भर्खरै :

तराईमा किन बढ्यो जाडो ?

तराईका जनताले विगतको तुलनामा यो वर्ष मंसिर महिनामा नै निकै जाडो बढेको अनुभव गरेका छन् । पुस र माघमा मात्र जाडो अनुभव हुने तराईका जिल्लामा अस्वाभाविकरूपमा मंसिरको सुरूदेखि नै मुटु कमाउने जाडो भएपछि जनजीवन प्रभावित भएको छ । जलवायु परिवर्तन, पृथ्वीको तापमान वृद्धि र प्रदूषणको कारण संसारकै हावापानी स्वाभाविक हिसाबमा अघि बढिरहेको छैन । सामान्यतः पानी नपर्ने समयमा अचानक वर्षा हुँदा यो वर्ष तराईका धेरै जिल्लाका किसानहरूले खेतमा लहलह झुकेको धानका बाला पनि टिप्न पाएनन् । विगतमा कमै मात्र वर्षा हुने र बाढी आउने मनाङ र मुस्ताङजस्ता हिमाली जिल्लामा आएको बाढी पहिरोको कारण ठूलो धनजनको क्षति भयो ।
तराईका जिल्लामा अत्यधिक जाडोको कारण विगतका वर्षमा पनि सर्वसाधारणको ज्यानसमेत जाने गरेको छ । आर्थिकरूपमा विपन्न मानिसलाई जाडो महिना कटाउनु ज्यादै कष्टकर हुने गरेको छ । आफ्ना नागरिकको जीवन रक्षा गर्नु हरेक सरकारको प्राथमिक दायित्व हो । जाडो बढेसँगै तराईका जनताको जीवनमा आएका प्रतिकुलता समाधान गर्न राज्यले सहायताको हात बढाउन जरूरी छ । आर्थिकरूपमा विपन्न परिवारलाई आगो बाल्न काठदेखि सिरक, कम्बलको व्यवस्था सरकारले गर्नुपर्छ । राज्यको निम्ति यो कुनै पुण्यको काम होइन, बरू प्राथमिक कर्तव्य हो ।
तराईका ग्रामीण क्षेत्रमा जाडोबाट बच्न घुर बाल्ने चलन पनि छ । त्यसरी पनि तराईका गरिब जनताले जाडोको कहर कटाउने गरेका छन् । तर, सुरक्षितरूपमा धुनी नबाल्दा विभिन्न स्थानमा दुर्घटना भई सर्वसाधारणले अनाहकमा जीवन गुमाउने गरेका छन् । तसर्थ, सरकारले दुर्घटना हुन नदिन जनचेतनामूलक प्रचार गर्न आवश्यक छ ।
जाडोबाट जोगिन पराल, उखुका पात, छ्वाली, दाउरा आदि बाल्दा वायु प्रदूषण भई सर्वसाधारणकै स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको छ । छिमेकी देश भारतको राजधानी नयाँ दिल्लीमा वरपरका क्षेत्रका किसानहरूले खेतमा आगो बाल्दा धुवाँको मुस्लोले वायु प्रदूषण अत्यधिक हुँदा जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पारेको समाचार हामी बर्र्सेनि सुन्छौँ । त्यस्तो अवस्था नेपालमा पनि आउन नदिन राज्य र नागरिक दुवै सजग हुन जरूरी छ ।
विज्ञान तथा वातावरण मन्त्रालयले यस्ता विषयमा गम्भीरता देखाउनुपर्ने हो । तर, ती मन्त्रालयहरू नेपालको सबभन्दा कमजोर र कम ‘मालदार’ मन्त्रालय हुँदा जनताको जीवनमा प्रतिकूल प्रभाव पार्ने यस्तो समस्यामा खासै ध्यान दिएको पाउँदैनौँ । विदेशी दाता र आइएनजीओको पैसा आउञ्जेलमात्र ती मन्त्रालयहरूले एकाध परियोजना सञ्चालन गर्ने गरेका छन् ।
जलवायु परिवर्तनसँगै संसारकै हावापानीमा आएको बदलावले मानिसको दैनिक जीवनमा अनेकन नयाँ समस्या देखापरेका छन् । ती समस्या समाधान नागरिक तहबाट मात्र हुन सम्भव छैन । अझ कतिपय समस्या त एउटा सरकारले मात्र पनि समाधान गर्न सम्भव छैन । त्यसको निम्ति सिङ्गो संसार नै एकजुट भएर लाग्नुपर्ने अवस्था छ । तसर्थ, त्यसको निम्ति सरकारहरू आफ्ना नागरिकप्रति अझ जिम्मेवार र उत्तरदायी हुन जरूरी छ ।
जलवायु परिवर्तनको प्रभावस्वरूप तराईको जनजीवनमा के कस्ता परिवर्तन हुँदै छन् भन्ने कुराको लेखाजोखा र अनुसन्धानमा सरकारले अग्रसरता देखाउन जरूरी छ । विज्ञानसम्मत अध्ययनले नै जनताका समस्या समाधान गर्न हामीलाई उपायहरू दिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *