भर्खरै :

हो चि मिन्हको ‘जेल डायरी’: पृथक कविता

साम्राज्यवादविरोधी सङ्घर्षका अथक योद्धाका रूपमा विश्वले स्मरण गर्ने एक नेताको नाम हो, हो चि मिन्ह । विश्वका कुनाकाप्चामा उठेका देशभक्तिपूर्ण आन्दोलनमा ऊर्जाको स्रोत नै हो, का. हो । नेता हो चि मिन्ह विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा सदा सम्झिइने व्यक्तित्व हुनुहुन्छ । भियतनामी जनतालाई फ्रान्सेली तथा जापानी उपनिवेशको दलदलबाट उठ्न नेतृत्व गर्ने, अमेरिकी साम्राज्यवादको थिलथिलोविरुद्ध सङ्घर्षको आँधीबेहरी खडा गर्न अग्रमोर्चामा उभिने का. हो चि मिन्हको क्रान्तिकारी भावना यो विश्वलाई अझ जरुरी छ । युरोप, अफ्रिकी महादेशदेखि एसियासम्मका देशहरूमा फ्रान्सेली, जापानी उपनिवेशवादको पराकाष्ठा देख्नुभएका हो चि मिन्हले आफ्नो जीवनलाई अन्तर्राष्ट्रिय सर्वहारा जनताको मुक्तियुद्धमा समर्पण गर्नुभयो । विशेषतः रूसी अक्टोबर समाजवादी क्रान्तिबाट प्रभावित हुनुहुन्थ्यो का. हो । भियतनामी जनतामात्रको मुक्ति का. होको जीवनलक्ष्य थिएन । संसारका उत्पीडित तथा शोषित जनताको मुक्तिका निम्ति का. होले जीवनपर्यन्त सङ्घर्ष गर्नुभयो ।
उहाँले उत्तर भियतनाममा सन् १९४५ देखि १९५५ सम्म प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर जनताको सेवा गर्नुभयो । दक्षिण भियतनाममा प्रतिक्रान्तिकारी गतिविधि अद्यापि थियो । प्रतिक्रियावादीहरूविरुद्ध निरन्तर सङ्घर्ष जारी थियो । भूमि जोडिएको चीनमा उठेको जापानी उपनिवेशवादविरोधी आन्दोलन र अध्यक्ष माओको नेतृत्वमा भएको समाजवादी आन्दोलनबाट उहाँ प्रभावित हुनुहुन्थ्यो । भियतनामको मुक्ति सङ्घर्ष चिनियाँ कम्युनिस्ट पार्टीको सहयोगमा सम्भव भएको थियो ।
सन् १९४९ मा चीनमा समाजवादी क्रान्ति सफल भएको हो । त्यसअघि अध्यक्ष माओको नेतृत्वमा जापानी उपनिवेशवाद र राष्ट्रिय प्रतिक्रियावादी च्याङ्काई सेकविरुद्ध सङ्घर्ष जारी थियो । सन् १९४२ अगस्तको समय थियो, भियतनाममा युद्धको दोस्रो वर्षको करिब अन्तिम समय, हिन्दचीनमा जापानीहरूले हस्तक्षेप गरेको समय थियो । त्यही समय चीन–भियतनामको सिमानामा हिँडिरहेका, अत्यन्त सरल लवाईमा देखिइएका ५०–५५ वर्षिय एक मानिसले च्याङ्काई सेक सेनाको ध्यान तान्छ । यो अन्जान मानिसको बाहिरी स्वरूपका स–साना पक्षहरूले उनी साधारण मानिस त पक्कै होइनन् भन्ने लागेर सोधपुछ गर्छ । “म चोङछीङमा केही अधिकारीहरूसँग भेटका लागि आएको हुँ ।” भन्ने जवाफ आउँछ । च्याङ्काई सेक सेनाका निम्ति अपरिचित ती मानिस नेता हो चि मिन्ह हुनुहुन्थ्यो । सेनालाई हो चि मिन्ह को हुनुहुन्छ भन्ने थाहा थिएन तर भियतनामका एक देशभक्त हुनुहुन्छ भन्ने थाहा थियो । चोङछिङमा महत्वपूर्ण चिनियाँ अधिकारीहरू भेट्न हिँडेको भन्ने वाक्य उहाँ समातिनका लागि काफि थियो, त्यो समय उहाँलाई एक जासुसको आरोपमा जेलमा राखियो । उहाँलाई सन् १९४२ अगस्त २९ का दिन क्वाङ्सी जेलमा राखियो । च्याङ्काई सेकले हो चि मिन्हलाई सन् १९४३ सेप्टेम्बर १० सम्म करिब १४ महिना आफ्नो बन्दी बनायो । त्यही समयावधिमा जेलभित्र का. होका कविताहरू जन्मिए, जेल जीवन अनुभवका कविताहरू । परम्परागत चिनियाँ भाषामा लिखित ती कविताहरूको सङ्ग्रह नै ‘जेल डायरी’ हो । कविताहरूले जेलभित्रको सङ्घर्ष मात्र बोल्दैन नेता होको व्यक्तित्व, स्वभाव र एउटा असल मानिसलाई पनि चिनाउँछ । जेलभित्र सुरुमा आफ्नो भाषामा कविताहरू लेख्दा उहाँमाथि गार्डले शङ्का गरेपछि उहाँले चिनियाँ भाषामा लेख्न थाल्नुभएको हो । प्राकृतिक सुन्दरताको वर्णनसँगै जेलभित्रको अवस्था सतहमा ल्याउने कविताहरू सरस छन् ।
जेल डायरीले का. होलाई एक कविको रूपमा चिनाउँछ । कविताहरूमा कतै व्यङ्ग्य छ त कतै आशाका किरणहरू, कतै यातनाको पराकाष्ठा छ त कतै सङ्घर्ष र क्रान्तिप्रतिको दृढविश्वास, कतै अन्याय र अत्याचारको विरुद्ध कलमको चर्र्को स्वर । चिनियाँ भाषाका कविताहरूलाई सुरुमा भियतनामी भाषामा भाषान्तरण गरी सन् १९६० मै प्रकाशित गरिएको थियो । त्यसपछि अङ्ग्रेजी, फ्रान्सेली, रूसी, जर्मनी, हङ्गेरियाली, हिन्दी र अन्य थुप्रै भाषामा प्रकाशित गरिएको छ । ‘जेल डायरी’ विश्वमै सबैभन्दा बढी भाषामा छापिएको र पढ्न रूचाइएको पुस्तकमध्ये एक हो ।
डायरीको सुरुआतमै उहाँ लेख्नुहुन्छ –“कविता म त्यति लेख्ने गर्दिनँ तर यो वनभित्र म अरू के गर्न सक्छु ? यी लामा दिनहरू कविता कोरेर काट्छु । स्वतन्त्रताको पर्खाइमा कविताले सघाउला !
उहाँलाई सुरुमा जियाङ्सी जिल्ला जेलमा लगियो त्यहाँबाट कुनै कारणविना नानिङ सारियो । त्यहाँबाट पनि क्वेलिन पठाइयो । त्यतिले नपुगेर फेरि लिउसऊ जेलमा हालियो । एक ठाउँबाट अर्को ठाउँमा सार्दा उहाँलाई हात खुट्टा बाँधेर लगिन्थ्यो । खुला आकाशमा सेता बादलहरू काला बादल लखेट्दै गरेको बेला पृथ्वीमा एउटा स्वतन्त्र मानिस कैदी बन्न परेको यथार्थ कावितामा छ । जीवनको बाटो कठिन छ – यो उहाँको अनुभव हो । पहाडहरू उक्लँदा गा¥हो हुन्थ्यो तर त्यहाँ बाघहरूले पनि भेट्टाउन सकेन । समथर जमिनमा मानिसहरूको माझमा आइपुग्दा, म जेलभित्र हुत्याइएँ भनी लेख्नुभएको छ ।
जेलभित्रको खाना रातो खैरो एक कचौरा भात मात्र दिइन्थ्यो । न तरकारी न नुन न कुनै सूप । हरेक रात भोक निल्नु बाध्यता थियो । जेलको खानाभन्दा बरु पेटभरी पानी र प्रकाश खान पाए बाँचिन्थ्यो कि भन्ने लाग्थ्यो । जेलभित्र चेस खेल्न सिक्नुभयो । रातमा जुन उहाँको साथी बन्यो । हात खुट्टा बाँधिएपनि आँखा, कान खुला थिए । चराचुरूङ्गीको आवाजले उहाँलाई ऊर्जा मिल्थ्यो । फोहोरको डङ्गुर नजिक, शौचालयको छेवैमा सुत्ने कसरी ? उहाँ आफ्नो एउटा खुट्टा सिक्रीले बाँधिएकोमा खुसी व्यक्त गर्नुहुन्थ्यो । ताकि फोहोरको डङ्गुर नजिक लडेर नसुति घाम कुर्न सकियोस् । जेलबाट जेलसम्म सार्दा १३ वटा जिल्लाहरू लगियो । उहाँले अप्ठ्यारा र कठिनाइका पहाडहरू छिचोल्नुभयो । आफूलाई सम्हाल्नुभयो –“गृष्मको चिसो र अन्धकारविना वसन्तको न्यानो र शोभायमान समय सम्भव छैन ।”
आफ्नो दाँत झर्दा फुरेको कविता व्यङ्ग्यात्मक छ । बाटोमा लेखिएका कवितामा वसन्त गाइएको छ । चराहरूको गीत, पूmलहरूको सुगन्ध छ । हातहरू बाँधिए पनि प्रकृतिसँगको अन्तरक्रियाले उहाँलाई एक्लो अनुभूतिबाट टाढा राख्यो । नानिङको हिँडाइमा गार्डले काँधमा बङ्गुर बोकेको थियो र उहाँलाई क्रुरतापूर्वक घिसार्दै लगिएको थियो । एकजना मानिसलाई बङ्गुरलाई भन्दा तल्लोस्तरको व्यवहार गरिएको थियो । स्वतन्त्रता र मुक्तिविना मानिसले पशुभन्दा तल्लोस्तरको जीवन भोग्नुपर्ने यथार्थ तस्बिर कवितामा छ । संसारमा दुःख र असुविधाका लाखौँ कारण छन् । स्वतन्त्रता खोसिनुभन्दा ठूलो कारण अरू हुन सक्दैन भनी लेख्नुहुन्छ का. हो । नानिङ जेलमा खाना भनेकै माड थियो । पेटलाई बिसन्चो बनाउने माड । जेलमा एक जुवाडे मर्छ, मृत्युको कारण भोक थियो ।
जेलभित्रका अनिँदा रातहरूको कथा छ कविताहरूमा । विदेशी भूमिमा कैदी हुनुपर्दाको अत्यासलाग्दो समयको बेदना पनि छ । तर, सत्य के हो भने लाख कठिनाइहरूले मान्छेलाई चम्किलो हिरा बनाउँछ । एउटा बिहान जरूर आउनेछ र जेलभित्र घामका किरणले प्रवेश पाउनेछ । कुहिरो हट्नेछ । आकाशलाई महसुस गरी जीवनको अनुभूति प्राप्त हुनेछ । कैदीहरूको मुहारमा साँच्चैको मुस्कान आउनेछ भन्ने विश्वास पनि कवितामा छ ।
१४ नोभेम्बरमा नानिङ प्रेस रिपोर्ट पढेर भियतनामको विषयमा जानकारी प्राप्त हुन्छ । “मेरो देशमा जताततै दासताभन्दा मृत्यु स्वीकार्य हुन्छ । मेरो देशमा फेरि सङ्घर्षको झन्डा गौरवपूर्वक फहराइएको छ । यस्तो समयमा एक बन्दी भइरहनु कति दुःखद छ । युद्ध र सङ्घर्षको मैदानमा हुनुपर्ने म कैदी बन्नुपर्ने कति दुःखद छ । म चाहन्छु, चाँडै स्वतन्त्र होऊँ, यो बन्दीगृहबाट ।” उहाँले जीवनका कोसेढुङ्गाहरूलाई कवितामा सम्झनुभएको छ ।
सधँैभरि क्रुर जेलर मात्रै थिएनन् जेलभित्र । जेलर प्रमुख मिस्टर मो जस्ता मान्छेहरू पनि थिए जसले बन्दीहरूलाई राम्रो खाना दिन आफ्नै पैसा खर्चन्थे । राम्रो निद्रा दिन ओछ्यानहरू जुटाइदिन्थे । मिस्टर मोहरूलाई का. होले सम्झिनुभएको छ ।
जेलभित्र बस्न नसकेर भाग्नेहरू पनि थिए । भाग्न असफल हुनेले ‘रामधुलाइर्’ भेट्थ्यो । जेलभित्र ४ महिना बिताइसक्दा का. हो समीक्षा गर्नुहुन्छ –“मैले चार महिनामा अभाव बाँचेँ, मिठो निद्रा कहिल्यै परेन । लगाएको लुगा फेर्न पाइनँ, नुहाउनु त परको कुरा । एउटा दाँत झ¥यो, कपाल खौरिएँ । खटिरा र कन्याइएका दागले शरीर ढाक्यो । म अत्यन्त भोकाएको कालो र पातलो राक्षस जस्तो देखिएँ । भौतिक रूपले मलाई सारै गा¥हो थियो तर मेरो भावना अलिकति पनि कमजोर बनेन । म एक इन्च पनि डगमगाइनँ ।”
“स्वतन्त्रताविना मानिसको जीवन नर्क बन्छ ।” उहाँले जेलभित्रको अनुभवलाई एक वाक्यमा लेख्नुभयो । जाडो सकियो वर्षात्को समय आयो त्यसले पनि बिदा माग्यो । तर, कैदीहरूलाई मौसम बदलिनुको के अर्थ ? एकजना कैदीमात्र स्वतन्त्रता र मुक्तिको सपना देख्छ । उहाँ लेख्नुहुन्छ – “गत वर्षको गृष्ममा म स्वतन्त्र भएको थिएँ । यो गृष्ममा मलाई जेलभित्र कैदी बनाइएको छ ।” जेलको आँगनमा पनि हिँड्ने छुट कहाँ थियो । एक समय हिँड्न दिइयो, गेटमा राइफल बोकेका सिपाहीहरू तैनाथ थिए । खुला आकाश देख्न पाइएको थियो । जुन देख्न पाइएको थियो त्यही समय उहाँ लेख्नुहुन्छ – “मेरो मन कोसौँ टाढाको मेरो देशमा यात्रा गर्छ । दुःखका बादलहरूले मेरा सपनाहरूलाई छोप्न खोजिरहन्छन् । एकजना सरल मान्छे वर्षौँदेखि विदेशी जन्जिरभित्र छ । जब आँखाबाट आँसु झर्न खोज्छ । म कविता लेख्न बस्छु ।”
एकदिन साँच्चैको सफा मौसम आउँछ । यो त प्रकृतिको नियम नै हो । पूmलहरू फुलेको, हावा सुगन्ध लिई बहेको, आकाश खुलेको, चराहरूले गीत गाएको सुन्दर मौसम आएको थियो । मान्छेको मुटु खुशीले प्रफुल्लित बनेको र विश्वलाई नै खुशी बनाएको मौसम । दुःखपछि सुख कठिनाइपछि सफलता अवश्यम्भावी हो, प्रकृतिको नियम हो । आखिर का. हो सेप्टेम्बर १०, १९४३ का दिन जेलबाट रिहा हुनुभयो । ‘नारकीय’ जीवनबाट उन्मुक्ति मिल्यो ।
लामो समय भोक सहेर, अनिँदो बसेर, जाडो सहेर, ज्वरो र खोकीको सामना गरेर, ५० औँ किलोमिटर हिँडेर पनि ओठमा एक मिठो मुस्कान लिएर १४ महिना का. हो जेलभित्र बस्नुभयो । जीवनप्रतिको विश्वास, असत्यको हार र सत्यको विजय हुने विश्वासले उहाँलाई सम्पूर्ण कठिन समयमा ऊर्जा दियो । तत्कालीन समयमा चिनियाँ बन्दीगृह या जेलभित्रको नारकीय अवस्था, दुःख, भ्रष्टाचार, रोगविरुद्ध कविताले विद्रोह बोलेको छ । एकजना देशभक्तलाई डाँका, लुटेरा, ड्रग्स माफिया, अफिमको दुव्र्यसनी, चोरहरूको बीचमा राखिएको थियो । यद्यपि, त्यसलाई जीवन अनुभवको रूपमा कवितामार्पmत लेख्नुभएको छ ।
युद्धको समयमा बन्दी हुनुपर्दा योद्धालाई कसरी दुःख हुन्छ ? त्यसमाथि जेलरहरूको अपमान सहिनसक्नु थियो । चीनमा च्याङ्काई सेकहरूको बर्बरता अनुभव गर्नुभएका का. हो का कविताहरूमा अनुभव र भोगाइ मात्रै छैन । त्यो कालखण्डको शब्दचित्र छ, इतिहास छ । लामा लामा आत्मवृत्तान्त र जीवनीहरूले भन्दा छोटोमा नेता हो चिनाउने कविता सङ्ग्रह अर्थात् डायरी हो – ‘जेल डायरी’ । का. हो को सरल, शालिन, बौद्धिक र क्रान्तिकारी व्यक्तित्व कविताहरूमा भेट्न सकिन्छ ।
निकै पठनीय ‘जेल डायरी’ चीनमा क्रान्तिपूर्व च्याङ्काई सेकको बर्बरता अनुभव गर्न सहयोगी छ । नेता हो चिन्न मद्दत गर्छ । साथै, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको सम्बन्ध –भियतनाम–चीन) बारे बुभ्mन सघाउँछ । त्यसकारण, ‘जेल डायरी’ पठनीय तथा सङ्ग्रहणीय छ ।
 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *