भर्खरै :

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

सिउल, १५ मंसिर (रासस) । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडीसीए) का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।
कोरोनाविरूद्धको खोपको दुवै मात्रा लगाएका ती दम्पती नोभेम्बर १४ देखि २३ सम्म नाइजेरिया भ्रमणमा थिए । उनीहरू कोरिया प्रवेशपश्चात् गरिएको परीक्षणमा ओमिक्रोन देखिएको हो । खोपको दुवै मात्रा पूरा गरेकाहरूको लागि उत्तिकै खतरा हुने सङ्केत डब्लूएचओले दिएसँगै नयाँ भेरियन्ट ओमिक्रोनको बारेमा दक्षिण कोरिया सरकारले चिन्ता र चासोको विषय भएको जनाएको छ ।
कोरियाले शनिबारदेखि लागू हुने गरी दक्षिण अफ्रिकासहित बोत्स्वाना, जिम्बाबे, नामिबिया, लसोथो, मोजाम्विक, मालावीलगायतबाट हवाई उडानसहित आवागमनमा अनिश्चितकालको लागि प्रतिबन्ध लगाएको छ । यसका साथै नयाँ भेरियन्ट देशमा फैलिनबाट रोक्नको लागि विभिन्न नियमको घोषणा गरिएको छ ।केडीसीएले ओमिक्रोन भेरियन्ट देशका अन्य भागमा फैलिएकोबारे पत्ता लगाउन परीक्षण तीव्र पारेको छ । ओमिक्रोन कोरियामा देखिएपछि यहाँ रहेका नेपालीमा पनि त्रास फैलिएको छ । ओमिक्रोनका कारण नेपाली कामदार कोरिया ल्याउने क्रम फेरि रोकिन सक्ने खतरा बढेको छ ।

Leave a Reply

Your email address will not be published.