भर्खरै :

नागाल्यान्डमा उदाङ्गिएको भारतीय सेनाको बहादुरीको झूट

पूर्वोत्तर भारतको नागाल्याण्ड राज्यको मोन जिल्लामा शनिबार भारतीय सेनाले एक दर्जनभन्दा बढी निहत्था कोइला मजदुरहरूको हत्या ग¥यो । सेनाले सुरक्षा कारवाहीका नाममा कोइला खानीबाट घर फर्किरहेका मजदुरहरूको चढेको भ्यानमाथि अन्धाधुन्ध गोलीबारी गरेको थियो । ओटिङ र तिरु गाउँको बीचमा शनिबार साँझ उक्त हत्याकाण्ड भएको बताइएको छ । हत्याकाण्डमा परेकामध्ये सोमबार बिहानसम्ममा १५ जनाको मृत्यु भइसकेको छ भने केही घाइतेको स्वास्थ्य अवस्था गम्भीर रहेकोले मृत्यु हुनेको सङ्ख्या अझै बढ्नसक्ने आशङ्का छ । तर यस हत्याकाण्डले भारतीय सेनाको बहादुरीको झूटलाई फेरि एकपल्ट उदाङ्गो पारिदिएको छ ।
भारतीय सेनाले उक्त घटना उग्रवादीहरू र मजदुरहरूबीच भेद छुट्याउन नसकेर भूलवस भएको दावी गरेको थियो । साथै उक्त घटनाका क्रममा एक सैनिकको पनि मत्यु भएको र कैयौं अन्य घाइते भएको दावी गरेको थियो । दिमापुरस्थित भारतीय सेनाको कोर–३ मुख्यालयले पनि एक विज्ञप्ति जारी गर्दै – नागाल्यान्डको मोन जिल्लाको तिरुमा उग्रवादीहरूको सम्भावित गतिविधिको विश्वसनीय गुप्तचरी जानकारीको आधारमा इलाकामा विशेष अभियान चलाउने योजना बनाइएको थियो । यो घटना र यसपछि जे भयो त्यो अत्यन्त खेदजनक रहेको जनाएको थियो । सेनाको दावीलाई भारतमा पनि कसैले पत्याएका थिएनन् । किनभने निहत्था मजदुरहरूले १ सय मिटर परबाट कुनै किसिमले हमला गरेभने कुरा अविश्वसनीय छ र यसलाई भारतीय सेनाको गल्ती ढाकछोप गर्ने बहानामात्र भएको धेरैले बुझेका छन् । बरू मजदुरहरूमाथि गोली चलाउने वा नचलाउने भन्नेबारे सेनाको टुकडीभित्रै विवाद र भिडन्त भएको अनुमान गरिएको थियो । आइतबार साँझसम्ममा जे आशङ्का पहिले गरिएको थियो त्यही सत्य सावित भयो ।
घटना विवरणअनुसार डिसेम्बर ४ को साँझ भारतीय सेनाको प्रतिआतङ्कककारी युनिट–२१ पारा स्पेसल फोर्सको एक टुकडी ३–४ वटा जीपमा ओटिङतिर गस्तीमा निस्केको थियो । ओटिङ र तिरु गाउँको बीचमा रहेको एक कोइला खानीका ६ जना मजदुरहरू एउटा पिकअप भ्यानमा बसेर घर फर्किरहेका थिए । मजदुरहरू चढेको भ्यान निकै निश्चिन्त रूपमा धिमा गतिमै थियो र कुनै खतरा वा अपराधीहरूको जस्तो हर्कत देखिएको थिएन । मजदुरहरूको भ्यान नजिक आइसकेपछि सेनाले अचानक गोलीबारी ग¥यो । मजदुरहरूले आफूहरू कुनै उग्रवादी नभएको र हतियार नभएको जनाउन दुवै हात माथि उठाएका र त्यही स्थितिमा गोली लागेर ढलेको उनीहरूको लासको स्थितिले देखाउँथ्यो । सेनाले आफ्नो पहिलो गल्तीलाई लुकाउने कोसिस गरेको र त्यो असफल भएपछि पुनः गाउँलेहरूमाथि गोलीबारी गरेको प्रत्यक्षदर्शी स्थानीयको भनाइ छ ।
सत्तारूढ भारतीय जनता पार्टी मोन जिल्लाका प्रमुख न्यावाङ कोन्याक पनि घटनाका पीडितमध्ये एक हुन् । ओटिङ–तिरु सडकमा गाउँलेहरूमाथि सेनाले गोली चलाएको खबर पाएर ओटिङ गाउँबाट उनी दुईजना छिमेकीका साथ निजी जीपमा घटनास्थलतिर लागेका थिए । उनको गाडीको बोनेटमा ठुलो भाजपाको झण्डा बाँधिएको थियो । सेनाले कोन्याकको गाडीमाथि पनि गोली बर्सायो । उनीहरू तीनैजनालाई गोली लाग्यो । उनीहरूमध्ये कोन्याकका एक छिमेकीको अस्पतालमा भोलिपल्ट मृत्यु भयो । सेनाले गाउँले मजदुरहरूलाई मारेको थाहा पाएर गाउँबाट घटनास्थलतिर आउन लागेका सर्वसाधारण गाउँलेहरूको भीडमाथि सेनाले पुनः गोली बर्सायो । त्यस भीडमा गोली लागेकामध्ये ७ जनाको निधन भयो ।
कोन्याकले हर्नबिल टिभीका पत्रकारसित आइतबार कुरा गर्दै भने हामीमाथि पनि सेनाले गोली चलायो किनभने सेनाको टुकडीले आफ्नो गल्तीलाई लुकाउने र मजदुरहरूलाई आतङ्ककारी सावित गर्ने योजनामा लागेको थियो । हामीले एउटा पिकअप भ्यान रगतले लत्पतिएको र खाली भेटाएका थियौँ । हामीले देख्यौं मरिसकेका मजदुरहरूको शरीरबाट लुगा हटाएर उनीहरूलाई खाकी रङ्गको लुगा लगाइदिइदै थियो । त्यसैकारण हामीमाथि गोली बर्सियो । गोली लागिसकेका हामीले गाडी ब्याक गियरमा फर्काएर गाउँ हुँदै अस्पताल पुग्न सकेकोले ज्यान बचेको हो ।
डिसेम्बर ४ को उक्त हत्याकाण्डको विरोधमा भोलिपल्ट मोन जिल्ला सदरमुकाममा आक्रोशपूर्ण विरोध प्रदर्शन भयो । विरोध प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा थप दुईजनाको ज्यान गयो । डिसेम्बर ५ आइतबारको नागल्यान्डका बन्दर विरोध प्रदर्शनमा करिब १ हजार स्थानीय युवाहरू सम्मिलित थिए । स्थानीय एक प्रहरी चौकीमाथि आगजनी गरेपछि त्यसको पछाडि रहेको आसाम राइफल्स (भारतीय सेनाकै एक डिभिजन) को क्याम्पबाट भीडमाथि गोली चलाइएको थियो । जसमा परेर कैयौँ नागरिकहरू घाइते भएका छन् ।
नागाल्याण्ड राज्यका मुख्यमन्त्री नेफ्यु रियोले असिस्टेन्ट डाइरेक्टर जेनरल अफ पुलिस सन्दिप तामगाडेको सुपरीवेक्षणमा पाँच सदस्यीय एक उच्चस्तरीय जाँच टोली गठन गरेका छन् । उक्त टोलीले सोमबार बिहानै मोन जिल्लामा पुगेर अनुसन्धान सुरु गरेको बताइएको छ ।
आफस्पा ऐनको विरोध
नागाल्यान्डमा भारतीय सुरक्षा बलहरूले सर्वसाधारण नागरिकहरूको हत्या गरेको यो पहिलो घटना होइन । भारतीय सुरक्षा बलहरूको गोलीबारीले नागरिकहरूको मृत्यु बढ्दै गएपछि पूर्वोतर भारतबाट सशस्त्र बल (विशेषाधिकार) ऐन –१९५८ (आफस्पा) फिर्ता लिने माग बढ्दै गएको छ । नागाल्यान्ड पिपुल्स अर्गनाइजेशन (एनपीओ)ले शनिबारको हत्याकाण्डको विरोध गर्दै त्यस क्षेत्रमा हुन गइरहेको सबैभन्दा ठुलो पर्यटन कार्यक्रम – ‘हर्नबिल महोत्सव’ मा सहभागिताबाट फिर्ता हुन त्यहाँका ६ वटा जनजाति समुदायसित आग्रह गरेको छ । आफस्पा फिर्ता नभएसम्म सुरक्षाबलको अत्याचार कायम रहने भन्दै त्यसको फिर्ताको लागि सङ्घर्ष गर्नुपर्नेमा जोड दिएको छ ।
‘मणिपुर विमेन गन सर्वाइवर्स नेटवर्क’ र ‘ग्लोबल अलायन्स अफ इन्जििनस् पिपल्स’ की संस्थापक बिनालक्ष्मी नेप्रामले हत्याकाण्डको लागि भारत सरकार मुख्य दोषी भएको बताइन् । त्यस क्षेत्रका नागरिकहरू र स्थानीय गाउँलेहरूको हत्यामा संलग्न कुनै पनि सुरक्षा बलका कसैमाथि पनि कहिल्यै कुनै अभियोग लगाएर कानुनी कारबाही नगरेको र तिनीहरूलाई कुनैखाले जेल सजाय समेत नभएकोले यस्ता ज्यादति र अत्याचार बढ्दै गएको स्पष्ट पारिन् ।
आफस्पा स्वतन्त्र भारतको औपनिवेशिक कानुन भएको बताउँदै नेप्रामले त्यसले सुरक्षाकर्मीहरूलाई पूर्वोत्तरमा ‘जनताको हत्या गर्ने लाइसेन्स दिएको’ बताइन् ।
राष्ट्रिय पुरस्कार विजेता फिल्म निर्माता उत्पल बोरपुजारीले भने – नागरिकहरूलाई झूटो गुप्तचरी जानकारीको आधारमा मारिदिएको भए पनि न मार्नेहरूलाई कुनै कारबाही हुन्छ न झूटो जानकारी दिनेहरूलाई नै । सशस्त्र बल (विशेषाधिकार) ऐन –१९५८ (आफस्पा)ले अपराधीहरूलाई छुट प्रदान गरेको छ । राज्यका मुख्यमन्त्री नेफ्यु रियोले समेत सोमबार आफस्पा फिर्ता गर्न भारतको केन्द्र सरकारसित माग गरेका छन् ।
नागाल्यान्डको ६ वटा जातीय समुदायमध्ये भारतप्रति सबैभन्दा विश्वस्त मानिएको कोन्याक जातिकाहरूको नै हत्याले भारत सरकार र पृथकतावादीहरूबीचको शान्ति वार्तामा असर पार्ने र नागा पक्षले थप कडा माग प्रस्तुत गर्नसक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *