भर्खरै :

रासायनिक मलबिनै खेती लगाउँदै किसान

भजनी, १५ मंसिर । कैलालीको भजनी नगरपालिका–६ का रामप्रसाद चौधरीले दश बिघा क्षेत्रफलमा गहुँ खेती गर्नुभएको छ । यसवर्ष ढिलोसम्म वर्षा भएको कारण अन्य वर्षभन्दा ढिलो गरी गहुँ खेती सुरु गर्नुभएका उहाँले मल नहालेरै खेतमा गहुँ छर्नुभएको छ ।
“युरिया मलजति पनि पाइन्छ, डीएपी मल जति खोज्दा पनि कतै पाइएन ।” उहाँले भन्नुभयो, “खेती लगाउनैप¥र्यो । खेत बाँझो राख्ने कुरा पनि भएन । भाडामा लिएर खेती गरेको जग्गा मालिकलाई भाडा दिनैपर्छ । मल बिना लगाएको खेतीको उब्जनी के होला र ?”
रासायनिक मलको चरम अभाव देखिएपछि उहाँ मात्रै नभइ अधिकांश किसानले मलबिनै खेती गर्न थालेका छन् । धानका मौसममा युरियाको र गहुँको मौसममा डीएपी मलको अभावले किसान बर्सेनि चिन्तित छन् । खेती लगाउदा रासायनिक मलको प्रयोग बढी हुनुको कारण कम्पोस्ट मलले उब्जनी राम्रो नहुने भन्दै किसान रासायनिक मलको प्रयोग बढी गर्न थालेकोले पनि हो ।
खेती गर्दा पनि माटोले रासायनिक मल प्रयोग नगरेर उत्पादन नै दिन नस्क्ने बताउँदै स्थानीयवासी अमर कठरियाले गहुँ खेतीमा डीएपी मल अत्यावश्यक भएको बताउनुभयो । उहाँले बर्सेनि रासायनिक मलको अभाव हुने गरेको बताउँदै तीन तहको सरकार भएर पनि किसानलाई कुनै राहत नभएको गुनासो गर्नुभयो । कठरियाले सरकारले धानको समर्थन मूल्य तोक्ने खाद्यले धान खरिद नगर्नेजस्ता समस्यामा अझै पनि किसान रहेको जनाउँदै वास्तविक किसानलाई सरकार छ,भन्ने कुनै महसुस नै नभएको गुनासो गर्नुभएको छ ।
“चाहिएको समयमा नत मल पाइन्छ, नत सरकारले आफै तोकेको मूल्यमा हाम्रो उत्पादन बिक्री हुन्छ ।” उहाँले भन्नुभयो, “अनि कसरी भनौ किसानका लागि सरकार छ भनेर ? यो वर्ष बाढी र डुवानका कारण भोकमरीको चिन्तामा किसान भए पनि सरकारले राहत दिने भनेको छ तर, कहिले दिन्छ त्यसको कुनै पत्तो छैन ।”
कृषि सहकारीमा पनि मल छैन । छिटफुट रूपमा बजारमा रासायनिक मल पाइए पनि सामान्य किसानले त्यत्रो मूल्य तिरेर मल खरिद गर्न सक्ने अवस्था नरहेको जोशिपुर गाउँपालिका–१ का किसान सीताराम चौधरीले जानकारी दिनुभयो । “केही व्यापारीले भारतबाट अवैध रूपमा मल खरिद गरेर नेपाली बजारमा बिक्री गर्दै आएका छन् ।
त्यो मल आम किसानले खरिद गर्न सक्दैन ।” उहाँले भन्नुभयो, “समयमा मल नपाउँदा गहुँ खेती गर्ने समय ढल्किदै छ । मल पाइएको छैन । यो वर्ष उत्पादनमा निकै ¥हास आउने निश्चित छ ।” जानकी गाउँपालिका–४ मा रहेको मुनुवा कृषक सहकारी संस्थासँग पनि रासायनिक मल छैन । सहकारीले करिब तीन सत्र्न्दा बढी हेक्टर क्षेत्रफलमा गहुँको बीउ उत्पादन गर्दै आएको छ । मल नपाएपछि गहुँ छर्न ढिलो भइसकेको बताउँदै सहकारीका व्यवस्थापक गोविन्दराज रावतले मलका लागि भैरहवा पठाएको गाडी खाली फर्किएको जानकारी दिनुभयो । रासस
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *