भर्खरै :

संरा अमेरिकामा प्रजातन्त्रको अवस्था– २

(आगामी डिसेम्बर ९ र १० मा संरा अमेरिकी राष्ट्रपति जो बाइडेनको अग्रसरतामा कथित ‘प्रजातन्त्र सम्मेलन’ को आयोजना गरिएको थियो । सो सम्मेलनमा पूर्वाग्रहवश रुस र चीनजस्ता देशहरू आमन्त्रित छैनन् । बरु संरा अमेरिकाले नै स्वीकार्दै आएको चीनको अविभाज्य भाग थाइवानलाई आमन्त्रण गरिएको छ । यसबाट संरा अमेरिकाले प्रजातन्त्रको नाममा संसारलाई अझ विभाजित र विशेषतः चीनको सन्दर्भमा आन्तरिक मामिलामा हस्तक्षेपसमेत गर्न उद्यत्त रहेको देखिएको छ । यसै पृष्ठभूमिमा चीनको विदेश मन्त्रालयले प्रजातन्त्र र अमेरिकी प्रजातन्त्रको अवस्थाबारे आलेख सार्वजनिक गरेको छ । यसमा प्रजातन्त्र, प्रजातन्त्रको नाममा संरा अमेरिकाले गरिरहेका गतिविधि र संरा अमेरिकाकै प्रजातन्त्रको क्षयीकरणबारे विश्लेषण गरिएको छ । प्रस्तुत छ, सो आलेखको नेपाली अनुवाद–सम्पादक)
घ) कमजोरी नै कमजोरी भएको चुनावी कानुनले चुनावको निष्पक्षता र न्यायको उपहास गरेको छ ।
संरा अमेरिकामा राष्ट्रपति चुनावको लागि लामो समयदेखि चुनावी कलेज प्रणाली लागू हुँदै आएको छ । त्यो प्रणालीअन्तर्गत राष्ट्रपति र उपराष्ट्रपति जनताको प्रत्यक्ष मतदानबाट निर्वाचित हुने गर्दैन । अमेरिकी चुनावी कलेजमा ५३८ वटा इलेक्टर्स छन् । चुनावमा जसले २७० वा त्योभन्दा बढी इलेक्टोरल मत प्राप्त गर्ने उम्मेदवारले चुनाव जित्ने गर्छ ।
यो चुनावी प्रणालीभित्रका कमजोरी छर्लङ्ग छ । प्रथमतः राष्ट्रपति निर्वाचित भएका उम्मेदवार देशभरका जनताको मतबाट निर्वाचित नहुनु पनि सक्छ । त्यसमा व्यापक प्रतिनिधित्वको कमी हुन्छ । दोस्रो, हरेक राज्यसँग आफ्नो चुनावी नियम आफैले बनाउन पाउने अधिकार पाउँदा त्यसले अन्योल र अराजकता निम्त्याउन सक्छ । तेस्रो, एकै दलले सबै पद जित्न सक्ने प्रणालीले राज्यहरूबीच असमानता बढाउनुका साथै राजनीतिक दलहरूबीच पनि असमानता फराकिलो हुन्छ । त्यसले गर्दा जनताको धेरै मत खेर जान्छ र जनतालाई मतदानमा भाग लिन निरुत्साहित गर्छ । ‘गाढा निलो’ (पुरै डेमोक्रेटिकले जितेका) र ‘गाढा रातो’ (पुरै रिपलिब्कनले जितेका) राज्यहरूमा मतदातालाई प्रायः बेवास्ता गरिन्छ । कुनै पनि दल जित्ने निश्चित नभएका राज्यहरूलाई मतदाताहरूलाई आफ्नो पक्षमा ल्याउन अत्यधिक जोड दिने गरिन्छ ।
संरा अमेरिकाको इतिहासमा त्यस्ता पाँच राष्ट्रपति निर्वाचन छन् जसमा देशभरका जनताको मतबाट विजयी भएका उम्मेदवार राष्ट्रपति पदमा पराजित भएका छन् । यसको सबभन्दा पछिल्लो उदाहरण सन् २०१६ को निर्वाचन हो । त्यो निर्वाचनमा रिपब्लिकन दलका डोनाल्ड ट्रम्पले ६ करोड २९ लाख ८० हजार मत प्राप्त गरेका थिए । त्यो भनेको कुल मतसङ्ख्याको ४५.९ प्रतिशत हो । उनका प्रतिस्पर्धी हिलारी क्लिन्टनले ६ करोड ५८ लाख ५० हजार मत पाएकी थिइन् । त्यो भनेको कुल मतसङ्ख्याको ४८ प्रतिशत थियो । ट्रम्पले मतमा हारे पनि ३०४ इलेक्ट्रोल मत पाए भने क्लिन्टनले २२७ इलेक्ट्रोल मतमात्र प्राप्त गरिन् । फलतः ट्रम्प राष्ट्रपति पदमा विजयी घोषित गरियो ।
संरा अमेरिकी चुनावी प्रणालीको अर्को कमजोरी भनेको आफ्नो अनुकूलतामा निर्वाचन क्षेत्रको सीमा नै हेरफेर गर्नु (जेरीम्यान्डर) हो । सन् १८१२ मा म्यासाचुसेटका गभर्नर इलब्रिज जेरीले आफ्नो दलको हितमा एउटा विधेयकमा हस्ताक्षर गरे । सो कानुनअनुसार म्यासाचुसेटमा अमिल्दो खालको निर्वाचन क्षेत्र बनाइयो । त्यो निर्वाचन क्षेत्रको आकार ठ्याक्कै छेपारोको आकारसँग मिल्थ्यो । त्यही अभ्यासलाई समयान्तरमा जेरीम्यान्डर भनिन थालियो । जसको अर्थ कुनै निश्चित राजनीतिक दलका उम्मेदवारलाई सकेसम्म बढी स्थानमा जिताउने र त्यहाँ बलियो आधार स्थापना गर्ने हेतुले अमिल्दो किसिमले निर्वाचन क्षेत्रको विभाजन गर्नु हो ।
संरा अमेरिकामा हरेक दस वर्षमा जनगणना हुने गर्छ । जनगणनापछि मानिसहरूको बसाइसराइलाई ध्यानमा राखी हरेक निर्वाचन क्षेत्रमा झन्डै समान जनसङ्ख्या हुनुपर्ने सिद्धान्तको आधारमा निर्वाचन क्षेत्रको सीमा पुनः हेरफेर गर्ने गरिन्छ । संरा अमेरिकी संविधानअनुसार हरेक राज्यको संसदसँग निर्वाचन क्षेत्र हेरफेर गर्ने अधिकार रहन्छ । त्यसकारण, राज्यको संसदमा बहुमत पाएको राजनीतिक दलले निर्वाचनमा आफ्नो अनुकूल हुने गरी निर्वाचन क्षेत्रको पुनःविभाजन गर्नसक्छ । यसरी निर्वाचन क्षेत्र पुनःविभाजन गर्दा प्रमुखतः दुई वटा रणनीति प्रयोग हुने गरेको छ । पहिलो, ‘थुपार्ने’ अर्थात् विपक्षी दलका मतदातालाई निश्चित क्षेत्रमा केन्द्रित गर्ने । त्यसो गर्दा ती निश्चित निर्वाचन क्षेत्रमा मात्र विपक्षीले जित्नेछ । अर्को रणनीति भनेको ‘फुटाउनु’ हो । अर्थात्, विपक्षीहरू बलियो भएको निर्वाचन क्षेत्रलाई फुटाइन्छ र त्यसमा वरपरका निर्वाचन क्षेत्रका भागहरू सामेल गरिन्छ । जसले गर्दा विपक्षी राजनीतिक दलको मत छिन्नभिन्न हुन पुग्छ ।
सन् २०२१ को सेप्टेम्बर २७ मा डेमोक्रेटहरूले जितेको ओरेगन राज्यले पहिलो पटक पूर्णतः पुनः विभाजन गरियो । डेमोक्रेटिक दलको बलियो पकड भएका निर्वाचन क्षेत्रहरू दुईबाट चार पु¥याइयो । अनि मतपरिणाम तलमाथि हुनसक्ने निर्वाचन क्षेत्रको सङ्ख्या दुईबाट एकमा झारियो । त्यसको अर्थ ओरेगन राज्यको संसदीय निर्वाचन क्षेत्रको ८३ प्रतिशत क्षेत्र डेमोक्रेटिक दलको हातमा जान्छ । जब कि ती क्षेत्रमा कुल मतदाताको ५७ प्रतिशतमात्र छन् । अर्कोतिर रिपब्लिकनहरूले जित्दै आएको टेक्सास राज्यमा सन् २०२१ को २५ अक्टोबरमा गरिएको निर्वाचन क्षेत्रको पुनःविभाजनले रिपब्लिकन दलको बाहुल्य भएका निर्वाचन क्षेत्रको सङ्ख्या २२ बाट २४ पु¥याइयो र मतपरिणाम अलमल भएका निर्वाचन क्षेत्रको सङ्ख्या ६ वटाबाट एउटामा झारियो । टेक्सासको संसदमा अहिले जम्मा ५२.१ प्रतिशत मतदाताहरूको प्रतिनिधित्व गर्दै ६५ प्रतिशत स्थान रिपब्लिकनहरूको हातमा छ ।
सन् २०२१ को अगस्टमा युगोभ नामको संस्थाले गरेको मतसर्वेक्षणअनुसार संरा अमेरिका जम्मा १६ प्रतिशत वयस्क नागरिकले मात्र आ–आफ्ना राज्यमा संसदीय निर्वाचन क्षेत्र सही तरिकाबाट नक्साङ्कन गरिएको बताउँछन् । ४४ प्रतिशतले नक्साङ्कन अन्यायपूर्ण भएको मत राखे भने अरू ४० प्रतिशत वयस्कहरूले नक्साङ्कन सही भए नभएको आफूलाई थाहा नभएको मत राखे । संरा अमेरिकी राजनीतिमा ध्रुवीकरण उत्कर्षमा पुग्दै गर्दा दुवै रिपब्लिकन र डेमोक्रेटिक दलहरूले आ–आफ्ना स्वार्थ फत्ते गर्न खोजिरहेका छन् र आफ्नो पहुँचले भ्याएसम्म आफ्नो अनुकूलतामा निर्वाचन क्षेत्रको सीमामा हेरफेर गरिरहेका छन् ।
डेमोक्रेटिक पार्टीको स्वतःस्फुर्त प्रतिनिधि बन्ने सुपरडेलिगेट प्रणाली पनि न्यायपूर्ण निर्वाचनको निम्ति तगारो हो । स्वतःस्फुर्त प्रतिनिधिअन्तर्गत डेमोक्रेटिक दलका प्रमुख नेताहरू, डेमोक्रेटिक दलका केन्द्रीय सदस्य, संसदमा डेमोक्रेटिक दलका सांसद र डेमोक्रेटिक दलका गभर्नरहरू हुन् । उनीहरू स्वतःस्फुर्त पार्टी महाधिवेशनमा प्रतिनिधि हुन्छन् । सुपरडेलिगेट्सहरूले कोही पनि उम्मेदवारलाई समर्थन गर्नसक्छ अथवा पार्टी नेतृत्वले चाहेअनुसारको उम्मेदवारलाई चुन्न पाउँछन् । तर, उनीहरूले सर्वसाधारण जनताका भावनाको पर्वाह गर्नुपर्ने कुनै आवश्यकता रहँदैन ।
दिवङ्गत राजनीतिक विश्लेषक मार्क प्लोटकिनले ‘द हिल’ मा ‘डेमोक्रेटिक दलमा सुपरडेलिगेट्स प्रणाली अप्रजातान्त्रिक छ’ भनी लेखेका छन् । उनले ‘यो कुलीन अभ्यास हटाउने प्रक्रिया तत्काल थाल्नुपर्ने’ मत राखेका छन् ।
ङ) काम नलाग्ने प्रजातन्त्रले विश्वासको सङ्कट निम्त्याउँछ
अमेरिकी शैलीको प्रजातन्त्र भनेको कुनै हलिउड चलचित्रको निकै सूक्ष्मरूपमा बनाइएको दृश्यजस्तै हो जहाँ केही धनीमानी पात्रहरूले जनतासामु सार्वजनिकरूपमा प्रतिबद्धता व्यक्त गर्छन् । तर, खासमा पर्दापछाडि उनीहरू आफ्नै नाफा नोक्सानको हिसाब किताबमा लागेका हुन्छन् । राजनीतिक झगडा, पैसाको राजनीतिक र विशेषाधिकारको शासन (भिटोक्रेसी) ले सर्वसाधारण जनताले चाहेको जस्तो गुणस्तरीय सुशासन दिन वस्तुतः असम्भव बनाइदिएको हुन्छ । अमेरिकी जनता संरा अमेरिकी राजनीतिबाट क्रमशः भ्रममुक्त बन्दै छन् । उनीहरू अमेरिकी शैलीको प्रजातन्त्रबाट निराश छन् ।
सन् २०२० को अक्टोबरमा भएको गलअप नामको संस्थाले गरेको सर्वेक्षणअनुसार त्यसमा भाग लिएका १९ प्रतिशत अमेरिकीहरूमात्र राष्ट्रपति निर्वाचनप्रति ‘निकै विश्वस्त’ भएको मत व्यक्त गरेका थिए । सन् २०१४ मा पहिलो चोटि गरिएको त्यस्तै सर्वेक्षणयता सन् २०२० को यो प्रतिशत सबभन्दा न्यून हो ।
सन् २०२० को नोभेम्बरमा ‘वाल स्ट्रिट जर्नल’ को एउटा अनलाइन समाचारले सन् २०२० को चुनावमा बितेका दुई दशकयता क्रमशः घट्दै गएको संरा अमेरिकामा प्रजातन्त्रप्रति जनताको विश्वासको एकमुष्ठ अभिव्यक्त भएको तर्क गरिएको छ ।
द एसोसिएट प्रेस–एनओआरसी सार्वजनिक मामिला अनुसन्धान केन्द्रले गरेको सर्वेक्षणअनुसार १६ प्रतिशत अमेरिकीहरूले मात्र अमेरिकामा प्रजातन्त्रले राम्ररी काम गरिरहेको वा निकै राम्ररी काम मत व्यक्त गरेका थिए । ४५ प्रतिशत जनताले भने प्रजातन्त्रले सही तरिकाबाट काम नगरेको मत व्यक्त गरेका थिए । ३८ प्रतिशतले केही हदसम्म राम्ररी काम गरिरहेको मत व्यक्त गरेका थिए । पिउ अनुसन्धान केन्द्रको सर्वेक्षणबाट २० प्रतिशत अमेरिकी जनताले मात्र अमेरिकाको सङ्घीय सरकारलाई सधैँ वा अधिकांश समय विश्वास गर्ने मत व्यक्त गरेका थिए ।
सन् २०२१ मा ब्रुकलिन्समा प्रकाशित एउटा अनलाइन लेखले सन् २०२० को चुनावको नतिजामाथि अमेरिकाका सबै ५० राज्यहरूले दिएको प्रमाणपत्र ७७ प्रतिशत रिपब्लिकन मतदाताहरूले चुनावमा धाँधली भएको आरोपमा दिएको उजुरीले जो बाइडेनको चुनावी विजयमाथि प्रश्न उठेको छ । सन् १९३० दशकयता यस्तो घटना भएको यो पहिलो पटक हो ।
सीएनएनले सेप्टेम्बर महिनामा गरेको एक मत सर्वेक्षणअनुसार ५६ प्रतिशत अमेरिकीहरू संरा अमेरिकामा प्रजातन्त्रमाथि हमला भइरहेकोमा विश्वास गर्छन् । ५२ प्रतिशतले चुनावले जनताको भावना अभिव्यक्त गर्नेमा आफू कमैमात्र वा कति पनि विश्वास नगर्ने बताए । ५१ प्रतिशत मानिसले आगामी केही वर्षमा निर्वाचित पदाधिकारीहरूले आफ्नो दलले नजितेको चुनावको नतिजा नै पनि उल्टाइदिन सक्ने बताए ।
सन् २०२१ मा पिउले १६ वटा धनी देशका १६ हजार वयस्क र संरा अमेरिकाका २५ सय वयस्कहरूबीच गरेको सर्वेक्षणले ५७ प्रतिशत विदेशका उत्तरदाता र ७२ प्रतिशत अमेरिकी उत्तरदाताले पछिल्ला वर्षहरूमा संरा अमेरिकी प्रजातन्त्र राम्रो उदाहरण बन्न नसक्ने बताएका थिए ।
२) प्रजातन्त्रको भद्रगोल र अराजक अभ्यास
संरा अमेरिकामा प्रजातन्त्र गलत दिशामा गइरहेको कुरा त्यो प्रणालीको प्रारूप र संरचनामा मात्र अभिव्यक्त भएको छैन । बरु त्यसको व्यवहारमा कार्यान्वयनको शिलशिलामा पनि देखिएको छ । प्रजातन्त्रको कुरा गर्दा संरा अमेरिका सीधा अब्बल दर्जाको विद्यार्थी पक्कै होइन । प्रजातन्त्रको लागि आदर्श त झन् हुँदै होइन । क्यापिटोल हिलमा भएको गोलीकाण्ड र अराजक अवस्थाले पनि अमेरिकी शैलीको प्रजातन्त्रको भव्य आवरणमुनि के छ भन्ने कुरा प्रस्टै उजागर भइसकेको छ । कालो समुदायको अमेरिकी (ब्ल्याक अमेरिकन) जर्ज फ्लोडको हत्याले अमेरिकी समाजमा लामो समयदेखि विद्यमान रहेको प्रणालीगत जातिवादको नग्नता प्रदर्शन भइसकेको छ । फ्लोडको हत्याको विरोधमा संरा अमेरिकाका जताततैबाट र अझ सिङ्गो संसारबाट पानी उम्लिँदा पानीका भुल्का उठेजस्तै उठे ।
संरा अमेरिकामा कोभिड–१९ महामारी नियन्त्रणबाहिर हुँदा मास्क र खोप लगाउने कुराले थप सामाजिक विभाजन र द्वन्द्व निम्त्यायो । आर्थिक वृद्धिको हिस्सेदारी असमान ढङ्गले वितरण गरिएको छ । लामो समयदेखि धेरैजसो सर्वसाधारण जनताको लागि आम्दानीमा वृद्धि रोकिएको छ । अमेरिकी शैलीको प्रजातन्त्रमा मुस्किलले सार्वजनिक सुव्यवस्था र नैतिकता कायम हुन सकेको छ न त जनताको भलो नै पूर्णरूपमा हुन सकेको छ ।
क) संसारलाई हल्लाएको क्यापिटोलको उपद्रव
सन् २०२१ को जनवरी ६ को अपरान्ह हजारौँ अमेरिकी जनता वाशिङ्टन डीसीको क्यापिटोल हिलमा भेला भए र नवनिर्वाचित राष्ट्रपतिको प्रमाणीकरणका लागि बसेको व्यवस्थापिकाको संयुक्त बैठक रोक्न क्यापिटोलका भवनमा धावा बोले । त्यो घटनाले संरा अमेरिकी राष्ट्रपतिको अधिकार हस्तान्तरणको प्रक्रिया रोकियो । घटनामा परी पाँच जना मानिसको निधन हुनुका साथै १४० जनाभन्दा बढी घाइते भए । सन् १८१४ मा बेलायती सेनाले अमेरिकी राष्ट्रपति भवनमा गोली चलाएको घटना यता क्यापिटोल हिलमा भएको त्यो घटना सबभन्दा खराब हिंसात्मक घटना थियो । २ सय वर्षभन्दा लामो समययता क्यापिटोलमाथि पहिलो पटक कब्जा जमाइएको थियो । सिनेटका एक जना रिपब्लिकन नेताले त्यो घटनालाई ‘असफल सत्ताकब्जा’ भनेका छन् । वैदेशिक सम्बन्धबारे संरा अमेरिकी परिषद् ( सीएफआर)का एक जना विद्वान्ले संरा अमेरिका धेरै अमेरिकीले सोच्ने गरेजस्तो विशिष्ट नभएकोमा आश्चर्य पोख्दै क्यापिटोलको उपद्रवले अमेरिका अपवाद भएको, डाँडामाथिको अजम्बरी चहकिलो सहर भएको सोचाइ सदाको लागि त्याग्नुपर्ने प्रतिक्रिया दिए ।
क्यापिटोल हिलको घटनाले अमेरिकी शैलीको प्रजातन्त्रका तीन प्रमुख जगलाई हल्लाएको छ ।
पहिलो, संरा अमेरिकाको ‘प्रजातन्त्र’ उसले दाबी गरेजस्तो प्रजातान्त्रिक छैन । केही संरा अमेरिकी नेताहरूले मतपरिणाम अस्वीकार गर्नु र उनीहरूका समर्थकहरू त्यसैलाई कारण बनाएर क्यापिटोलका भवनहरूमाथि हिंसात्मकरूपमा हुर्रिएर भित्र पस्नु संरा अमेरिकी प्रजातन्त्रको विश्वसनीयतामाथि ठूलो आघात हो ।
दोस्रो, संरा अमेरिकामा ‘स्वतन्त्रता’ उसले भनेजस्तै स्वतन्त्र छैन । ट्वीटर, फेसबुकलगायत अन्य सामाजिक सञ्जालले केही राजनीतिक दलका नेताहरूका व्यक्तिगत खाता नै बन्द ग¥यो । त्यसो गर्नु भनेको सामाजिक सञ्जालमा उनीहरूको ‘हत्या गर्नु’ जस्तै हो । संरा अमेरिकामा ‘अभिव्यक्तिको स्वतन्त्रता’ को मिथकलाई यसले छिन्नभिन्न बनाएको छ ।
तेस्रो, संरा अमेरिकाका ‘कानुनी शासन’ उसले दाबी गरेजस्तो कानुनसम्मत छैन । संरा अमेरिकी गृह प्रशासनले ‘ब्ल्याक लाइफ म्याटर्स (बीएलएम) आन्दोलन’ र क्यापिटोल हिलको उपद्रव दुई वटा घटनाप्रति लिएका दोहोरो मापदण्डले संरा अमेरिकी ‘कानुनी शासन’ को वास्तविकता उजागर गरेको छ ।
क्यापिटोल हिल घटनाले अन्तर्राष्ट्रिय समुदायलाई पनि चकित बनायो । हिंसाको भत्र्सना गर्दै गर्दा धेरै मानिसहरूले संरा अमेरिकाप्रति असन्तोष व्यक्त गरे ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ट्वीट गरेर संरा अमेरिकामा भएको घटनालाई ‘दुःखद दृश्य’ भनी प्रतिक्रिया जनाएका थिए ।
फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रोंले ‘संसारकै सबभन्दा पुरानो प्रजातन्त्रमध्ये एउटामा ‘एक व्यक्ति–एक मत’ को विश्वव्यापी मान्यताको अपमान गरियो’ भने ।
दक्षिण अफ्रिकी राष्ट्रपति सिरेल रामाफोसाले यो घटनाबाट संरा अमेरिकाको प्रजातन्त्रको जग नै हल्लिएको प्रतिक्रिया दिए ।
इन्डोनेसियाका पूर्वराष्ट्रपति सुसिलो बामबाङ युद्धोयोनाले ट्वीट गरेर ‘संरा अमेरिकी राजनीतिक झूटले विचार गर्न धेरै सामग्री दिएको छ । जब व्यवहारको कुरा आउँछ, संरा अमेरिका पूर्ण प्रजातन्त्र कदापि होइन’ भने ।
ख) अन्तरनिहीत जातिवाद
संरा अमेरिकाको प्रजातन्त्रमा जातिवाद एउटा अमिट कालो धब्बा हो । संरा अमेरिकाका संस्थापक पिताहरूले ‘सबै मानिसको रचना समानरूपमा भएको हो’ भन्दै गर्दा सन् १७८९ को संविधानमा दासतालाई भने जस्ताको तस्तै छोडे । आज संरा अमेरिकाले जातीय विभेदलाई बाहिर उन्मूलन गरे पनि श्वेत सर्वोच्चता भने अझै देशभर व्यापक र गहिरो बन्दै गएको छ । काला अमेरिकी र अन्य जातीय अल्पसङ्ख्यकहरूविरुद्धको विभेद प्रणालीमा निहित प्रक्रिया बनेको छ ।
अमेरिकी समाजले समय–समयमा जातीय विभेदको घाउको दुःखाइ अनुभव गर्दै आएको छ । सन् २०२० को मे २५ मा काला अमेरिकी जर्ज फ्लोडले मेनिसोटामा आफ्नो ज्यान गुमाए । कानुन पालनाको नाममा प्रहरीले गर्ने हिंसाको उनी शिकार बने । ‘मलाई श्वास फेर्न गाह«ो भयो’–मर्नुअघि जीवन रक्षाको लागि फ्लोडले अनुनय गरेका थिए । उनको त्यो अन्तिम वाक्यले जनआक्रोशको झिल्कोले डढेलोको रूप लियो । त्यसपछि संरा अमेरिकाका सबै पचास राज्त्रि झन्डै एक सय सहरमा विरोध प्रदर्शनहरू भए । प्रदर्शनकारीहरूले फ्लोडलाई न्याय गर्न माग गरेका थिए, जातीय विभेद अन्त्यको माग गरेका थिए । फ्लोडको हत्या भएको एक सय दिनसम्म लगातार विरोधका गतिविधि भएका थिए ।
जर्ज फ्लोडलाई जे भयो बितेका शताब्दीमा काला अमेरिकीहरूले अमेरिकामा भोगेको वियोगपूर्ण नियतिको उत्कर्षमात्र थियो । अमेरिकी मनोवैज्ञानिक सङ्गठनका पूर्वसभापति सान्द्रा शुलमनले अमेरिकामा ‘जातिवादी महामारी’ रहेको बताइन् । नागरिक अधिकार आन्दोलनका नेता मार्टिन लुथर किङ जुनियरका सपना पूरा भएनन् । भारतको मूलधारको पत्रिका ‘द इन्डियन एक्सप्रेस’ को प्रकाशित सम्पादकीयअनुसार अमेरिकाका सबभन्दा प्रजातान्त्रिक संस्थाहरूलाई पददलित बनाएर अमेरिकी जातिवाद टिकेको छ ।
स्टानफोर्ड विश्वविद्यालयको वेभसाइट ‘स्टानफोर्ड न्यूज’ मा सन् २०२१ को फेब्रुअरीमा प्रकाशित एउटा लेखमा संरा अमेरिकामा जातिवादको व्यवस्थित परीक्षण गरिएको छ । सो लेखमा काला समुदायको शिक्षा र युवाहरूप्रति ध्यान दिनुपर्ने, फौजदारी न्याय प्रणालीमा अल्पसङ्ख्यक जाति विशेषतः काला जातिमाथि अनुपयुक्त ढङ्गले निशाना बनाइएको, अर्थतन्त्रदेखि रोजगारीको क्षेत्रमा काममा लिने प्रक्रियादेखि उद्यमीहरूबाट पाउने ज्यालामा समेत काला र अन्य अल्पसङ्ख्यक समुदायलाई विभेद गरिएको उल्लेख छ । उनीहरूमाथि कार्यस्थलमा विभेद भएको पनि त्यो लेखमा लेखिएको छ । वाशिङ्टन विश्वविद्यालयको एक अध्ययनअनुसार सन् १९८० देखि २०१८ को बीचमा संरा अमेरिकामा प्रहरी हिंसाबाट मात्र ३० हजार ८ सय मानिस मारियो । सरकारी आँकडाको तुलनामा यो सङ्ख्या १७ हजार १ सयले बढी हो । त्यसको अर्थ संरा अमेरिकामा गोरा अमेरिकीहरूको तुलनामा अफ्रिकी अमेरिकीहरू प्रहरी हिंसाबाट मारिने सम्भावना ३.५ गुणाले बढी छ ।
अमेरिकामा अहिले उम्लिरहेको आक्रोश काला समुदायको आक्रोशमात्र होइन । बरु सिङ्गो जातीय समुदायको आक्रोश हो । इजरायलको ‘द जेरुस्लाम पोस्ट’ को वेभसाइटमा प्रकाशित एउटा लेखमा अमेरिकी यहुदीहरू दक्षिणपन्थी यहुदीविरोधी भावना र गोरा सर्वोच्चतावादी समूहहरूले मच्चाउने हिंसाप्रति बढी चिन्तित भएको लेखेको छ । अमेरिकी यहुदी समितिले हरेक वर्ष गर्दै आएको सर्वेक्षणको क्रममा सन् २०२० मा एक वर्षअघिको समत्न्दा ४३ प्रतिशत संरा अमेरिकी यहुदीहरूले असुरक्षित अनुभव गरेको देखियो । सन् २०१७ मा ४१ प्रतिशत अमेरिकी यहुदीहरूले संरा अमेरिकामा यहुदीवादविरोधी भावना गम्भीर समस्या भएको बताएका थिए । सन् २०१६ मा त्यसो भन्नेहरू २१, सन् २०१५ मा २१ प्रतिशत र सन् २०१३ मा १४ प्रतिशत थियो ।
एसियाली मूलका अमेरिकीहरूमा कुटपिट र अभद्र व्यवहारको क्रममा पनि बढ्दो छ । कोभिड–१९ फैलिएयता एसियाली अमेरिकीहरूमाथि सार्वजनिक थलोमा अपमान गर्ने वा हमला गर्ने क्रम बढेको छ । संरा अमेरिकी सङ्घीय अनुसन्धान विभागको तथ्याङ्कअनुसार सन् २०२० मा संरा अमेरिकामा एसियाली मूलका जनताविरुद्ध घृणामा आधारित अपराध ७६ प्रतिशतले बढेको छ । सन् २०२० को मार्चदेखि सन् २०२१ को जूनसम्ममा ‘एसियाली अमेरिकी र प्रशान्त टापुका अमेरिकीहरूलाई घृणा बन्द गर’ सङ्गठनमा ९ हजारभन्दा बढी त्यस्ता घटना दर्ता भएको थियो । राष्ट्रिय प्रसारण कम्पनी (एनबीसी) ले युवा एसियाली अमेरिकीहरूबीच गरेको सर्वेक्षणले गत वर्ष एक चौथाइ युवा एसियाली अमेरिकीहरूलाई जातीय घृणामा आधारित कुटपिट र अपमानको शिकार बनाइएको देखाएको छ । झन्डै आधाभन्दा बढी उत्तरदाताहरूले आफ्नो अवस्थाप्रति निराशा पोखेका थिए । एकचौथाइ उत्तरदाताले आफ्नो र परिवारको अवस्था देखेर डराएको उत्तर दिए ।
बाँकी भोलिको अङ्कमा
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *