बस बिसौनी क्षेत्रमा मौलिकता झल्किने फल्चा (पाटी) निर्माण आवश्यक
- जेष्ठ २६, २०८३
राष्ट्रिय गान हाम्रो उच्चतम राष्ट्रिय गौरव, अमीट राष्ट्रप्रेम तथा समग्र राष्ट्रको प्राकृतिक, भौगोलिक, सांस्कृतिक, धार्मिक जातीय महिमागान हो । यसको मर्म बुझेर यसप्रति नतमस्तक हुनु सम्पूर्ण देशवासीको परम कर्तव्य हो । त्यसैले, राष्ट्रिय उत्सव, विभिन्न औपचारिक कार्यक्रम, विभागीय (फौजी) सामेली, सैन्य सम्मान, विद्यार्थी प्रार्थना, खेलकुदको समारोह, रेडियो टीभी आदिमा यसको अनिवार्यरूपमा प्रयोग गनुपर्ने कुरा राजपत्रमै उल्लिखित छ । सोहीअनुसार हुुँदै आएको पनि छ । तर यस्तो अति महिमाशाली राष्ट्रिय गान गाउँदाको अवस्थामा भने एकरूपता पाइँदैन ।
कुनै सामान्य ढङ्गको कार्यक्रममा उपस्थित जनसमुदायले यो गाउँदा, छातीमा हात राखेको पाइन्छ । कतै विशेष कार्यक्रममै उपस्थित अति विशिष्ट र विशिष्ट महानुभावहरूले पनि छातीमा हात राखेर गाइएको पाइँदैन । छातीमा हात राख्दा पनि कसैले हत्केला मुठी पारेर राख्ने, कसैले हातको पञ्जा फिँजाएर छपक्क राख्ने र कसैले चाहिँ आफ्नो मुटु नै छामेर ठम्याएर त्यसलाई थिचेर राख्ने गरिएको पाइन्छ । कसैले चाहिँ राष्ट्रिय गान गाउञ्जेल सतर्क हुने र सिध्याउने बेलामा शिर झुकाएर एउटा वा दुवै हात छातीमा राख्ने गर्छन् । प्रायः दाहिने हात राखिने कुरामा चाहिँ एकरूपता देखिन्छ ।
विभिन्न धर्म, जातजाति, भाषा, संस्कृति भएकाले फरक फरक ठाउँमा, फरक फरक स्वर, अनुहार र पोशाकमा गाइए पनि, गाइने राष्ट्रिय गान त आखिर एउटै हो । अनि यो गाउने लय र तरिका पनि एउटै हो । यस्तो फरक फरक तरिका किन भएको होला ¤ यस विषयमा बुझ्न खोज्दा विद्वत्वर्गको मतैक्य पनि पाइँदैन । कसैको मत छ ः “राष्ट्रिय गान गाउँदा उच्चतम राष्ट्रिय गौरवबोध जनाउनका लागि पनि छातीमा हात राख्नैपर्छ , यो अनिवार्य छ । कसैलाई साँचो कुरो बताउन लाउँदा छातीमा हात राखेर भन्न लगाउनुको कारण पनि यही हो ।” फेरि कोही भन्छन्, “छातीमा हात राख्दा सत्यताको अनुभव, आनन्द र ढुक्क हुने भएकोले पनि यो आवश्यक छ ।” यो पनि सही होला । तर, कोही भन्छन्, “छातीमा हात राख्ने कुरामा कुनै अनिवार्यता छैन । यो आफ्नो इच्छाको कुरो हो । यो उल्लेख गर्नैपर्ने नियम र वैधानिकताको कुरो पनि नभएर हार्दिकता र आत्मीयतासँग सम्बन्धित छ । राष्ट्रप्रति सच्चा माया र गर्व गर्नेले राष्ट्रिय गान गाउँदा छातीमा हात राख्छन् , त्यस्तो नगर्नेले राख्दैनन् ।” यो तर्क पनि सही नै हो भन्ने लाग्छ । कतिपयको मत फेरि, “राष्ट्रिय गान गाउँदा सतर्क हुनुपर्ने भएकोले छातीमा हात राख्नु हुँदैन, यो आवश्यक नै छैन” भन्ने पनि छ ।
विचार आ–आफ्नो हो । फेरि एकथरीको तर्क बेग्लै छ । उनीहरू भन्छन्, “खास गरी बोर्डिङ स्कूलहरूमा प्रार्थना गराउँदा अनुशासन कायम गराइने नाममा पनि छातीमा हात राख्न लगाइन्छ । सरकारी विद्यालयहरूमा र अन्यत्र यो कुनै अनिवार्य देखिंदैन ।” यसरी हेर्दा, राष्ट्रिय गान गाउँदा छातीमा हात राख्ने वा नराख्ने भन्ने कुरा जसलाई जे सही लाग्छ त्यही हिसाबले सिर्जित भएको हो कि जस्तो आभास पनि हुन्छ । अझ कसैकसैले त यो चलनै आयातीत वा कसैको नक्कल हो पनि भन्छन् । अब यस्ता अनेक थरी विचार र तर्क सुन्दा, यस विषयमा यकिन वा वास्तविक कुरा के हो भनेर टुङ्गोमा पुग्न सकिँदैन ।
यसबारेमा नेपाल सरकारद्वारा पछिल्लोपटक २०७६ भदौ २ मा प्रकाशित राजपत्र भाग ५, राष्ट्रिय झन्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी (पहिलो संशोधन) कार्यविधि २०७६ अन्तर्गत परिच्छेद–३÷१४ राष्ट्रिय गानको प्रयोग समय र विधिमा भने, “… …सबैले सतर्क अवस्थामा उभिएर शिर ठाडो गरी उच्च र उल्लासपूर्ण आवाजमा राष्ट्रिय गान गाउनुपर्नेछ” भनिएको छ । राजपत्रमा लेखिएको कुरा नै आधिकारिक र कानुन पनि हो । तर यसरी, त्यहाँ पनि राष्ट्रिय गान गाउँदा छातीमा हात राख्नुपर्छ भन्ने लेखिएको पाइएन ।
केही वर्षअघिसम्म चलेको चक्रपाणि चालिसेद्वारा रचित ‘श्रीमान् गम्भीर नेपाली’ भन्ने पुरानो राष्ट्रिय गान पनि हामीलाई थाहै छ । राजतन्त्रको एकदलीय व्यवस्था र कडा अनुशासनको जमानामा समेत त्यो गान गाउँदा कसैले पनि छातीमा हात राख्दैनथे, राख्नुपर्दैनथ्यो । अब गणतन्त्र आएपछि नेता, जनता सबै पहिलाभन्दा बढ्ता राष्ट्रप्रेमी र सभ्य सदाचारी भएका हुन् भन्ने बुझाउनका लागि राष्ट्रिय गान गाउँदा छातीमा हात राख्ने चलन स्वस्फूर्त र हार्दिकरूपमा चलेको हो भन्ने अनुमानमा पनि पटक्कै विश्वास लाग्दैन ।
वास्तवमा विचार, संवेदना वा भावना भन्ने कुरा बाहिरीरूपमा देखिने नभई भित्रबाट उठेर, उम्लिएर बाहिर आउने हुन्छ । भित्रबाट आउनुपर्ने यस्तो कुरालाई, कुनै बाहिरी हाउभाउ तथा भावभङ्गिमाबाट झल्काउन खोजियो भने त्यो प्राकृतिक नभएर कृत्रिम अभिनय हुनसक्छ । अझ, राष्ट्रप्रेम भन्ने पवित्र र भावनात्मक कुरा, राष्ट्रिय गान गाएको बेलामा छातीमा हात राख्नासाथ उत्पन्न भइहाल्ने र त्यसरी नराख्दा हराइहाल्ने हुँदैन । छातीमा हात राख्दैमा राष्ट्रभक्तिकोे भावना झल्कने हो भने ठग, चोर र अपराधीहरूले पनि छातीमा हात राखेर आफूलाई सभ्य नागरिक तथा सच्चा राष्ट्रप्रेमी देखाउने भए । अनि राष्ट्रप्रेमी, सत्यवादी, इमानी र सदाचारीहरूले पनि छातीमा हात राखेनन् भने राष्ट्रघाती, झूटा, बेइमानी र भ्रष्टाचारी ठहरिने भए । त्यसैले, राष्ट्रिय गान गाउनेजस्तो राष्ट्रिय गौरव र महत्व जोडिएको अत्यन्त गम्भीर कुरामा, स्वैच्छिक नभई औपचारिकताकै लागि भए पनि सर्वत्र एकरूपता देख्न पाए राम्रो हुने थियो ।
Leave a Reply