भर्खरै :

चौथो औद्योगिक क्रान्ति र शिक्षा

हामी अहिले चौथो औद्योगिक क्रान्तिको सुरुआती चरणमा छौँ । कृत्रिम बौद्धिकता, रोवोटिक्स, इन्टरनेट अफ थिङ्स, क्लाउड कम्युटिङ, क्वान्टम कम्प्युटिङ, 3D प्रिन्टिङ, अगुमेन्टेट र भर्चुअल रियालिटीलगायत यसका मेरुदण्ड मानिन्छन् । प्रायः अर्थतन्त्र, उद्योग, व्यापार, व्यवसाय, समाज, शिक्षा, स्वास्थ्यलगायत सबै क्षेत्रमा यसको प्रभाव अभूतपूर्व रहने अनुमान गरिँदैछ ।
चौथो औद्योगिक क्रान्तिमा शिक्षा प्रणाली कस्तो हुनु आवश्यक छ भन्ने विषयमा विभिन्न कोणबाट बहस र छलफलहरू संसारभर चल्दै छ । अचेल शिक्षा क्षेत्रमा एजुकेसन फोर डट जेरो (Education 4.0) चल्तीको शब्द भएको छ । सम्भवतः आइ इ विजिनेस स्कूल म्याड्रिडका प्रोफेसर पिटर फिस्क (Peter Fisk) ले २०१७ मा चौथो औद्योगिक क्रान्तिको आवश्यकता परिपूर्तिका लागि भविष्यको शिक्षाका रूपमा (Education 4.0) बारे पहिलोपटक व्याख्या गरेको लाग्छ । प्रोफेसर फिस्कको भनाइमा यो सिकाइको नयाँ दृष्टिकोण हो । उनका अनुसार भविष्यको शिक्षा अर्थात् (Education 4.0) का नौ वटा प्रवृत्तिहरू (Trends) छन् । फिस्कको अवधारणामा १. विद्यार्थीले फरक समय र स्थानबाट सिकाइका लागि बढीभन्दा बढी अवसर प्राप्त हुने, २. विद्यार्थीले उसको व्यक्तिगत क्षमता र गुणका आधारमा उपयुक्त अध्ययन सामग्री सहितको सिकाइ गर्ने, ३. विद्यार्थीले आफ्नो चाहनाअनुरूप के पढ्ने र कस्तो अध्ययन सामग्री छनौट गर्ने आफैले निर्धारण गर्न सक्ने, ४. प्रोजेक्टवेस्ड सिकाइ र काम हुने, ५. विद्यार्थीको बढीभन्दा बढी इन्टनसीप, प्रयोगात्मक र फिल्डवर्क सिकाइ पाठ्यक्रममा समावेश हुने, ६. हरेक तथ्याङ्कको व्याख्या, विश्लेषण भविष्यको प्रवृत्तिको भविष्यवाणी कम्प्युटरले नै गर्ने भएपछि त्यस्ता डाटालाई मानिसले व्याख्या गर्ने महत्वपूर्ण पाटो पाठ्यक्रममा समावेश हुने, ७. विद्यार्थीको मूल्याङ्कन फरक ढङ्गबाट हुने, हालको परीक्षा प्रणाली पूर्णतः परिवर्तित स्वरूपमा रहने, ८. पाठ्यक्रम निर्माण, परिमार्जन र अद्यावधिक गर्न धेरैभन्दा धेरै विद्यार्थीको आलोचनात्मक विचार संलग्न गरिने र ९. विद्यार्थीले आफ्नो सिकाइ स्वतन्त्ररूपमा गर्ने, उनीहरूको सिकाइ प्रक्रियामा शिक्षाको भूमिका एक सल्लाहकार र सहजकर्ताको रूपमा मात्र रहने छ भन्ने उल्लेख गरेका छन् ।
भविष्यको शिक्षा कस्तो होला ? भविष्यमा स्कूल, कलेज र विश्वविद्यालय कस्तो देखिन्छ होला ? भन्ने प्रश्नको उत्तर पिटर फिस्कको अवधारणाअनुरूप ठ्याक्कै नहुन पनि सक्छ । तर, एउटा कुरा के निश्चित हो भने भविष्यको शिक्षा उनको परिकल्पनाको वरपर पक्कै घुम्ने छ । मूलभूतरूपमा धेरैको निष्कर्ष के रह्यो भने हालको हाम्रो शिक्षा प्रणालीले आफ्नो सान्दर्भिकता गुमाउँदै गएको छ । यसले चौथो औद्योगिक क्रान्ति सुहाउँदो र २१ औँ शताब्दीका नयाँ चुनौतीहरू समाधान गर्न सक्ने पुस्ता निर्माण गर्न असम्भव भएकाले त्यसको आमूल परिमार्जन, परिष्कार र अद्यावधिक गर्नु आवश्यक छ ।
आजको संसारलाई अस्थिरता, अनिश्चितता, जटिलता र अस्पष्टताको संसारका रूपमा व्याख्या गरिन्छ । वर्तमान समयमा हामीले अस्थिरता, अनिश्चितता, जटिलता र स्पष्टताका बीचमा आफ्नो जीवन बाँच्न सिक्नुपर्ने हुन्छ । कोभिड १९ को सङ्कट र यसको भोगाइले बाँच्नका लागि र नयाँ सङ्कट र चुनौतीहरूसँग सामना गर्न सक्ने पुस्ता निर्माण गर्न कस्तो शिक्षा प्रणाली÷व्यवस्था बनाउने भन्ने चिन्तनलाई थप माझ्नुपर्ने थप पाठ सिकाएको छ ।
डेल टेक्नोलोजी र इन्स्टिच्युट फर द फ्युचर (IFTF) को रिपोर्ट अनुसार सन् २०३० को लागि आवश्यक रोजगारीमध्ये ८५ प्रतिशत रोजगारी हालसम्म पनि अनुमान वा अस्तित्वमा देखिएको छैन । त्यसैगरी वल्र्ड इकोनोमिक फोरमको फ्युचर अफ जबको रिपोर्टमा हालका उदीयमान प्रविधिहरूका कारण सन् २०२२ सम्म ७५ मिलियन रोजगारी विस्थापित हुने र १३३ मिलियन थप नयाँ रोजगरी सृजना हुने उल्लेख छ । सँगै हाल किण्डरगार्टेनमा अध्ययनरत ४० प्रतिशत विद्यार्थीले कुनै किसिमको आय उत्पन्न गर्न स्वरोजगार हुनुपर्ने अनुमान गरिएको छ । तसर्थ, हामीले हाम्रा शिक्षण सिकाइलाई विद्यार्थीहरू आफैले रोजगारी सृजना गर्ने तर्फ उन्मुख गराउन आवश्यक छ । उद्यमशिलता विकास हुने वातावरण सृजना गर्नुपर्ने देखिएको छ ।
हाल हामी प्रयोगात्मक र व्यावहारिक शिक्षाभन्दा सैद्धान्तिक विषयवस्तुमा बढी केन्द्रित, सिपभन्दा पनि स्कोरमा जोड गर्ने र अल्वर्ट आइन्स्टाइनले भनेझैँ माछालाई रुख चढ्न दिएर उसको क्षमता परीक्षण गर्ने शिक्षा प्रणालीमा छौँ । फरक व्यक्तिको फरक विशेषता हुने भएकोले एकैखाले सिकाइ विधि सबैका लागि त्यति नै उपयुक्त नहुने पुष्टि भइसकेको परिस्थितिमा छौँ । अतः युनेस्कोका प्रमुख एडुआर्ड भ्यालोरी (Eduard Vallory) ले भन्नुभएझैँ हामीले नयाँ पुस्तालाई यस्तो शिक्षा प्रदान गर्नुप¥यो कि जसले आजको विश्वका चुनौतीहरू सामना गर्न सक्नुको सँगसँगै भोलिको विश्वका लागि पनि तयार बन्न सकून् ।
चौथो औद्योगिक क्रान्तिले स्वाभाविकरूपमा हाम्रो बाँच्ने, पढ्ने, काम गर्ने, व्यापार व्यवसाय गर्ने शैलीमा नै फरक आकार दिन्छ । यस क्रान्तिको समयका जनशक्तिहरूसँग बृहत् र पूरक निपूर्णतः अपरिहार्य हुनेछ । यो समयको शिक्षा नयाँ ज्ञान उत्पादन वा सृजना गर्ने, एकल क्षेत्रको ज्ञाता बनाउनेभन्दा अन्तर विषयगत सिप सिकाइको प्रक्रियालाई बढावा दिने विशेषतासहितको हुने छ । यो युगमा विद्यार्थीबाट हालसम्म अज्ञात रहेका समस्या समाधान गर्ने क्षमता विकास गराउनुपर्ने हुन्छ । त्यसको लागि विद्यमान शिक्षा जसले केही विशिष्ट काम गर्ने जनशक्ति निर्माण गर्ने प्रक्रियाबाट भविष्यमा आइपर्ने जुनसुकै काम गर्न सक्ने सिप र दिमाग भएका नयाँ पुस्ता निर्माणको बाटोमा शिक्षण सिकाइ र पाठ्यक्रम डिजाइन गर्ने दिशातर्फको चिन्तनलाई प्रोत्साहित गर्नु अत्यावश्यक भइसकेको छ । यसको लागि नीति–निर्माता, नियामक संस्था, शिक्षाविद् लगायतका सरोकारवालाहरूले हालको शिक्षाको पुनःसंरचना, मर्मत, प्रतिस्थापन गर्ने वा जोहन डी. काउचले भनेझैँ मर्मत र प्रतिस्थापन गर्न छोडेर रिवाइरिङ्ग (Rewiring) तिर पो जाने हो भन्ने कुरो निक्र्याेल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न ढिलो गर्नुहुन्न ।
नेपालका सन्दर्भमा माथिका चर्चा हाललाई असान्दर्भिक र बौद्धिक विलासिता मात्र पनि हुन सक्छ । नेपालको शिक्षा क्षेत्रको समस्या अन्य मुलुकको दाँजोमा गहिरो छ । नेपालको शिक्षा प्रणालीमा गर्नुपर्ने सुधारका पाटाहरू अनगिन्ती छन् । नेपालमा चौथो औद्योगिक क्रान्तिको समयका लागि आवश्यक शिक्षा प्रणालीको विषयमा नीतिगत तथा प्राज्ञिक छलफल र बहसहरू प्राथमिकतामा पर्न सकेका छैनन् । शिक्षालाई हेर्ने परम्परागत सोच र कार्यशैलीमा कुनै ठूलो परिवर्तनको अनुभूति गर्न सकेका छैनौँ । हुन त परम्परागत सोच, विधि र प्रक्रियाबाट नयाँ समस्या र चुनौतीहरू समाधान गर्न नसक्नु स्वभाविक नै हो । यसका लागि नयाँ, बृहत् दृष्टिकोण र विधिको पहिचान गर्नुपर्ने हुन्छ ।
नेपालको आफ्नै बेथिति हुँदाहुँदै पनि युग सुहाउँदो पाठ्यक्रम निर्माण गर्ने, शिक्षक र प्राध्यापकलाई कसरी तयार पार्ने, कस्तो प्रविधि र विधिको प्रयोगबाट शिक्षण सिकाइ प्रभावकारी बनाउने र नयाँ सन्दर्भमा शिक्षाको उद्देश्य के हुनुपर्छ भन्ने प्रश्नको उत्तर खोजी गर्ने चिन्तनलाई मूर्तरूप दिनतर्फ सरोकारवालाले जोड गर्नुपर्छ । भनिन्छ, शिक्षा भनेको यस्तो छोटो पुल हो जसका माध्यमबाट भएका नभएका व्यक्ति होस् या देश होस् यसले समृद्धि र प्रगति ल्याउने काम गर्छ ।
लेखक ख्वप इन्जिनियरिङ्ग कलेजका उपप्राचार्य हुनुहुन्छ ।
(ख्वप इन्जिनियरिङ्ग कलेजको २० औँ र ख्वप कलेज अफ इन्जिनियरिङ्गको १३ औँ वार्षिकोत्सवको सन्दर्भमा प्रकाशित बुलेटिनबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *