भर्खरै :

नेक्राविसङ्घ स्थापना दिवसको अवसरमा विविध गतिविधि

काठमाडौँ, २० मङ्सिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको स्थापना दिवस (मंसिर २२) को अवसरमा विविध रचनात्मक कार्यक्रम गरी मनाइदै छ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ १३ औँ राष्ट्रिय सम्मेलन तयारी समितिको आयोजनामा शनिबार नेक्राविसङ्घका पूर्व र वर्तमान कार्यकर्ताबीच मैत्रीपूर्ण फूटबल प्रतियोगिता भक्तपुर क्याम्पसको खेल मैदानमा सम्पन्न भयो ।
उक्त प्रतियोगिताको नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् नेक्राविसङ्घका पूर्व अध्यक्ष रवीन्द्र ज्याख्वले बल हस्तान्तरण गरी उद्घाटन गर्नुभएको थियो । मैत्रीपूर्ण खेलमा वर्तमान कार्यकर्ता पूर्वकार्यकर्तालाई ३–१ को गोल अन्तरले पराजित गर्दै विजयी भए ।
प्रतियोगितामा अतिथि ज्याख्वले नेक्राविसङ्घको इतिहासबारे प्रकाश पार्दै महाकाली सन्धिजस्तै देशघाती एमसीसी सम्झौता कुनै पनि बेला पारित गराउन सक्ने सम्भावना भएकोले सम्झौता खारेजी गराउन सक्रिय भएर लाग्न निर्देशन दिनुभयो । उक्त प्रतियोगितामा सहभागी खेलाडीहरूलाई प्रमाण–पत्र वितरण गरिएको थियो ।
नेक्राविसङ्घ काठमाडौँ उपत्यका क्याम्पस परिचालन समितिको आयोजनामा मङ्सिर १९ गते भक्तपुर बहुमुखी क्याम्पस र मङ्सिर २० गते त्रि–चन्द्र क्याम्पस र नेपाल ल क्याम्पसमा पुस्तक प्रदर्शनी सम्पन्न भयो । पुस्तक प्रदर्शनी अन्य क्याम्पसहरूमा पनि हुने आयोजकले जानकारी दिएको छ ।
नेक्राविसङ्घ स्थापना दिवसको अवसरमा मङ्सिर २१ गते भक्तपुर बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम र मङ्सिर २२ गते बुधबार भक्तपुरको सिद्धि गणेश तालिम हलमा प्रवचन कार्यक्रम हुनेछ । मङ्सिर २४ गते माध्यमिक तहका विद्यार्थीहरूबीच देश हितविपरीतको एमसीसी सम्झौताबारे विद्युत्तीय प्रस्तुति प्रतियोगिता हुँदै छ । मङ्सिर २४ गते जुम्लामा देश हितविपरीतको एमसीसी सम्झौताविरुद्ध वक्तृत्वकला र कविता प्रतियोगिता हुने नेक्राविसङ्घका संयोजक प्रकाश गुरुङले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *