भर्खरै :

प्रजातन्त्रको मुखुण्डो लगाएको प्रभुत्ववाद

काठमाडौँ, १७ मङ्सिर । शीतयुद्ध समाप्त भएको तीस वर्षपछि संसार फेरि एकपटक विभाजनको सङ्घारमा पुगेको छ । तथाकथित ‘प्रजातन्त्र सम्मेलन’ को नाममा संरा अमेरिकाले ‘हामी’ र ‘उनीहरू’ बीच रेखा खिचेको छ ।
अमेरिकाले मानवजातिको साझा मूल्य प्रवद्र्धन गर्ने लक्ष्यले सो बैठक आयोजना गरेको दाबी ग¥यो । साँच्चै होला र ? एक क्षण हेरौँ त, त्यो बैठक कसरी आयोजना गरिएको छ र त्यहाँ खास के छलफल गर्ने योजना छ ? कोही पनि साधारण दिमाग भएको मान्छेले त्यसमा चालबाजी देख्नसक्छ । त्यो सम्मेलनसँग प्रजातन्त्र सुधार्नुसँग कुनै लिनुदिनु छैन । बरू संसारमा अमेरिकाको प्रभुत्व कायम राख्न नै त्यसको आयोजना गरिएको हो ।
अमेरिकी शैली पछ्याउनुको सट्टा आफ्नै प्रजातान्त्रिक अभ्यास पछ्याउँदै गरेका चीन र रूसजस्ता देशहरू अमेरिकाले आयोजना गरेको त्यो सम्मेलनमा नबोलाइनु कुनै आश्चर्यको कुरा होइन । आफ्नो स्वार्थ पूरा गर्न प्रजातन्त्रलाई औजारको रूपमा प्रयोग गर्ने संरा अमेरिकाको भूराजनीतिक लक्ष्य यो सम्मेलनको आयोजनामा प्रतिविम्बित भएको छ । अझ प्रस्ट शब्दमा भन्नुपर्दा, संरा अमेरिकाले प्रजातन्त्र रक्षाको नाममा आफ्नो विरोधमा उभिने जो कोहीलाई दबाउन खोजिरहेको छ ।
सिङ्गो मानव जातिको एउटै भविष्य बोकेको पृथ्वीमा यस्तो शून्य उपलब्धि हुने सम्मेलनको आयोजनाले केही गर्न सक्दैन । बरू संसारमा विभाजनको मात्र बिजारोपण गर्दछ । असमावेशी गुट बनाउनु र वैचारिक द्वन्द्वलाई मलजल गरेर संरा अमेरिकाले आफ्नो प्रभुत्ववादी मुद्दा सफल बनाउन मानव जातिको साझा मूल्यको दुरूपयोग गरिरहेको छ ।
रूसी विदेशमन्त्रालयका प्रवक्ता मारिया जखारोभाले पश्चिमा शक्तिबाट रणनीतिक स्वाधीनता कायम राख्न खोजिरहेका र न्यायपूर्ण विश्व व्यवस्थाको सार्वभौम दृष्टिकोण भएका देशहरूसँग आमनेसामने गर्ने उद्देश्यसहित अलग क्लब बनाउन खोजेको भन्दै संरा अमेरिकाको आलोचना गरेकी छिन् ।
अमेरिकाको सो सम्मेलन भूराजनीतिक स्वार्थसहित आयोजना गरिएको अर्को आधार भनेको सो सम्मेलनमा थाइवानलाई आमन्त्रण गर्नु हो । चीनविरूद्ध संरा अमेरिकाले ‘थाइवान कार्ड’ प्रयोग गर्नु कुनै नवीन कुरा होइन । संरा अमेरिकाले पक्कै पनि यो सुनौलो अवसरलाई फेरि पनि उही पुरानो ‘थाइवान धूर्तता’ प्रयोग गर्न गुमाउने छैन ।
तथापि, हालै ब्रुकिङ्स इन्स्टिच्युसनले प्रकाशित गरेको लेखमा सो सम्मेलनको भूराजनीतिक महत्वाकाङ्क्षा ‘चीनको उदय र रूसी कब्जाको निरन्तरता’ रोक्न विश्वव्यापी मोर्चाको भेला भन्नु भने ठीक होइन ।
संसारका विभिन्न भागमा विविध प्रजातान्त्रिक अभ्यासबीच वैचारिक आदानप्रदान र हरेक देशको सीमाभित्र प्रजातन्त्र कसरी सुधार गर्ने विषयमा कुराकानी गर्नुको सट्टा आगामी सम्मेलनले तथाकथित ‘अधिनायकवाद’ को प्रतिरोधमा केन्द्रित हुनेछ । संरा अमेरिकी सरकारले घोषणा गरेका तीन प्रमुख विषयमध्ये यो पनि एउटा पर्दछ ।
सम्मेलनका लागि घोषित अन्य दुई विषय ‘भ्रष्टाचारको विरोध र मानवअधिकारको प्रवद्र्धन’ हुन् । ‘भ्रष्टाचार रोकथाम’ र ‘मानवअधिकार रक्षा’ मा संरा अमेरिकाको खराब अवस्थाको कारण महाशक्ति अमेरिकाले आफ्नो शैलीको प्रजातान्त्रिक व्यवस्थामा अन्तरनिहीत कमजोरीको विषयमा सम्मेलनमा छलफल गर्नेछैन । तर, उसले पक्कै पनि अरूमाथि औँला उठाउने अवसरको रूपमा सम्मेलनको प्रयोग गर्नेछ । विशेषतः संसारभर फैलिएको आफ्नो प्रभुत्वलाई चुनौती दिनहरूमाथि दोषको भारी बिसाउन उसले यो सम्मेलनको प्रयोग गर्नेछ ।
वास्तवमा तथाकथित ‘प्रजातन्त्र सम्मेलन’ प्रजातन्त्रलाई आफ्नो भूराजनीतिक लक्ष्य पूरा गर्ने औजारको रूपमा प्रयोग गर्ने अमेरिकाको लामो इतिहासमा नयाँ थप पृष्ठ मात्र हो । संरा अमेरिकाले आफैलाई प्रजातन्त्रको प्रकाशस्तम्भ दाबी गर्छ । तर, वास्तवमा उसले संसारभर तल र माथिको विभेद सिर्जना गरेको छ । प्रजातन्त्रको परिभाषामा उसले आफ्नो एकाधिकार कायम गर्न चाहेको छ । अनि संसारको सबभन्दा माथिल्लो उचाइमा आफ्नो स्थान कायम राख्न भरमग्दुर प्रयास गरिरहेको छ ।
त्यही कारण संरा अमेरिकाले कुनै पनि देशलाई आफ्नो खतरा देख्नेबित्तिकै त्यहाँको सरकार बदल्न खोज्छ । त्यसरी सरकार बद्ल्न उसले प्रजातन्त्रकै नाममा गर्नखोज्छ । संसारका धेरै देश र क्षेत्रमा यस्तै भएको छ । सन् २०१० को दसकमा मध्यपूर्व र उत्तर अफ्रिकामा अमेरिकाले प्रजातन्त्र रक्षाकै नाममा ठूलो आकारमा अस्थिरता फैलाएको थियो ।
यी सबै तथ्य र विगत संरा अमेरिकाले फहराइरहेको ‘प्रजातन्त्र’ को झन्डाभित्र उसको शक्ति राजनीति र अरूमाथि आफ्नो सर्वोच्चता हावी राख्ने चाहना लुकेको जीवन्त प्रमाण हो । यस्ता गतिविधि शान्ति र समताप्रति मानव विकासको प्रवाहविपरीत हो ।
संरा अमेरिका आफ्नो प्रभुत्ववादी भ्रमबाट मुक्त हुन जरूरी छ । प्रजातन्त्रको मुखुण्डो लगाएको प्रभुत्ववाद संसारको लागि विध्वंसात्मक त छ नै, अमेरिकाकै लागि पनि विषालु छ । यदि संसारको एक मात्र महाशक्तिले प्रजातन्त्र प्रवद्र्धन गर्न चाहेको हो भने उसले सबभन्दा पहिला आफ्नो अनुहार ऐना हेर्न जरूरी छ । अनि आफ्नै घरको भद्रगोल र अस्तव्यस्त प्रजातन्त्र सम्हाल्न जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *