भर्खरै :

एमसीसी परियोजना नेपाल उपनिवेश बनाउने गोटी

नेपालको अर्थतन्त्रमा बहुराष्ट्रिय कम्पनी, विदेशी शक्ति राष्ट्र या अन्तर्राष्ट्रिय सङ्घ या निकायले खेलाइरहेसम्म नेपाल पराधीन भइरहनेछ । विदेशी पुँजीलाई बढावा दिने, आफ्नै देशमा कुनै उद्योग, कारखाना नखोली विदेशी कम्पनी भित्र्याएर सामान उत्पादन गराएर देशको अर्थतन्त्र मजबुत हुँदैन । विकास र आर्थिक सहयोगको प्रसङ्ग उठाएर पुँ्जीवादी देशहरू नेपालमा उद्योग तथा कारखाना खोलेर देशका राष्ट्रिय पुँजीपति वर्गलाई धरापमा पार्दै छन् । विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोष, एसियाली विकास बैङ्क र विश्व व्यापार सङ्गठनको चलखेल भइरहेको विश्वमा अब अमेरिकी सैन्य सङ्गठनसित सम्बन्धित निकाय पनि क्रियाशील हुन थालेको देखिन्छ । यी सबै निकायहरू वास्तवमा अमेरिकी आर्थिक हातहतियारहरू हुन् ।
नेपाल विशेषगरी भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादबाट आक्रान्त छ । एकातिर विस्तारवादी भारतले नेपाली भूमि अतिक्रमण गर्दै नेपाललाई साँघुरो बनाउँदै छ भने अर्काेतिर संयुक्त राज्य अमेरिकाले विद्युत् र सडक विकास गर्ने भन्दै राष्ट्रघाती सर्त तेस्र्याएर उपनिवेश बनाउने षड्यन्त्र बुन्दै छ । नेपालको धेरै जमिन गुमिसकेपछि नेपाल–भारत सीमा बन्दोबस्त गरेर नेपालको भूमि कसरी जोगिन्छ ? नेपाल–भारत खुला सीमाको कारण भारतीय अपराधीहरू नेपाल पसिरहेका छन् । नेपालमा हत्या, हिंसा, अपहरण, लुटपाट, तस्करी, महिला बेचबिखन, अवैध मानव अङ्ग प्रत्यारोपन आदि आपराधिक क्रियाकलाप बढ्नुको एउटा कारण खुला सीमा पनि हो । यसकारण, नेपाल–भारत खुला सीमा व्यवस्थापन गर्नुपर्ने हो ।
नेपालमा विदेशी हस्तक्षेप रोकेको छैन । विकासको नाउँमा नेपालको विभिन्न क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू क्रियाशील भएकाले पनि विदेशी हस्तक्षेप बढेको हो । सत्तारुढ दलका नेता, मन्त्री र सांसद बिगार्ने या मनोभावना बिगार्ने काम यिनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले गरिरहेकोमा शङ्का छैन । विदेशी शक्ति राष्ट्रबाट सञ्चालन हुने हुँदा ती निकायका जिम्मेवार पदाधिकारीहरू पैसाको छेलोखेलो गर्छन्, पैसा बाँड्छन् र नेता, मन्त्री र सांसद्हरूको मनोवृत्ति बिगार्छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले गरिरहेको यस्तै हो । पैसा खेलाएर समाजमा घुस्ने, पैसाको प्रलोभनमा देश र जनताको सेवा भुल्ने काम सही होइन । देश र जनताको कुनै वास्ता नगरी पैसामा फसे या बिके भोलि नेपालको अस्मिता गुम्नेछ या नेपाल अरू देशको उपनिवेश भइरहनेछ । यसबारे अहिलेदेखि बुद्धि पु¥याउनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *