भर्खरै :

कोभिडको नयाँ भेरियन्टले पर्यटन क्षेत्र त्रसित

मुलुकको पर्यटन क्षेत्रमा कोभिड–१९ महामारीको नराम्ररी असर परेको छ । विदेशी मुद्राआर्जन गर्ने प्रमुख स्रोत बाह्य पर्यटक आवागमनको सङ्ख्या निराशाजनक देखिन्छ । पर्यटन क्षेत्र खुल्न र पर्यटकहरूको आगमनले गति लिन लागेको अवस्थामा पुनः नयाँ भेरियन्ट डेल्टाभन्दा बढी सङ्क्रामक हुने हल्लाले पनि पर्यटन क्षेत्रलाई लथालिङ्ग बनाउने त्रासले सताएको छ । महामारी नियन्त्रणमा आएर बाह्य पर्यटक केही मात्रामा बढिरहेको सन्दर्भमा पुनःकोभिड–१९ को ओमिक्रोन भेरियन्टको महामारीले पर्यटन क्षेत्रलाई त्रसित बनाएको छ । विभिन्न मुलुकले विदेशी नागरिकलाई आफ्नो देशमा प्रतिबन्ध लगाइरहेका छन् । नेपाल सरकारले पनि उक्त भेरियन्टको जोखिमलाई ध्यान दिँदै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरिसकेको छ । नेपालमा अहिले कुनै जोखिम नरहेपनि दुई साताको परिणामको पर्खाइमा नेपाली पर्यटन क्षेत्र रहेको छ ।
हालसम्म ओमिक्रोन भेरियन्ट नेपालमा फेला नपरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । तर, विश्वव्यापीरूपमा चिन्ताको विषय बनेको ओमिक्रोन भेरियन्टले पर्यटन क्षेत्रलाई थप त्रसित तुल्याएको छ । हल्लाअनुसार ओमिक्रोन भेरियन्टले कस्तो प्रभाव हुन्छ अहिले नै भन्न नसकिने भए पनि स्वास्थ्य सावधानी अपनाएर व्यवसाय सञ्चालन गरिनुपर्नेमा कुनै दुविधा हुनुहुँदैन । नेपाली पर्यटन व्यवसायी र जनताले पनि विशेष सावधानी अपनाउनुपर्छ, स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर व्यवसाय सञ्चालन गर्नुपर्छ । नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान भने रोक्न हुदैन । संयुक्त राष्ट्र सङ्घले र विश्व स्वास्थ्य सङ्गठनले धेरै ठुलो खतरा नभएको बताए पनि हाल जापान, इजरायल, अष्ट्रेलिया, बेल्जियम, अष्ट्रियालगायत मुलुकले विदेशी नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *