भर्खरै :

विद्यार्थीले ज्ञान र चिन्तनको दायरा फराकिलो पार्नुपर्ने

भक्तपुर, १५ मंसिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको २० औँ र ख्वप कलेज अफ इन्जिनियरिङको १३ औँ वार्षिक उत्सव कार्यक्रम बुधबार कलेज प्राङ्गणमा सम्पन्न भयो ।
वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्दै अतिथि बिजुक्छेँले विद्यार्थीले ज्ञान र चिन्तनको दायरालाई फराकिलो पार्दै देश र जनताको सेवा गर्ने भावनाले अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो ।
बौद्धिक व्यक्तिहरूलाई राजनीतिबाट टाढा राख्न पैmलाइरहेको भ्रमप्रति सचेत हुनुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष बिजुक्छेँले राजनीतिबाट कोही अछुतो नरहने धारणा राख्नुभयो ।
देशमा निःस्वार्थ सेवा गर्ने राजनीतिकर्मीको खाँचो रहेको उहाँले स्पष्ट पार्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “माक्र्सवादी सिद्धान्तअनुसार पँुजीवादी व्यवस्थाको पतन र सर्वहारा वर्गको शासन सत्ता स्थापना हुने निश्चित छ ।”

विश्व सर्वहारा वर्गका नेता माक्र्सले मानव समाजको विकासमा वर्गसङ्घर्षको नयाँ सिद्धान्त प्रतिपादन गरेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले पुँजीवादी राजनैतिक व्यवस्था ध्वस्त नगरी समाजवाद नआउने उल्लेख गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “उत्पादनका साधन र सेवा सामाजिकीकरण हुने, शिक्षा–स्वास्थ्य निःशुल्क हुने, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त हुने, आदर निकेतनको व्यवस्था हुने, शोषणविरूद्धको हकको व्यवस्था हुने व्यवस्था नै समाजवादी व्यवस्था हो । यो व्यवस्थामा कामदार जनताको जीवन उज्ज्वल हुनेछ ।”
नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले समाजलाई बुद्धिजीवीकरण गर्ने उद्देश्यका साथ २३ वर्षअगाडि ख्वप उच्च मावि, २० वर्षअगाडि ख्वप इन्जिनियरिङ कलेज र १६ वर्ष अगाडि ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा सीटीभीटीअन्तर्गत नर्सिङ र सब–इन्जिनियरिङ विषय अध्यापनको स्वीकृति लिई हाल ख्वप सर्कलका ७ वटा कलेजहरू सञ्चालनमा रहेको बताउनुभयो ।
उहाँले ७ वर्षअगाडि मेडिकल कलेजसहितको ख्वप विश्वविद्यालय सञ्चालनको लागि ख्वप विश्वविद्यालयसम्बन्धी विधेयक दर्ता भइसकेको जानकारी दिनुुभयो ।

सांसद सुवालले भन्नुभयो, “शासक दलहरू संसद्बाट एमसीसी पारित गरी नेपाललाई भारतको नवउपनिवेश बनाउन लागिपरेका छन् भने नेपाल मजदुर किसान पार्टीले एमसीसीको विरोधमा जनतालाई सचेत पार्दै देशव्यापीरूपमा विरोध तथा सभा गरिरहेको छ ।”
कलेज सञ्चालक समितिका अध्यक्ष एवं भनपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्न र २१ औँ शताब्दीका लागि योग्य नागरिक तयार गर्ने उद्देश्यले शैक्षिक संस्थाहरू सञ्चालन गरिरहेको बताउनुभयो ।
भनपाबाट सञ्चालित शैक्षिक संस्थानहरूमा देशभरका ६ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेको उहाँले बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “भक्तपुर नपाबाट सञ्चालित इन्जिनियरिङ्क कलेजबाट उत्तीर्ण विद्यार्थीले देशको कुना–काप्चामा पुगेर देश र जनताको इमानदारीपूर्वक सेवा गरी कलेजको उद्देश्य साकार पार्ने मलाई विश्वास छ ।”
देशको विकासमा प्राविधिकहरूको भूमिका महत्वपूर्ण हुने धारणा राख्दै प्रमुख प्रजापतिले पैसाको लोभमा ठेकेदारसँगको मिलेमतोमा कमजोर निर्माण गर्न नहुनेतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित इन्जिनियरिङ कलेजहरूबाट उत्पादित जनशक्ति नपासँग जोडिएको हुँदा गलत प्रवृत्तिहरूबाट टाढा रही उदाहरणीय नागरिकको भूमिका निर्वाह गर्नेतर्फ उहाँले उत्प्रेरित गर्नुभयो ।
बाग्मती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाईले भनपाद्वारा सञ्चालित दुईवटै इन्जिनियरिङ कलेजहरू नेपालकै उत्कृष्ट रहेको चर्चा गर्दै ख्वप सर्कलका कलेजहरू शैक्षिक गन्तव्यको रूपमा विकास हुँदै गएको बताउनुभयो ।

ख्वपको राजनैतिक, सांस्कृतिक र आर्थिक पहिचान बनाउनमा नेपाल मजदुर किसान पार्टीको योगदान महत्वपूर्ण रहेको स्मरण गर्दै सभासद् गोसाईले विगतको इतिहासबाट नयाँ पुस्ताले सिक्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।भनपाका उपप्रमुख एवं कलेजका सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले ख्वप विश्वविद्यालय स्थापनाको लागि भनपाले निरन्तर पहल गरिरहेको बताउनुभयो ।

शिक्षा नै विकासको आधार भएको धारणा राख्दै उपप्रमुख जोशीले शिक्षाको पहुँच अभिवृद्धिको लागि नपाले गरिरहेको प्रयासबारे जानकारी गराउनुभयो ।
पूर्वाञ्चल विश्वविद्यालयका डीन प्रा.डा. देवीप्रसाद भट्टराईले पूर्वाञ्चल विश्वविद्यालयले गरिरहेको गतिविधिको बारेमा चर्चा गर्दै भनपाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज समुदायमा आधारित पहिलो कलेज भएको उल्लेख गर्नुभयो ।
नेपाल इन्जिनियरिङ काउन्सिलका रजिष्ट्रार शिवमङ्गल गिरीले भनपाद्वारा सञ्चालित दुई वटै इन्जिनियरिङ कलेजको नतिजा सराहनीय रहेको उल्लेख गर्दै इन्जिनियरिङ काउन्सिलको तर्पmबाट पेशागत र गुणस्तर सुधारका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले नगरपालिकाबाट सञ्चालित कलेजहरूले कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्नु प्रशंसनीय रहेको उल्लेख गर्दै ख्वपका विद्यार्थीहरू सबै क्षेत्रमा प्रतिस्पर्धी बनिरहेको बताउनुभयो ।
भनपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले सय वर्षपछिको भक्तपुरको अवधारणालाई मूर्त रूप दिन शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणलाई उच्च प्राथमिकता दिई भनपा अगाडि बढिरहेको छ भन्नुभयो ।
नगरभित्रका विद्यार्थीहरूको उच्च शिक्षा हासिलमा सहजताको लागि सहुलियत ब्याजदरमा भनपाले शैक्षिक ऋण प्रदान गर्दै आइरहेको उहाँले जानकारी दिनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माक र ख्वप कलेज अफ इन्जिनियिरिङका प्राचार्य ई. सुनिल दुवालले कलेजको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा कलेजका शिक्षक नवराज बुढाथोकी र जिन्सी अधिकृत राजन जतिले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले सम्पदा संरक्षणमा योगदान पु¥याएका डकर्मी रामचन्द्र्र अवाल, सिकर्मी लक्ष्मीभक्त राजचल र लोहकर्मी काजीराम रञ्जितकारलाई सम्मान गर्नुभएको थियो । त्यस्तै अध्यक्ष बिजुक्छेँले कलेजमा दस वर्ष निरन्तर सेवा गरेका २२ जना शिक्षक तथा कर्मचारीहरूलाई सम्मान गर्नुभयो ।
कार्यक्रममा कलेजबाट आयोजित बास्केटबलका उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको थियो । वार्षिकोत्सव औपचारिक कार्यक्रमपछि विद्यार्थीहरूद्वारा सांस्कृतिक प्रस्तुतिहरू देखाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *