, देशमै रासायनिक मल कारखानाको स्थापनाबारे कुहिरोका काग बन्नेहरू छन् । अध्यक्ष र प्रमका दाबेदारहरू रात्रीभोजमा टिल्ल रक्सी खाई हो–हल्ला गर्ने, होटलहरू चर्काउने, अपराधी बन्दीहरू मुक्त गर्ने ‘बहादुर’ गृहमन्त्री, बाबु–बाजेको बदनाम गर्ने र राति २–२ बजेसम्म रक्सी खाएर अनेक योजनाहरूका एजेन्टहरूको सङ्गतमा जीवन बिताउने आदि छन् । उमेर, लिङ्ग र जात होइन योग्य, शिष्ट र सुसस्ंकृत व्यक्तित्व अध्यक्ष र प्रमको योग्यतामध्ये हो ।
नेताहरूको आरोप प्रत्यारोप चालु छ । ‘ओली मधेसी जनताका ‘खलनायक’ : दाहाल (नागरिक, २ मंसिर २०७८)
पुस्तान्तरण र उत्तराधिकारीबारे प्रचार माध्यमका शीर्षकले बताउँछ : ओलीपछि रस्साकस्सी’ (अन्नपूर्ण पोष्ट, १ मंसिर, २०७८)
महाधिवेशनले मित्रता, छलफल, एकता होइन बरू हरेक पार्टीमा र गुटमा मनमुटाव, व्यक्तिवाद र आत्मकेन्द्रित भावना प्रवल हुँदै छ । काङ्ग्रेसमा देउवा–निधि सम्बन्ध, सहयोग अब प्रतिस्पर्धातिर । (नागरिक, १ मंसिर २०७८)
महाधिवेशनमा समीक्षा होइन, नयाँ कार्यक्रम, सैद्धान्तिक छलफल, नीतिगत बहस होइन बरु पदको महत्व तथा पार्टीको पदले सत्तामा शक्तिशाली मन्त्रीको पद हात लाग्नेमा सबैको ध्यान !

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *