भर्खरै :

सर्वहारा वर्गका गुरु एङ्गेल्सको जन्म दिवस मनाइयो

भक्तपुर, १२ मंसिर । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिको आयोजनामा विश्व सर्वहारा वर्गका महान् नेता फ्रेडरिक एङ्गेल्सको २०१ औँ जन्म दिवस आइतबार प्रवचन कार्यक्रम गरी मनाइयो ।
उक्त प्रवचन कार्यक्रममा पार्टीका सचिव प्रेम सुवालले एङ्गेल्सले सन् १८४५ मा ‘बेलायतमा मजदुर वर्गको अवस्था’ पुस्तक लेख्नुभएको चर्चा गर्दै उक्त पुस्तक पुँजीपति वर्गको जघन्य अपराधको शिलापत्र भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सन् १८४७ मा उहाँले ‘समाजवादका सिद्धान्तहरू’ लेख्नुभयो भने सन् १८४८ मा माक्र्स र एङ्गेल्स दुवै मिलेर ‘कम्युनिस्ट घोषणापत्र’ लेख्नुभयो ।”
सचिव सुवालले सन् १८८३ मा माक्र्सको समाधिस्थलमा एङ्गेल्सले जीव विकासको सिद्धान्त डार्विनले पत्ता लगाउनु भएजस्तै माक्र्सले समाज विकासको नियम पत्ता लगाउनुभएको बताउनुभएको उल्लेख गर्नुभयो ।
एङ्गेल्सले सन् १८७९ मा रुसी क्रान्ति दैलोमा छ, चाँडै क्रान्ति हुनेछ भन्नुभएको र सन् १९१७ मा रुसमा अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको सचिव सुवालले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “एङ्गेल्सले सन् १८९४ मा पुँजीको तेस्रो भाग प्रकाशित गरेर माक्र्सले बाँकी राख्नुभएको काम पूरा गर्नुभयो । माक्र्स र एङ्गेल्स दुवै विश्वविद्यालयको शिक्षा प्राप्त गरी मजदुर र कम्युनिस्ट आन्दोलनमा लाग्नुभयो । यसैकारण उहाँहरू अमर हुनुभयो ।”
पार्टीका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले माक्र्स–एङ्गेल्सकालीन युरोपको अवस्था, भूगोल र राजनीतिबारे जानकारी दिँदै फ्रान्सेली राज्य क्रान्तिले स्वतन्त्रता र समानताको नारा उठाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “औद्योगिक क्रान्तिले पुँजीपति र सर्वहारा वर्गको उदय भएको र त्यही सिलसिलामा माक्र्स–एङ्गेल्सले ‘कम्युनिस्ट घोषणापत्र’ तयार गर्नुभएको थियो ।”
प्राध्यापक सुनिल दुवालले ज्यालादारी श्रम र पुँजीबारे चर्चा गर्दै वस्तुको मूल्य निर्धारण गरेझैँ श्रमको पनि मूल्य निर्धारण गर्नुपर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष नारायणबहादुर दुवालको सभपातित्वमा भएको उक्त कार्यक्रममा उपेन्द्र सुवाल र जगतराम धुख्वाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *