भर्खरै :

संरा अमेरिकामा अझै विकराल बन्दै गएको बन्दुक हिंसा

सिकागो, ५ डिसेम्बर । मिचिगन राज्यको अक्सफोर्ड माध्यमिक विद्यालयमा हालै भएको गोली काण्डले फेरि एक पटक संरा अमेरिकी विद्यालयमा सुरक्षाको विषय चर्चा भइरहेको छ । विडम्बना, अझै पनि संरा अमेरिकामा बन्दुक नियन्त्रणको विधेयक अझै अमेरिकी संसद्मा विचाराधीन छ ।
“संरा अमेरिकाका कुनै पनि विद्यालय सुरक्षित छैनन् । न त कुनै सडक र बजार नै”, सिकागोको सन टाइम्सले बिहीबारको आफ्नो सम्पादकीयमा लेखेको छ । यो वर्षमात्र संरा अमेरिकाभरि २९ वटा विद्यालयमा गोलीकाण्ड भइसकेको पत्रिकाले लेखेको छ ।
सम्पादकीयमा गत मङ्गलबार मिचिगनको अक्सफोर्ड माध्यमिक विद्यालयमा भएको गोलीकाण्डमा चार जना विद्यार्थीको ज्यान जानुका साथै सात जना घाइते भएको उल्लेख गरिएको छ ।
गोली चलाउने पन्ध्र वर्षको इथन क्रमब्लेलाई हत्या र आतङ्कवादी गतिविधिमा लागेको पहिलो तहको अपराधको मुद्दा चलाएको छ ।
“यो वर्ष संरा अमेरिकामा भएको यो ६५१ औँ हुलमा गोली हानिएको घटना हो”, बन्दुकबाट हुने गरेको हिंसाको अभिलेखालयले बताएको छ । बिहीबारसम्ममा त्यो सङ्ख्या ६५२ पुगेको छ”, संरा अमेरिकी समुदायमा बन्दुकबाट हुने हिंसा ‘उत्कर्षमा पुगेको’ भन्दै एउटा अमेरिकी सञ्चारमाध्यमले लेखेको छ ।
बिहीबार न्यु योर्क टाइम्सले बिहीबारको घटनाले ‘लकडाउनअघिको पूर्वाभ्यासले पनि बन्दुकको हिंसा नरोकेको’ कुरा स्मरण गराएको लेखेको छ ।
कोभिड–१९ महामारीभन्दा अघि संरा अमेरिकाका ९५ भन्दा बढी प्रतिशत विद्यालयहरूले आफ्ना विद्यार्थीलाई गोलीकाण्डमा जोगिने तालिम (पूर्वाभ्यास) दिएको थियो । अहिले धेरै अभिभावक र अध्येताहरूले त्यो तालिमको उपादेयतामाथि प्रश्न उठाइरहेका छन् ।
“त्यस्ता तालिम भएको कुनै बलियो प्रमाण नै देखिएन”, इन्स्टिच्युट फर चाइल्ड सक्सेस (बालबालिकाको सफलताको लागि प्रतिष्ठान) ले गरेको अध्ययनको उपाध्यक्ष मेगन कार्लोनको अभिव्यक्ति न्यु योर्क टाइम्सले उद्धृत गरेको छ ।
मिचिगनको हिंसात्मक गोलीकाण्डले पनि बन्दुक नियन्त्रणको विषयमा संरा अमेरिकामा विद्यमान राजनीतिक विभाजनलाई कम गर्न सकेको छैन ।
कनेक्टिकटका डेमोक्रेटिक सिनेटर क्रिस मुर्फीले बिहीबार पृष्ठभूमि परीक्षण प्रवद्र्धन ऐन २०२१ पारित गर्न एकमतको सिफारिसको निम्ति आग्रह गरेका छन् । सो ऐनअनुसार निजी क्षेत्रबीच बन्दुक बेच्न र ओसारप्रसार गर्न पृष्ठभूमि परीक्षणलाई अझ कडाइ गर्नुपर्ने प्रावधान छ । त्यसमा बन्दुक किन्न र ओसारप्रसार गर्न दसदिने तारिखमा बस्नुपर्ने उल्लेख छ ।
तर सिनेटको न्यायिक समितिका प्रमुख रिपब्लिकन नेता चक ग्रासलेले सो मतप्रति विमति राख्दै ‘त्यसो गर्नु कानुनबमोजिम बन्दुकको कारोबार गरिरहेका व्यापारी र गोली तथा बारूदका उत्पादकप्रति अन्याय हुने’ बताए ।
“तथाकथित पृष्ठभूमि परीक्षणले अपराध नरोकिने बरू कानुन पालना गर्ने नागरिकलाई अपराधी बनाउनेछ”, ग्रासलेले भने ।
मुर्फीले रिपब्लिकन पार्टीले ‘हाम्रा केटाकेटीको स्वास्थ्यलाई भन्दा बन्दुक उद्योगको स्वास्थ्य र उनीहरूको नाफाप्रति बढी चिन्ता लिने गरेको’ बताए ।
संरा अमेरिकामा सन् २०२१ मा मात्र १ करोड ८० लाख वटा बन्दुक बिक्री भइरहेको सिकागोको सन टाइम्सले भने । यो वर्षमै ४१ हजारभन्दा बढी मानिस बन्दुक हिंसाबाट मारिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *