भर्खरै :

देशघाती एमसीसी सम्झौताबारे अन्तरक्रिया

भक्तपुर, २४ मंसिर । नेपाल कर्मचारी समाज केन्द्रीय समितिको आयोजनामा देशघाती एमसीसी सम्झौताबाट हुने दीर्घकालीन असरबारे प्रवचन एवं अन्तरक्रिया कार्यक्रम शुक्रबार भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले द्वन्द्वबाट शान्ति र प्रजातन्त्रतिर अगाडि बढ्ने देशलाई सहयोग गर्ने नाममा कमजोर देशमा आधिपत्य जमाउने नीतिअनुसार संरा अमेरिकाले एमसीसी सम्झौता नेपालमा लाद्न खोजेको बताउनुभयो ।
नेपालको बिजुली भारत हुँदै सिङ्गापुरसम्म विद्युत् निर्यात गर्ने नीति देश हितविपरीत रहेको धारणा राख्दै सचिव सुवालले नेपालको विद्युत् नेपालीलाई नै उपयोग गर्ने नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।
संरा अमेरिकाको हिन्द–प्रशान्त क्षेत्रको सैनिक गठबन्धनअन्तर्गत एमसीसी रहेको स्पष्ट पार्दै उहाँले एमसीसी पारित भए यसबाट हुने हानि–नोक्सानीको क्षतिपूर्तिको लागि नेपालले उजुरी दिन नपाउने, सम्झौता कार्यान्वयनमा नेपालको कानुन लागू नहुने, एमसीसीलाई चित्तबुझ्दो योजना नेपालले पेश गरे पनि त्यसमा भारतको समर्थन आवश्यक हुनेजस्ता देशघाती सर्त उल्लेख भएको हुँदा सो खारेज हुनुपर्ने बताउनुभयो ।
एमसीसी सम्झौता देश हितविपरीत रहेकोले कुनै पनि देशभक्त पार्टीले यसको समर्थन गर्न नसक्ने स्पष्ट पार्दै उहाँले भन्नुभयो, “एमसीसीको समर्थन कोही लागेमा भविष्यमा ऊ संरा अमेरिकी दलाल प्रमाणित हुने निश्चित छ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सृजना सैँजूले नेमकिपाले एमसीसीविरूद्ध जनतालाई सचेत पार्ने उद्देश्यले देशव्यापीरूपमा विरोध सभा गर्दै आइरहेको सराहनीय कदम भएको बताउनुभयो ।
“आर्थिक सहयोग सर्तरहित हुनुपर्छ । आर्थिक सहयोगको नाममा सार्वभौम देशलाई उपनिवेश बनाउने कदम कुनै पनि हालमा स्वीकार्य हुनेछैन”, उहाँले भन्नुभयो ।
इतिहासबाट सिक्नुपर्ने आवश्यकता औँल्याउँदै केन्द्रीय सदस्य सैँजूले भन्नुभयो, “सोभियत सङ्घ विघटन हुनुमा वैदेशिक आर्थिक सहयोगको प्रमुख भूमिका छ । सोभियत सङ्घलाई विघटन गर्ने बदनियतसाथ संरा अमेरिका र पश्चिमी देशहरूले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमार्फत सोभियत सङ्घमा धेरै पैसा खर्च गरेका थिए ।”
सभ्यतामा धनी र सम्भावना भएको देशमा संरा अमेरिकाले हमला गर्ने गरेको इतिहास रहेको स्पष्ट पार्दै उहाँले इराकको सभ्यता नष्ट गर्न र शिक्षा तथा स्वास्थ्यमा अगाडि बढेको देश लिवियालाई ध्वस्त बनाउन संरा अमेरिकाको ठूलो हात रहेको उल्लेख गर्नुभयो ।
केन्द्रीय सदस्य सैँजूले भन्नुभयो, “स्वतन्त्रता, प्रजातन्त्र र समाजवादको विरोधमा संरा अमेरिकी प्रशासनले ५० भन्दा बढी देशको सरकार अपदस्थ ग¥यो, १३० भन्दा बढी देशको प्रजातान्त्रिक आन्दोलनलाई दबायो, ५० भन्दा बढी नेताहरूको हत्या ग¥यो ।”
उहाँले भन्नुभयो, “चीनको समाजवादी आर्थिक पद्धति इतिहासमै पहिलो पटक द्रुतगतिमा अगाडि बढिरहेको छ । चीनले पुँजीवादविरूद्ध लड्न पुँजीवादी बजार अर्थव्यवस्थालाई उपयोग गरिरहेको छ ।”
चीनको बढ्दो प्रभावलाई रोक्न संरा अमेरिकाले ‘फ्रि तिब्बत’को नाममा दलाइ लामालाई उछालिरहेको, मानव अधिकारको नाममा हङकङमा उपद्रव मच्चाइरहेको, ताइवानमा सेना र हतियार तैनाथ गर्नेजस्ता षड्यन्त्र गरिरहेको केन्द्रीय सदस्य सैँजूले बताउनुभयो ।
भारतको साथ लिएर एमसीसीमार्फत नेपालमा चीनविरूद्ध गतिविधि गर्न संरा अमेरिका उद्यत रहेको स्पष्ट पार्दै उहाँले संरा अमेरिका चीनविरूद्धमात्र होइन एसियाविरोधी रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसाद लासिवाले कर्मचारीहरू चिन्तनशील हुनुपर्ने आवश्यकता औँल्याउँदै देश र समाजको चासो लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “एसिया–प्रशान्तमा युद्ध भड्काई हतियारको व्यापार गर्नु संरा अमेरिकाको स्वार्थ हो ।”
अर्थशास्त्र समाज नेपालका अध्यक्ष मुरज दिदियाले नेपालमा रहेको प्राकृतिक स्रोत–साधनलाई कब्जा गर्ने उद्देश्यका साथ साम्राज्यवादीहरू लागिपरेको हुँदा सचेत हुनु जरूरी रहेको बताउनुभयो ।
शिक्षक–कर्मचारीहरूमा सङ्घर्षशील भावना हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
संस्कृतिविद् ओमप्रसाद धौभडेलले भ्रष्टाचार नियन्त्रण गर्न सके नेपाललाई वैदेशिक सहायता आवश्यकता नहुने धारणा राख्नुभयो ।
कार्यक्रममा शिवराम धुख्वा, रामकृष्ण प्रजापति, राजन जति, रीना प्रजापति, दिलकृष्ण माक र काजिबहादुर पञ्चले एमसीसीको विरोधमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *