भर्खरै :

विवादित कृषिसम्बन्धी तीन कानुन भारत सरकारद्वारा फिर्ता, किसानहरू खुसी

नयाँ दिल्ली, १९ नोभेम्बर (एएनआई) । भारतमा अति विवादमा परेका तीन कानुन सरकारले शुक्रबार फिर्ता लिएको छ ।
झन्डै एक वर्षअगाडि संसद्बाट पारित भएका तीन कानुनका विरूद्धमा वर्षभरि किसानहरूले आन्दोलन गरिरहेका थिए ।
आन्दोलनको क्रममा सयौँको मृत्यु भयो भने हजारौँ घाइते भए । तर पनि किसानहरूले आन्दोलन जारी राखेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले तीनवटै कानुन फिर्ता लिइएको घोषणा गरेका छन् ।
राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, “सबै जनालाई आज म यो अनुरोध गर्न चाहन्छु कि हामीले विवादमा परेका र विरोध भइरहेका कृषिसम्बन्धी तीनवटै कानुन फिर्ता लिने निर्णय गरेका छौँ ।”
उनको घोषणापछि कृषकहरूले खुसीयाली मनाएका छन् । उनीहरूको आन्दोलन गरेको सङ्गठनले यो घोषणालाई आफ्नो ठूलो जितको रूपमा लिइएको जनाएको छ । अरूले पनि विवादास्पद र विरोध भइरहेको कानुन फिर्ता लिने सरकारको निर्णयको स्वागत गरेका छन् ।
कृषकहरूको बसोबास धेरै रहेको पन्जाब र उत्तर प्रदेश राज्यमा हुन लागेको निर्वाचनलाई लक्षित गरेर प्रधानमन्त्री मोदीले किसानहरूलाई खुसी बनाउने गरी विवादास्पद कानुन फिर्ता लिएको घोषणा गरेको हो ।
हजारौँ किसानहरूले अघिल्लो वर्षको नोभेम्बरदेखि ती कानुनको विरोधमा राजधानी दिल्लीको सीमा क्षेत्रमा धर्ना दिइरहेका थिए । बेलाबेलामा उनीहरूले देशव्यापी कठोर आन्दोलनहरू पनि गरेका थिए ।
आन्दोलन चर्किँदै गएपछि आन्दोलनकारी र सरकारी पक्षका बीचमा पटकपटक वार्ता भए । तर ती सबै वार्ता विफल भएका थिए ।
वार्ताका क्रममा कृषकहरूले ती कानुनले कृषिमा निजी क्षेत्रको आगमन सहज बनाउने र त्यसले आफ्नो आयमा असर गर्ने बताउँदै आएका थिए भने सरकारको पक्षबाट वार्तामा बसेका मन्त्रीहरूले ती कानुन कृषकका लागि लाभदायक भएको दाबी गरेका थिए ।
कृषकहरूलाई यसको फाइदाबारे बुझाउने थुप्रै प्रयास गरिए पनि आफूहरू असफल भएकाले फिर्ता लिनु परेको सरकारी पक्षको भनाइ छ ।
सरकारी पक्षले कानुन फिर्ता लिए पनि कानुन ठीक नै रहेको दाबी गरिरहेकोले अहिले नै पूरै आन्दोलन फिर्ता लिन भने नसकिने कृषक नेता राकेश टिकैतले बताएका छन् ।
सरकारले फिर्ता लिने निर्णय गरे पनि संसद्बाट कानुन खारेज गरेपछि मात्रै आफ्ना आन्दोलनका कार्यक्रमहरू अन्त्य गर्ने उनले स्पष्ट पारे ।
झन्डै ४० कृषक सङ्गठनको छाता संस्था संयुक्त किसान मोर्चाले सरकारले अनुरोध गरे पनि विरोधबाट पछि हट्न अस्वीकार गरेको थियो । जाडोमा पानीको फोहरा र अश्रुग्यास सहँदै भारतीय किसानहरूले आन्दोलन गरिरहेका थिए ।
कृषकहरूले अत्यन्त जाडो र अत्यन्त गर्मीको बेलामा पनि कोरोना भाइरसको जोखिम मोल्दै निरन्तर आन्दोलन गरेका थिए । आन्दोलनको क्रममा ठन्डी, गर्मी र कोरोनाका कारण केही किसानहरूको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *