सरकारको उपस्थिति खोइ ?
- श्रावण १, २०८३
चितवन, १२ मङ्सिर । चितवनको सौराहामा भएको एमालेको दसौँ महाधिवेशनको बन्द सत्र सम्पूर्ण हिसाबमा नेतृत्वमै केन्द्रित भएको छ । आइतबार दिनभर एमाले नेताहरू पदकै लागि दौडादौड गरेको देखियो । नेताहरूबीच केपी ओलीसमक्ष पदको भीक्षाटनदेखि बार्गेनिङसम्म भएको देखियो । विगत महाधिवेशनमा सैद्धान्तिक बहसको नाममा औपचारिकतामै सही, विभिन्न कार्यक्रम प्रस्तुत गर्ने र छलफल हुने गरेकोमा यो पटकको एमाले महाधिवेशनमा त्यस्तो केही भएको देखिएन । यसर्थमा दसौँ महाधिवेशन पूर्णतः कुम्भमेलामै सीमित रह्यो । झन्डा समातेको गैँडा, नारायणी किनारामा मानिसको कुम्भमेला र पदकै प्रतिस्पर्धा नै एमालेको दसौँ महाधिवेशनका विशेषताको रूपमा भविष्यमा चर्चा भइरहनेछ ।
ओलीले आफ्नो भाषणमा एकताको कुरा जतिसुकै चर्को स्वरले बोले पनि पदको कुरा आएपछि भने एमालेका नेताहरूबीचको चर्को मतान्तर प्रस्टै बाहिर देखियो । अर्को शब्दमा भन्दा पदको निम्ति नेताहरूबीच मारामारको प्रतिस्पर्धा (कट थ्रोट कम्पिटिसन) देखियो । एमालेगणले यसलाई ‘लोकतान्त्रिक अभ्यास’को बर्कोले छोप्न खोजे पनि यस्ता सबै प्रवृत्ति खासमा एमालेभित्र मौलाइरहेको विकृतिका अभिव्यक्तिमात्र हुन् ।
कुनै पनि कम्युनिस्ट पार्टीले विचारलाई प्रधानता दिने गर्छ । विचार, आन्दोलन, सङ्घर्ष र योगदानले नै नेतृत्व स्थापित हुने हो । तर, नेतृत्वको निम्ति मरिहत्ते गर्नु कम्युनिस्ट चरित्र होइन । असल कम्युनिस्ट कार्यकर्ताको निम्ति पद कहिल्यै पनि प्रमुख विषय बन्दैन । बरु प्रकाशमा नआई इमानदारीपूर्वक क्रान्तिको सेवा गर्नु नै असल कम्युनिस्टको विशेषता हो । पदलोभी र प्रचारमुखी हुनु निम्न पुँजीवादी समस्या हो । एमालेभित्र पद र प्रचारको निम्ति हानथापले एमालेको वैचारिक स्खलनसँगै नेता र कार्यकर्ता तहमा कम्युनिस्ट चरित्र क्रमशः क्षीण बन्दै गएको सौराहामा पुनः प्रदर्शन भयो ।
कम्युनिस्ट पार्टीमा पदमा बस्नु जिम्मेवारी बहन गर्नु हो, देश र जनताको सेवामा आफ्ना व्यक्तिगत स्वार्थ र सुविधा त्यागेर अझ सक्रियतापूर्वक लाग्नु हो । पुँजीवादी पार्टीमा पदमा पुग्नु भनेको जनता र कार्यकर्तामाथि आफ्नो रजगज चलाउनु हो । कम्युनिस्ट पार्टीमा पदाधिकारी हुनु जनताको अझ जिम्मेवार सेवक बन्नु हो भने पुँजीवादी पार्टीमा पदमा जानु भनेको अरूमाथि शोषण गर्नु हो, शासन गर्नु हो । सत्तासुखको नजिक हुनु हो । एमालेका नेता कार्यकर्ताबीच पदको निम्ति भएको मारामार आधारभूतरूपमा पैसा, सत्तासुख र सुविधाको निम्ति हानथाप हो ।
लामो सङ्घर्ष पार गरेर समाजवादी व्यवस्था स्थापना गरेका संसारका विभिन्न देशका कम्युनिस्ट पार्टीको महाधिवेशन हुँदा पदको भागबन्डा नमिल्दा बन्द सत्र हुन नसकेको कुरा समाचारमा सुनिएको थिएन । आफूलाई ‘संसारकै ठूलोमध्येको एउटा पार्टी’ दाबी गर्ने एमालेको यो लाजमर्दो अवस्थालाई विदेशी पर्यवेक्षकहरूले के ठान्दा हुन् ¤
एमालेको महाधिवेशनबाट एमसीसी सम्झौता खारेजीको लागि सङ्घर्ष गर्ने र नेपाललाई साम्राज्यवादी शक्तिको क्रिडास्थल नबनाउने सङ्कल्प पारित गरिने साम्राज्यवादविरोधी देशभक्त नेपाली जनताले अपेक्षा गरेका थिए । एमाले एकढिक्का भएर एमसीसी सम्झौताको प्रतिरोधमा उत्रेर महाधिवेशनलाई साम्राज्यवादविरोधी सम्मेलन बनाउने नेपाली जनताको आशा भने नेताहरूको नेतृत्वको लागि हानथाप र वैचारिक शून्यता पछि तुहिएको छ ।
हरेक महाधिवेशनमा पाइला–पाइला गर्दै दक्षिणपन्थी अवसरवादमा स्खलित बन्दै गएको एमालेबाट अब कम्युनिस्ट आन्दोलनअघि बढ्ने र समाजवादको यात्राको अपेक्षा गर्नु ‘गोरु व्याउँदैन’ भन्ने गीतजस्तै हुनेछ ।
Leave a Reply