भर्खरै :

घरदैलो नर्सिङ सेवा सञ्चालन गर्ने विषयमा वडावासीहरूबीच छलफल

भक्तपुर, ४ मंसिर । भक्तपुर नगरपालिका वडा नं. ३ को आयोजनामा भक्तपुर नपाभित्र घरदैलो नर्सिङ सेवा सञ्चालन गर्ने विषयमा शनिबार वडावासीहरूबीच छलफल कार्यक्रम भयो ।
कार्यक्रममा भनपाका प्रमुख सुनिल प्रजापतिले स्थानीय निकाय निर्वाचनमा निर्वाचित भएको १०० दिन पूरा भएदेखि भक्तपुर नपाभित्र घरदैलो कार्यक्रम सञ्चालनमा ल्याएको अवगत गराउँदै कोभिडका कारण स्थगित भएको यस कार्यक्रमलाई पुनः सबै वडामा प्रभावकारी बनाउँदै लाने बताउनुभयो ।
उहाँले घरदैलो नर्सिङ सेवाले नगरका प्रत्येक वडाबासीको घरमा ख्वप अस्पतालका नर्स र स्वास्थ्य स्वयम्सेविका गई बिरामीहरूलाई परामर्श, आवश्यक सल्लाह–सुझाव र उपचारलगायतका कामहरू हुँदै आइरहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “हामीले भूकम्पपछि सार्वजनिक महत्वका सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धारलाई मुख्य प्राथमिकतामा राखेर काम ग¥यौँ । कोभिड महामारीबीच जनताको जीवन रक्षाको लागि नपाबाट स्थापित अक्सिजन प्लान्ट निर्माणको लागि भनपाका जनताहरूबाट भएको आर्थिक तथा भौतिक सहयोग उल्लेखनीय छ । यसले जनताको सेवामा समर्पित भएर लाग्न अझ हौसला मिलेको छ ।”
भक्तपुर नपाले सबै वडामा शारीरिक व्यायामशाला स्थापना, कडा रोग लागेका नगरवासीलाई रू. १५ हजार आर्थिक सहयोग व्यवस्था गरेको र छिकोङ खेलको प्रशिक्षण सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
“एमसीसी सम्झौता नेपालको हितविपरीत छ । यो सम्झौतालाई संसद्बाट अनुमोदन गराउनुहुन्न । नेमकिपाले एमसीसीको विरोधमा देशव्यापी रूपमा जुलुस तथा सभा गरी जनतालाई सचेत र सङ्गठित गर्दै आइरहेको छ”, उहाँले भन्नुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले गरिब तथा जेहेनदार विद्यार्थीलाई लक्षित गर्दै नगरपालिकाले शैक्षिक ऋण वितरण गर्ने कार्यक्रमलाई चालु राखेको जानकारी गराउँदै व्यापक जनताको सेवाको निम्ति नपाले पुनः घरदैलो नर्सिङ सेवा सञ्चालन गर्न लागेको अवगत गराउनुभयो ।
उहाँले वडामै प्राथमिक स्वास्थ्य सेवा सञ्चालन गर्ने तयारीमा नगरपालिका जुटेको उल्लेख गर्नुभयो ।
ख्वप अस्पतालका इन्चार्ज डा. रत्नसुन्दर लासिवाले २०७४ साल भदौ ७ गतेबाट सुरु भएको घरदैलो नर्सिङ सेवालाई पुनः सञ्चालन गर्ने तयारीमा रहेको बताउँदै स्वास्थ्यमा जनताको सहज पहुँचको लागि वडावडामै नर्सको व्यवस्था गरी सामान्य रोगको जाँचको व्यवस्था नगरपालिकाले गर्ने योजना बनाएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका कार्यपालिका सदस्य सुनिता अवाल, स्वास्थ्य स्वयम्सेविका सबि शिल्पकार र मैंया सुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *