भर्खरै :

सोभियत रुस – केही टिपोट र प्रभाव

(तत्कालीन सोभियत रूसको विषयमा भारतका पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरूले लेख्नुभएका लेखहरूको सङ्कलन ‘सोभियत रसिया, सम रेन्डम स्केच्स एन्ड इम्प्रेसन्स’ को पहिलो अङ्ग्रेजी प्रकाशन सन् १९२९ मा बम्बईको चेतना प्राकाशनले गरेको थियो । त्यसको दोस्रो छपाई सन् १९४९ मा भएको थियो । इन्डियन कल्चर वेभसाइटमा राखिएको सो पुस्तकको ई–प्रतिबाट अनुवाद गरिएको हो । जम्मा १४८ पृष्ठको १६ शीर्षकमा विभाजित यो पुस्तक हरेक शनिबारको ‘मजदुर’ दैनिकमा क्रमशः प्रकाशित गर्दै जानेछौँ । पुस्तकको नेपालीमा अनुवाद सुशिलाले गर्नुभएको हो–सम्पादक)
भूमिका
प्रस्तुत लेखहरू भारतका विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका लेखहरू हुन् । अधिकांश लेखहरू मद्रासबाट प्रकाशित हुने ‘द हिन्दु’ मा प्रकाशित भएका हुन् । एउटा लेख ‘योङ इन्डिया’ को शिक्षा विशेषमा प्रकाशित भएको थियो । अरू केही लेखहरू अन्य विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भएका छन् । यी लेखहरू पुस्तकाकारमा प्रकाशित गर्दा मलाई केही अप्ठ्यारो अनुभव भएको छ । एक जना औसत पाठकलाई भन्दा मलाई प्रकाशित लेखहरूमा के कस्ता कमी छन्, थाहा छ । लेखहरूको सिलसिला कसरी मिलेको छैन र कसरी सतही छन् भन्ने पनि मलाई थाहा छ । मैले भन्नै पर्छ, यीमध्ये केही लेख त रेलमा बस्दै लेखिएका हुन् । मेरो अधिकांश समय विभिन्न काममै व्यतीत हुन्छ । यी लेखहरू त्यस्तै व्यस्त समयतालिकाको बीच–बीचमा लेखिएका हुन् । सोभियत रूसको जटिल र बदलिरहने परिस्थितिबारे लेख्न जो कोहीसँग मनग्य ज्ञान र केही हिम्मत पनि हुनुपर्ने कुरामा म जानकार छु । मसँग त्यस्तो ज्ञान छैन । विद्वान मानिसहरू हिँड्न डराउने बाटोमा दौडिने मेरो बानी भए पनि रूसबारे मैले आधिकारिकरूपमा बोल्न सक्छु भनी म दाबी गर्दिनँ न त त्यहाँ भएका कुनै पनि कुरालाई कोरा सिद्धान्त बनाउन सकिने मेरो विश्वास छ । मलाई सोभियत सङ्घको अवस्थाको अध्ययन रोचक लागेको छ । मलाई प्राप्त कैयौँ जिज्ञासाहरूले अरू धेरै मानिसमा पनि यसबारे सूचनाको भोक भएको थाहा हुन्छ । यी लेखहरूका टुक्राटाक्री मेरो थोरै व्यक्तिगत ज्ञान र केही पुस्तकहरूको अध्ययनको आधारमा लेखेको हुँ । यसमा धेरै कमी कमजोरी र दोहोरिएका कुरा पनि छन् । पक्कै पनि यसले पाठकको त्यो ज्ञानको भोक मेटिने छैन । तर, यी लेखहरूले सोभियत रूसबारे केही प्रश्नको जवाफ दिनुका साथै थप अध्ययन गर्न चाहनेलाई पूर्ण ज्ञानको बाटोमा पक्कै डो¥याउनेछ । त्यही भएर मैले यो सानो पुस्तक पाठकसमक्ष पस्किने हिम्मत गरेको छु ।
सन् १९१७ को डिसेम्बर १७ मा संरा अमेरिकी कङ्ग्रेसमा बोल्दै विड्रो विल्सनले भनेका थिए, “तिमीले मसँगै हावामा बह्दै गरेको मानवताको आवाजलाई समात । ती आवाज दिनानुदिन सुनिने भएको छ, अझ प्रस्ट बन्दै गएको र थप व्यापक बन्दै गएको छ । जुनसुकै ठाउँका मानिसका हृदयबाट त्यही आवाज निस्किरहेको छ ।” आधुनिक रूसको एक जना विद्यार्थीको लागि मानवताका यी आवाज, अपरिचित मानिसहरूका यी चित्कार दिनानुदिन ठूलो र तड्कारो आवाजको रूपमा सुनिँदै छ । हरेक देशबाट ती आवाजको प्रतिध्वनि फर्किरहेको सुनिन्छ । युद्धले अस्तव्यस्त बनेको संसारमा सन् १९१७ मा यी आवाज सुनिएको थियो । राष्ट्रपति विल्सनले यो आवाज सुनेका थिए । आफ्नो प्रसिद्ध चौध बुँदा (अहो ¤ अहिले कहाँ गए ती चौध बुँदा ?) को खाका बनाएर सोभियत सङ्घ र जर्मनीबीच शान्तिको प्रस्ताव गरेका थिए । उनले भनेका थिए, “रूसी प्रतिनिधिहरूले निकै न्यायपूर्ण, निकै बुद्धिमत्तापूर्ण र आधुनिक प्रजातन्त्रको वास्तविक भावनाअनुरूप ट्युटोनिक र टर्कीका नेताहरूबीच भइरहेका सम्मेलनहरू बन्द कोठामा होइन, खुला आकाशमुनि हुनपर्नेमा जोड दिएका छन् । अनि सिङ्गो संसारले सम्मेलनका कुरा सुन्न पाउनुपर्छ । …त्यसका साथै सिद्धान्त र उद्देश्यको व्याख्याको लागि आवाज उठिरहेको छ, जो आजको समस्याग्रस्त संसारमा भरिएको कुनै पनि सक्रिय आवाजभन्दा बढी सनसनीपूर्ण र जबरजस्त छ । त्यो आवाज रूसी जनताको आवाज हो । …उनीहरू हामीलाई हाम्रो चाहना के हुन् र उनीहरूको भन्दा हाम्रा उद्देश्य र भावना कसरी भिन्न छन् भनी सोधिरहेका छन् । मलाई विश्वास छ, संरा अमेरिकी जनता यो विषयमा मैले गहिरो इमानदारी र निर्धक्क भएर उत्तर देओस् भन्ने चाहना राख्छन् । उनीहरूका वर्तमान नेताहरूले विश्वास गर्छन् वा गर्दैनन्, तर स्वतन्त्रता र प्रणालीबद्ध शान्तिप्रति रूसी जनताको व्यग्र आशालाई हामीले सहज बनाउन सक्ने कुनै न कुनै बाटो हुनेमा हाम्रो गहिरो आशा र चाहना छ ।” चौध बुँदाको छैटौँ बुँदा शक्तिको अम्ल परीक्षण थियो ।
“सबै रूसी भूमि खाली गर्नु र रूसलाई प्रभावित बनाउने सबै प्रश्नको समाधान गर्नुले संसारका अरू राष्ट्रहरूसँग उसको सर्वोत्कृष्ट र स्वतन्त्र सहकार्य सुरक्षित गर्नेछ । त्यसले सोभियत रूसलाई आफ्नै स्वतन्त्र राजनीतिक एवम् राष्ट्रिय नीतिको स्वाधीन निक्र्योल गर्ने सम्मानजनक र अवरोधहीन अवसर प्राप्त हुनेछ । सोभियत रूसलाई आफूले नै निर्णय गरेको संस्थाअन्तर्गत स्वतन्त्र राष्ट्रहरूको समाजमा इमानदारीपूर्वक स्वागत गरिने सुनिश्चित हुनेछ । स्वागत मात्र होइन, सोभियत रूसलाई चाहिने सबै कुरा वा उसले इच्छाएको सहायता प्राप्त हुनेछ । रूसलाई उसका भातृ राष्ट्रहरूले आगामी दिनमा गर्ने व्यवहार उनीहरूका हितभन्दा पृथक भएर पनि उसका आवश्यकताप्रति उनीहरूको बुद्धिमत्तापूर्ण र निःस्वार्थी सद्भावको अम्ल परीक्षण हुनेछ ।”
यी निकै हार्दिक शब्द हुन् । तर, लेखक र उनका आफ्नै देश पनि यो मान्यतामा रहन सकेन । इतिहासले हामीलाई यो परीक्षाको नतिजा देखाइसकेको छ । ‘भातृ राष्ट्रहरू’ ले सोभियत रूसप्रति सद्भाव र सद्व्यवहार देखाउनुको सट्टा कसरी नयाँ रूसलाई असजिलो र ध्वस्त बनाउन खोजिरहे भन्ने कुराको इतिहास देखियो ।
युद्ध सकिएको दस वर्षपछि आज हालै गोप्यरूपमा भएको अङ्ग्रेज–फ्रान्स जलसैनिक सन्धिले हामी खुला कूटनीतिबाट कति टाढा भयौँ भन्ने कुरा देखाएको छ । तथापि, रूस बाँच्यो किनभने उसभित्र ‘मानवताको आवाज’ निहीत छ ।
यो पुस्तकमा समावेश लेखहरू प्रकाशित गरिदिएकोमा सबै पत्रपत्रिकाका सम्पादकहरूप्रति यो म आभारी छु । विशेषतः म ‘द हिन्दु’ र ‘योङ इन्डिया’ प्रति कृतज्ञ छु ।
जवाहरलाल नेहरू
अलाहाबाद
अक्टोबर १०, १९२८

रूसप्रतिको आकर्षण
युरोपबाट फर्केयता मलाई बारम्बार रूसबारे प्रश्न सोधिएको छ । मस्कोको निकै छोटो भ्रमणकै आधारमा मलाई रूसबारे झन्डै विशेषज्ञझैँ व्यवहार गरियो । यसक्रममा मलाई धेरै थरीका प्रश्नहरू सोधियो । अधिकांश प्रश्नले मलाई आश्चर्यचकित बनाएको छ । विशेषतः विद्यार्थीहरूका कार्यक्रममा बोलाउँदा उनीहरूका विषयवस्तुको सङ्केत निःसन्देह सोभियत रूस हुने गरेको छ । यो विषयमा मेरो ज्ञान सीमित छ । तथापि, यो जिज्ञासु स्वभाव र हामीसँग धेरै कोणबाट सम्पर्क रहेको तथा इतिहासकै सबभन्दा ठूला प्रयोगमध्येको एउटा प्रयोग भएको देशबारेको यस्तो चासोलाई म स्वागत गर्छु । त्यसकारण, यस्ता प्रश्नको पनि मैले खुशीसाथ उत्तर दिने गरेको छु । सिङ्गो संसार आज सोभियत सङ्घलाई हेरिरहेको छ– कोही भयले त कोही घृणाले हेररहेका छन् । अनि, कोही गहिरो आशा एवम् उसकै बाटो पछ्याउने प्रतिक्षामा पनि बसेका छन् ।
रूसप्रति बेवास्ता गर्न गा¥हो छ । उसका उपलब्धि र उसका असफलताको निष्पक्षरूपमा लेखाजोखा गर्न पनि अझ जटिल छ । सोभियत रूस आज कुनै खराब प्रभाव नपार्ने करेन्ट बहिरहेको तार जस्तै छ । उसको विषयमा लेख्ने जो कोहीले पनि सायदै प्रशंसा वा खेदमा उत्कर्षताको अभिव्यक्ति नदिएको होला । पर्यवेक्षकको दृष्टिकोण र जीवनको दर्शनमा सोभियत रूसलाई हेर्ने कोण निर्भर रहन्छ । त्यस्तै पर्यवेक्षकको पूर्वाग्रह र पूर्वस्थापित मान्यतामा पनि धेरै कुरा भर पर्छ । तर, हेर्ने कोण जस्तोसुकै भए पनि हँसिया र हथौडाको यो अनौठो युरेसियाली देश, विशाल सिंहासनमा मजदुर र किसान बसेको देशप्रतिको आकर्षणमा कुनै सन्देह छैन । ….
भारतको सन्दर्भमा त त्यो आकर्षण अझ गाढा छ । हाम्रा आफ्नो हितको लागि पनि पुरानो व्यवस्थालाई खत्तम गरेर नयाँ संसार अस्तित्वमा ल्याएको विशाल शक्तिबारे बुझ्नुपर्ने बाध्यता सिर्जना गरेको छ । जहाँ मूल्य र मान्यतामा व्यापक परिवर्तन भएको छ । पुराना मापदण्डलाई नयाँले विस्थापित गरेको छ । हामी यथास्थिति मन पराउने मानिसहरू हौँ । परिवर्तनप्रति हामीलाई ठूलो आकर्षण छैन । हामी प्रायशः हाम्रो आजको दुःख भुल्ने प्रयास गर्छौँ । हाम्रो गौरवपूर्ण विगत र अजम्बरी सभ्यताको अमूर्त आकर्षणमै हामी मख्ख पर्छौँ । तर, विगत त मरिसक्यो र बितिसक्यो । हाम्रो अजम्बरी सभ्यताले आजका हाम्रा समस्या समाधान गर्न धेरै ठूलो मद्दत गर्दैन । यदि हामी यी समस्याको समाधान खोज्न चाहन्छौँ भने विचार र खोजको नयाँ पथमा हिँड्न हिम्मत जुटाउनुपर्छ । संसार बदलिरहेको छ । हिजो र अस्तिका सत्यहरू त्यहीरूपमा आज लागु नहुन सक्छ । हामीले जीवनका रेखाहरूलाई हरेक बान्कीमा पछ्याउनुपर्छ । पुरानो मान्यतालाई जस्ताको तस्तै पछ्याउने प्रयासले हामीलाई जीवनको यो बान्कीबाट तलतिर हुत्याउन सक्छ र ठूलो विपद्मा पु¥याउन सक्छ ।
त्यही कारण रूसप्रति हामीले चासो राखेका हौँ किनभने उसले आजको संसारले सामना गरिरहेका ठूला समस्याको समाधान पहिल्याउन हामीलाई मद्दत गर्न सक्छ । रूसप्रति हाम्रो विशेष चासो जाग्नुको कारण उनीहरूको हिजोको अवस्था र आजको अवस्था भारतको अवस्थाभन्दा धेरै फरक पनि छैन । दुवै कृषिमा आधारित ठूला देशहरू हुन् । दुवैले भर्खरै मात्र औद्योगीकरण सुरु गरेका हुन् । दुवैले गरिबी र अशिक्षा सामना गरिरहेका छन् । यदि रूसले कुनै सन्तोषजनक समाधान पहिल्याए, भारतमा त्यो समाधानले सजिलै काम गर्न सक्छ ।
रूसलाई हामी बेवास्ता गर्न सक्दैनौँ किनभने ऊ हाम्रो शक्तिशाली छिमेकी देश हो जो हामीप्रति मित्रवत व्यवहार गर्न सक्छ, हामीसँग सहकार्य गर्न सक्छ वा हामीलाई बिझाउन पनि सक्छ । जे गरे पनि हामीले रूसलाई चिन्नुपर्छ, बुझ्नुपर्छ र त्यही अनुसार हाम्रो नीति बनाउनुपर्छ । रूसबाट युद्धको भय हामीलाई सधैँ थियो । जारको समयमा रूसी साम्राज्यवाद समुद्र तरेर आउन चाहन्थ्यो । जार त गयो । तर, शान्तिपूर्ण र व्यवस्थित विश्वलाई बिथोल्न ‘कम्युनिस्टहरूले कपट गर्न सक्ने’ भनी हामीलाई सजग बनाइएको छ । ह्वाइटहल वा मस्को वा पेट्रोग्राडमा जो सुकै आए पनि अङ्ग्रेज र रूसबीचको पुरानो राजनीतिक दुश्मनी चलिरहन्छ । यो दुश्मनीबारे भारतले कति समय बोल्नुपर्छ वा यसबाट कति पीडित हुनुपर्ने हो ? युद्ध चर्किने हल्ला वा खतराको घण्टी बजिरहेको छ । यो समस्या हामी सबैको लागि तत्काल समाधान खोज्नुपर्ने विषय हो ।
त्यसकारण, भारतले रूसबाट थप सिक्नु उचित छ । रूसप्रति दुराग्रह राख्ने समाचार संस्थाहरूले त्यहाँको सूचना सकेसम्म लुकाउने प्रयास गर्छन् । बरु त्यहाँको विषयमा अतिरञ्जनापूर्ण कुरा मात्र प्रचार गरिएको छ । मलाई बारम्बार सोधिएको प्रश्नमध्ये रूसमा कथित महिलाको राष्ट्रकरणको विषयमा पनि हो ¤ रूसबारे मुलतः समाचार सम्प्रेषण गर्नेहरूमा बेलायतका अखबारका साथै अन्य अखबारका रिगा संवाददाता हुन् । (रिगा लात्भियाको राजधानी सहर हो । सोभियतकालीन समयमा पश्चिमा देशहरूले सोभियत सङ्घविरुद्ध गलत प्रचार गर्न ‘रिगा संवाददाता’ शब्द प्रयोग गर्दथे ।) न्यु योर्कबाट छापिने ‘नेसन’ पत्रिकामा हालै एक जना लेखकले रिगा संवाददाताहरू कसरी तयार गरिन्छन् भन्ने विषयमा एउटा लेख लेखेका थिए । “रिगा संवाददाताको रूपमा मैले पहिलो पटक लन्डनमा काम गरेको थिएँ । एक दिन म कार्यरत पत्रिकाका एक जना सम्पादकले मलाई एउटा प्रभातकालीन पत्रिकामा त्यो दिन छापिएको सम्पादकीयको टुक्रा हातमा थमाए । उनले मलाई त्यसको एउटा अंशलाई मिति सहित रिगाबाट संवाददाताले पठाएको जस्तो गरी समाचारको रूप दिन आग्रह गरे । सम्पादकीय लेखमा तेस्रो अन्तर्राष्ट्रियको खराब गतिविधिबारे विस्तृत चर्चा थियो ।
सम्भवतः मैले त्यतिबेला गज्जबसँग अ¥हाएको काम पूरा गरेँ हुँला ¤ मलाई पछि पनि उस्तै संवेदनशील खालको अरू काम थमाइयो । त्यसपछि त म ‘रिगाको नियमित संवाददाता’ नै बनेँ । किनभने लन्डनबाट छापिने त्यो पत्रिकामा ‘हाम्रो संवाददाताका अनुसार’ भनी लेख्न खुब मन पराइन्थ्यो । त्यसको एक वर्षपछि म पेरिसमा गएँ । त्यहाँ पनि म एउटा पत्रिकामा काम गर्न थालेँ । त्यहीँ पनि म फेरि रिगा संवाददाता बनाइएँ । त्यहाँ मैले दुई वटा भाषामा काम गरेँ । त्यहाँ पुनःलेखनको निम्ति फ्रान्सेली र अङ्ग्रेजी पत्रिकाहरू थिए । मैले पहिला काम गरेको लन्डनको पत्रिकासहित ती सबै पत्रिकामा रिगा संवाददाताको खुब हवाला दिइन्थ्यो । उनीहरूका सबै समाचारमा बोल्शेविक अत्याचार, चेका हत्याकाण्ड, सोभियत आर्थिक कठिनाइ, सोभियत सरकारप्रति जनताको असन्तोष आदि कुरा हुन्थे । लन्डनमा जस्तै पेरिसमा पनि यस्तो काम मेरै थाप्लामा आइलाग्यो । त्यही भीडबाट अर्को अब्बल रिगा संवाददाताको जन्म भयो । अहिले ती दिन सम्झँदा मेरा आँखाअघि कुनै सहरको दृश्य आउने गर्दैन । बरु पत्रिकाको कार्यालय, पुरानो टेबुल, गमको भाँडो, कुर्सी, टाइपराइटर र काम नलाग्ने कागजमात्र आँखासामु घुम्छन् । मेरो लागि रिगा भनेको अखबारको कार्यालय भएको एउटा सहर हो । त्यो आफ्नो काममा व्यस्त हुने मानिसहरू बस्ने सहर हो जो मज्जाले खान्छन्, मज्जाले सुत्छन् अनि आफ्नै गाडी किन्ने सपना देख्छन् । तर, मेरा यी कुरा सुनेरै तपाईँले पुष्टि गर्न सक्नुहुन्न । एक दिन मलाई रिगाको बारेमा जान्न ज्यादै उत्सुकता जाग्यो । त्यही भएर इन्साइक्लोपेडिया ब्रिटानिकामा रिगा खोज्न थालेँ । त्यसमा बाल्टिक सागरको एउटा विकास हुँदै गरेको बन्दरगाह सहरको रूपमा व्याख्या गरिएको थियो । त्यहाँ उत्पादन हुने जौ बेलायतमा निर्यात हुने कुरा उल्लेख थियो । इन्साइक्लोपेडियाको त्यो पुरानो संस्करण थियो । तर, त्यत्तिबेलासम्म जौको कुरालाई अरू धेरै हल्लाले ओझेल पारिसकेको थियो । यदि संसारका सहरहरूले कुनै सम्मान पाउने व्यवस्था हुँदो हो त पश्चिमा देशहरूबाट प्रमुख सम्मान रिगा सहरले पाउने थियो । अङ्ग्रेजीमा चार अक्षरको यो शब्द समाचार लेखिएको स्थानको रूपमा मात्र प्रयोग गरिएको होइन, बरु सोभियतहरूको षड्यन्त्र रोक्ने अवरोधको रूपमा पनि प्रयोगमा थियो । जसले पश्चिम युरोपको पवित्र र अविचल आदर्शवादको रक्षा गरेको थियो । रिगाले सोभियतको कपटपूर्ण प्रचारबाजीबाट संसारलाई जोगाएको थियो । त्यो बलियो किल्लाबाट लाल रेखा विच्छेद हुन्छ ?”

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *