यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
झिलिमिलीमा शक्ति हुन्छ । झिलिमिली हुन उज्यालो चाहिन्छ । उज्यालो भनेको शक्तिको प्रतीक हो । वि.सं. १९६८ साल जेठमा एकसय दस वर्षअघि फर्पिङमा ५०० किलोवाटको जलविद्युत् आयोजना प्रारम्भ भएको हो । त्यतिबेला ब्रिटिश उपनिवेश भारतमा पनि जलविद्युत् आयोजना निर्माण भएको थिएन । संसारमा एकाध देशमा मात्र बिजुली उत्पादन हुन्थ्यो । सदर टुँडिखेलको पूर्व उत्तर कुनातिर बिजुली अड्डा बनाइएको थियो । पहिलोपल्ट बिजुलीबाट झिलिमिली हुँदा काठमाडौँ सहर सुतेन रे ¤ रातभर त्यही बिजुलीको उज्यालोमा रमाएर, मोहित भएर बिजुली अड्डा घुमिरह्यो रे ¤ उल्का नै भयो रे ¤ वास्तवमा चन्द्रशमशेरलाई थाहा थियो सर्वप्रथम काठमाडौँ सहरमा बलेको बिजुलीको उज्यालोको झिलिमिली देखेर जनता लठ्ठ पर्छन् । भारत र नेपालमा पनि सामन्ती युग थियो । त्यतिबेलाको सरकारले सर्वसाधारण जनतालाई बिजुली दिएको थिएन । परालको छाना भएको घरमा आगलागी हुन्छ भनी बिजुली दिइएको थिएन जबकि त्यतिबेला धेरै घर परालले छाएका थिए । झिङ्गटी घर थोरैमात्र थिए । आगलागी बहानामात्र थियो या ज्ञान नै त्यस्तो थियो थाहा छैन । तर, आम सहरिया बासिन्दा उज्यालो देखेर, झिलिमिली देखेर फुरूङ्ग थियो । सामन्ती व्यवस्था पनि अर्धसामन्ती युगतिर जाँदै थियो । अहिले पनि निर्वाचनको बेला पुँजीवादीहरू झिलिमिली प्रचार गर्छन् । अझ म त भन्छु प्रचार आतङ्क नै पो हुन्छ । सर्वसाधारण जनता यसका तानाबाना बुझ्दैनन् त्यही प्रचारबाट प्रभावित हुन्छ र मतदान तिनलाई गर्छ ।
भादगाउँले टोपी लाउँदैमा भादगाउँले हुँदैन
समाजवादउन्मुख समाजमा टेकेर उभिएको या संविधानअनुरूप बनेका सरकारहरू तद्नुरूप एउटा पनि काम गर्दैनन् । उनीहरूले उही पुँजीवादलाई प्रशय दिएका छन् । राजनीति जनतामा गएन । मुहानै फोहोर भएपछि त्यसमा धोएको लुगा कहाँ सफा हुन्छ र ? लुगा सफा हुन त पानी सफा हुनैपर्छ । पुँजीवादी बन्दोबस्तमा निर्माण भएको सरकारबाट कसरी आउँछ र समाजवाद ? अनेक खालका रङ्गीचङ्गी मानसिकताका, पोशाकका रङ्गीचङ्गी मान्छेहरूको प्रयोग गरेर अर्को देशउपर प्रभुत्व कायम राख्ने नीति अहिलेको मात्र नीति हो र ? उहिल्यै चाणक्यकै पालादेखिको हो । गुप्तचर प्रयोग गरी सम्बद्ध देशका सूक्ष्म कुरा पत्ता लगाई तद्नुरूप त्यो देशलाई आफ्नो हुँदो पार्ने काम कारबाही आजको होइन न त हो नयाँ र नौलो । यो पद्धति इतिहासदेखिकै हो । हतियार प्रयोग गरेर अर्को देश कब्जा गर्ने पद्धति पुरानो भइसक्यो । यो कुरा याद गरेन भने डङरङ्गै पछारिन्छ । कालो भादगाउँले टोपी लगाउँदैमा भादगाउँले हुँदैन । कालो परासी लगाउने सबै छोरी–बुहारी भादगाउँका छोरी–बुहारी हुँदैनन् । आजको युगमा व्यापक परिवर्तन आइसकेको छ । आजको शिक्षाले योग्य युवक उत्पादन गरेको छ । आज युग धेरै अगाडि बढिसक्यो । आज ख्वप कलेजहरूको उत्पादक युवक आ–आफ्ना जिल्ला फर्की त्यहाँका शिक्षालयमा नयाँ नयाँ देशभक्त युवा उत्पादन गर्न योगदान गरिरहेका छन्, कति राम्रो काम ?
जिल्ला–जिल्लामा गुणस्तरीय शिक्षा
हतियार एवं युद्धबाट अर्को देश कब्जा गर्ने आज पुरानो भइसक्यो । एकैपल्ट युद्ध गरी अर्को राष्ट्र कब्जा गरिँदैन आज । बरू गुप्तचर एवं जासुस पात्रहरू परिचालन गरी त्यो देशको सांस्कृतिक, सामाजिक, आर्थिक पक्ष कब्जा गर्दै आफ्ना लागि केही गर्न नसक्ने पङ्गु वा नपुंसक बनाई नयाँखाले उपनिवेश बनाउने प्रचलन बढेको छ अहिले । संरा अमेरिकामा आम निर्वाचनमा बहुमत अमेरिकी जनता सहभागी हुँदैनन् । तसर्थ, त्यहाँ अल्पमतले बहुमतउपर शासन गर्छ । यसमा पनि पुँजीवादी झिलिमिलीले ठूलो काम गरेको हुन्छ । खासगरी विद्यार्थी वर्गलाई शिक्षक समुदायले जस्तो शिक्षा दियो प्रायः त्यस्तै युवा उत्पादन हुने न हो । तसर्थ, शिक्षक देशभक्त हुनुपर्छ । शिक्षकले नै नयाँ पुस्तालाई देशभक्त बनाउनुपर्छ । अन्यथा, सर्वदा देश स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न, स्वायत्तता र स्वाभिमानी भइरहन नसक्ने हुनसक्छ । यो पक्षपाति सूक्ष्म छ जो पायो उसलाई यसमा चित्त बुझाउन सरल छैन । यी सबै पक्षलाई आत्मसात गर्दै नेपाल मजदुर किसान पार्टीले नगरपालिकामा विजय प्राप्त गर्नासाथै सर्वप्रथम गम्भीर ध्यान शिक्षा विकासमा दियो । ख्वप विद्यालयहरूको स्थापना एवं सुचारू सञ्चालनलाई सर्वाधिक प्राथमिकता दियो । ती उच्च शिक्षण संस्थाहरूले आ–आफ्नो उत्तरदायित्व कुशलतापूर्वक पूरा गरे । कम शुल्कमा गुणस्तरीय शिक्षा हासिल हुनथाल्यो । अब भक्तपुर नगरपालिका बेरोजगार युवा उत्पादन केन्द्र नभएर उत्साही, केही गरेरै देखाउने नयाँ जनशक्ति उत्पादन गर्ने युवा उत्पादन गर्ने केन्द्रको रूपमा आफ्नो गर्व गर्नलायक इतिहास बनाउन लाग्यो । पुँजीवादी झिलिमिलीमा अल्झिएन ।
खाद्यमा आत्मनिर्भरता
नेपाल उन्नत कृषिप्रधान राष्ट्र हो । तर, एक छाक पेटभरि खानलाई पनि नपुग्ने कृषि उत्पादन गर्छ अहिले । हरेक राष्ट्रको राजनीतिक सम्प्रभुताका लागि खाद्य सम्प्रभुता अनिवार्य सर्त हुन्छ । कम्तीमा आफ्नो उत्पादनले दुई छाक पेटभर खान पुग्ने त हुनैप¥यो । पेटभर खान नपाएको जनताले देशको सार्वभौम स्वतन्त्रताको कसरी संरक्षण गर्छ ? रासनपानी मान्छेमात्र होइन प्राणी बाँच्नका लागि पहिलो सर्त हो । तसर्थ, कृषिप्रधान देश नेपालले कृषिमा आत्मनिर्भर हुनैपर्छ नत्र देशको स्वतन्त्रताको प्रत्याभूति हुनसक्दैन । नेपालमा यथेष्ठ पानी छ, पानीको भण्डार विशाल हिमाल छ । खेती हुने उर्वर भूमि पनि कम कहाँ छ र ? पानी र भूमि प्रकृतिले नै पर्याप्त दिएको छ नेपाललाई । अब अरू त हामी नेपालीले बन्दोबस्त गर्नुपरेन र ? देशको पूर्ण स्वतन्त्रताका निम्ति कम्तीमा खाद्यमा स्वावलम्बी या आत्मनिर्भर हुनैपर्छ । पुरानो जमानामा पनि भारत वा तिब्बतसँग लडाइँ पर्दा तत्कालीन सरकारले रासन पानीको बन्दोबस्तलाई सर्वोपरि प्राथमिकतामा राख्ने गथ्र्यो । तसर्थ रासन पानी नम्बर एक प्राथमिकतामा पथ्र्यो र यो राज्य टिकेर आएको हो । यो यथार्थ हाम्रा गाउँ घर कुना काप्चामा अझै छन् । झन् आजको सरकारले र राजनीतिक दलले नबुझ्ने त प्रश्न नै भएन । तसर्थ, खाद्यमा आत्मनिर्भर बन्ने सङ्कल्प गरौँ । पुँजीवादी झिलिमिलिमा नअलमलिऔँ ।
Leave a Reply