भर्खरै :

म्याग्दी, बागलुङ र पर्वत जिल्लामा एमसीसीविरोधी प्रदर्शन तथा विरोधसभा

पोखरा, मंसिर ३ गते । एमसीसीविरोधी देशघाती सम्झौताविरूद्ध देशव्यापी जनजागरण अभियानअन्तर्गत नेपाल मजदुर किसान पार्टीको आयोजनामा म्याग्दी, बागलुङ र पर्वत जिल्लामा प्रदर्शन तथा विरोधसभा सम्पन्न भएको छ ।
बेनी बजार
म्याग्दीको सदरमुकाम बेनी बजारमा आयोजित सभामा नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले अमेरिकी र भारतीय सल्लाहकारहरूसँग अकस्मात् भेटघाट गर्न प्रचण्डले आफू बिरामी भएको नाटक गरेको आशङ्का व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “रामदेवमार्फत भारतीय विस्तारवादले नेपाली शासक दलका नेताहरूलाई आफ्नो अधीनमा राखेको छ ।” नेमकिपा देशभक्त पार्टी भएको चर्चा गर्दै उहाँले पदको लोभमा नफसी पार्टीले जनताको आवाज बुलन्द गर्दै आएको बताउनुभयो ।
देशघाती काममा उनीहरूले सधैँ कथित राष्ट्रिय सहमति जुटाउँदै आएको जानकारी गराउँदै नेक्राविसङ्घका केन्द्रीय सहसंयोजक सुरेश परियारले भन्नुभयो, “नेपालका शासक दलहरू नामले मात्र फरक हुन्, कामले तिनीहरू एउटै पार्टी हुन् ।” सभामा नेक्राविसङ्घ केन्द्रीय सदस्य हृदय दाहालले पनि बोल्नुभएको थियो । न्यूरोडबाट सुरू भएको जुलुस वीरेन्द्र चोक हुँदै अस्पताल चोकमा गई सभामा परिणत भएको थियो ।
बागलुङ बजार
त्यस्तै बागलुङ बजारको ट्राफिक चोकबाट सुरू भएको देशघाती एमसीसी सम्झौताविरोधी विरोध जुलुस बसपार्क, धौलागिरी अस्पताल हुँदै बागचोकमा गएर सभामा परिणत भयो ।
सभामा नेमकिपा केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले शासक पार्टीहरूले केही संशोधन गरेर एमसीसी पारित गर्नुपर्ने बताएको औँल्याउँदै भन्नुभयो, “एमसीसीको संशोधन देश र जनताको हितमा हुँदैन ।” अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोध नगर्ने पार्टी जनताको पार्टी नहुने चर्चा गर्दै उहाँले भन्नुभयो, “अमेरिकी साम्राज्यवादको रणभूमि भयो भने सबैले पछुताउनुपर्नेछ ।”
सभामा नेक्रायुसङ्घका मीनबहादुर बाटा र नेक्राविसङ्घका सुरेश परियारले पनि बोल्नुभएको थियो । कार्यक्रममा नेक्रायुसङ्घका सरोज दुलालले पनि बोल्नुभएको थियो ।
कुश्मा
कुश्मा बजारको दुर्लुङ चोकबाट सुरू भएको एमसीसी सम्झौताविरोधी जुलुस धनेश्वर चोकमा गई विरोध सभामा परिणत भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले भन्नुभयो, “बाइडेन संसारकै सबभन्दा ठूलो आतङ्ककारी भनेर चिनिन्छन् ।”
उहाँले एमसीसीमार्फत् नेपाललाई भारत र अमेरिकाको उपनिवेश बनाउने कुत्सित प्रयास गरिरहेको बताउनुभयो ।
सभामा नेक्राकिसङ्घका केन्द्रीय सचिव हरिराम सुवालले एमसीसी सम्झौता राणा शासकहरूले गरेको १९५० को सन्धिसँग तुलना गर्दै एमसीसीका घातक प्रावधानहरूबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा नेक्रायुसङ्घका रमेश वैद्यले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *