काराकस, २९ नोभेम्बर (टेलिसुर÷प्रेन्सा ल्याटिना) । ल्याटिन अमेरिकी देशहरूमा पुनः वामपन्थी लहर देखिएको छ । ल्याटिन अमेरिकामा भएका हरेकजस्तो स्वतन्त्र निर्वाचनहरूमा वामपन्थी शक्तिहरू अगाडि आएका छन् भने त्यस क्षेत्रका हरेक देशमा जनताका सवाललाई लिएर सङ्घर्ष गर्न वामपन्थी पार्टीहरू अग्रमोर्चामा देखिएका छन् । होन्डुरसमा नोभेम्बर २८ आइतबारका दिन सम्पन्न राष्ट्रपतीय निर्वाचनमा त्यहाँको वामपन्थी पार्टी –लिवरल पार्टीकी उम्मेदवार जियामारा क्याष्ट्रो जीतको नजिक पुग्ग्नुभएको छ । निर्वाचनमा खसेको मतको ६० प्रतिशत मत गणना सकिसक्दा विपक्षी उम्मेदवारहरूभन्दा २० प्रतिशत मतले अगाडि रहेर जियामारा क्यास्टो त्यस देशको प्रथम महिला राष्ट्रपति बन्ने सम्भावना बलियो देखिएको हो । निर्वाचनमा वामपन्थी उम्मेदवारको जीतको सम्भावनासँगै त्यहाँको दक्षिणपन्थी सैनिक नेतृत्वबाट जनमतविरुद्ध सत्ता विप्लवको आशङ्का पनि बढेको छ । सन् २०१७ को निर्वाचनमा लिवरल पार्टीकै उम्मेदवार पूर्वराष्ट्रपति म्यानुयल जेलाया राष्ट्रपतिमा निर्वाचित हुनुभएको निर्वाचन परिणामलाई त्यहाँको सेनाले उल्टयाउँदै दक्षिणपन्थी नेता ह्वान ओर्लान्डो हर्नान्डेजलाई सत्ता सुम्पेको थियो ।

ग्याब्रियल बोरिक, चिली
स्मरणहोस्, २००९ मा संरा अमेरिकाको साथ र समर्थनमा २००६ देखि त्यहाँको जननिर्वाचित राष्ट्रपति रहेका वामपन्थी राष्ट्रपति म्यानुयल जेलायाको शासनविरुद्ध सेनाले सत्ता विप्लव गरेको थियो र केही वर्षसम्म नजरबन्दमा राखेको थियो ।
त्यस्तै लामो समयसम्म तानाशाह अगस्टो पिनोचेको निरङ्कुश तथा नवउदारवादी शासन रहेको दक्षिण अमेरिकी देश चिलीमा साल्भाडोर एयेन्डेपछि दोस्रो वामपन्थी राष्ट्रपतिको सम्भावना प्रबल बनेको छ । आइतबार नै चिलीमा सम्पन्न राष्ट्रपतीय निर्वाचनअन्तर्गत दोस्रो चरणको मतदानमा साझा वामपन्थी उम्मेदवार ग्याब्रियल बोरिकको जीत निश्चितजस्तै देखिएको छ । पूर्वविद्यार्थी नेता तथा वामपन्थी उम्मेदवार बोरिक नोभेम्बर २१ का दिन सम्पन्न पहिलो चरणको निर्वाचनमा विपक्षी दक्षिणपन्थी रिपब्लिकन पार्टीका उम्मेदवार होसे कास्टले भन्दा १५ प्रतिशत बढी मत ल्याई पहिलो स्थानमा रहेका थिए । त्यहाँको क्रिस्चियन डेमोक्रेटिक पार्टी र धेरै सामाजिक सङ्गठनहरूले समर्थन गरेपछि बोरिकको जीत निश्चितप्रायः बनेको हो । बोरिकले पहिलो चरणमा प्राप्त गरेको मतले नै चिलीमा वामपन्थी लहर सिर्जना भएको र पिनोचेको तानाशाही र त्यसपछिका नवउदारवादी शासनलाई पराजित गरेको विश्लेषण गरिएको थियो । यद्यपि त्यहाँ दुर्गम जिल्लाबाट मतपेटिका सङ्कलन कार्य जारी रहेकोले आधिकारिक मतगणनाको परिणाम सार्वजनिक गरिएको छैन ।
मतदानपछि त्यहाँ गरिएको सार्वजनिक मतसर्वेक्षणका नतिजाले बोरिकले विपक्षी उम्मेदवारले भन्दा कम्तीमा ६ प्रतिशत मतले विजय हासिल गर्ने देखाएका छन् । त्यस्तै क्याडेम मत सर्वेक्षणमा अधिकांश युवा मतदाताले बोरिकलाई मतदान गरेको र ५५ वर्षमाथिकाहरूको बहुमतले दक्षिणपन्थी उम्मेदवार कास्टलाई मतदान गरेको देखाएको छ । एक्टिभा रिसर्चले देशव्यापीरूपमा गरेको मत सर्वेक्षणले भने बोरिकले कास्टले भन्दा १५.९ प्रतिशत मत बढी हासिल गरेर जित्ने नतिजा सार्वजनिक गरेको छ ।
यसअघि हालै सम्पन्न निकारागु्आको राष्ट्रपतीय तथा संसदीय निर्वाचनमा त्यहाँको क्रान्तिकारी सान्डिनिस्टा राष्ट्रिय मुक्ति मोर्चा (एफएसएलएन) ले फराकिलो जीत हासिल गरेको छ । राष्ट्रपतिमा सान्डिनिस्टा मुक्ति राष्ट्रिय मोर्चा नेता ड्यानियल ओर्टेगा र नेतृ उपराष्ट्रपति रोसारियो मुरिल्लोको जोडी निर्वाचित हुनुभएको छ । सान्डिनिस्टा मुक्ति राष्ट्रिय मोर्चाले त्यहाँको संसद्मा पनि अत्यधिक बहुमत हासिल गरेको छ । निर्वाचनमार्फत् निकारागुआली जनताले नवउदारवादविरुद्ध सान्डिनिस्टा समाजवादी क्रान्तिलाई पुनः अनुमोदन गरेका छन् ।

जियोमारा क्याष्ट्रो, होन्डुरस
भेनेजुयलामा नोभेम्बर २१ आइतबारका दिन ३ प्रान्तीय गभर्नर, ३३५ नागरपालिकाका मेयर, २५३ क्षेत्रीय संसद् सदस्य तथा २,४७१ जना नगर परिषद् सदस्यका लागि निर्वाचन सम्पन्न भयो । राष्ट्रिय निर्वाचन परिषद्का अनुसार २३ मध्ये २० वटा प्रान्तको गभर्नरमा बृहत् देशभक्त मोर्चाका उम्मेदवारहरू निर्वाचित भएका छन् भने ३ वटामा विपक्षी पार्टीहरूले जितेका छन् । निर्वाचनको पर्यवेक्षण गर्न संयुक्त राष्ट्र सङ्घ, युरोपेली युनियन र कार्टर सेन्टरलगायत विश्वका ५५ वटा अन्तर्राष्ट्रिय संस्थाका ३ सत्र्न्दा बढी पर्यवेक्षकहरू भेनेजुयलाको विभिन्न भागमा पुगेका थिए । संयुक्त राष्ट्रसङ्घले भेनेजुयलामा आइतबार भएको निर्वाचन शान्तिपूर्णरूपमा भएको जनाएको थियो ।
हाल ल्याटिन अमेरिकामा समाजवादी राष्ट्र क्युवादेखि भेनेजुयला, बोलिभिया, निकारागुआ, अर्जेन्टिना, मेक्सिको, पेरुलगायत देशमा वामपन्थी सरकारहरू रहेका छन् भने अरू अधिकांश देशमा पनि प्रमुख प्रतिपक्ष दलको रूपमा वामपन्थी र कम्युनिष्ट पार्टीहरू साम्राज्यवाद र नवउदारवादविरुद्ध सङ्घर्षरत छन् ।
Leave a Reply