भर्खरै :

सकियो नगरव्यापी खेलकुद प्रतियोगिता देशको सार्वभौमिकता रक्षा गर्न नयाँ पुस्तालाई आह्वान

भक्तपुर, २४ मङ्सिर । भक्तपुर नगरपालिकाको आयोजनामा मङसिर २० गतेदेखि २४ गतेसम्म सञ्चालित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका पुरस्कार वितरण तथा समापन कार्यक्रम सहिद स्मृति खेलमैदानमा शुक्रबार सम्पन्न भएको छ ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा सम्पन्न ‘पुरस्कार वितरण तथा समापन कार्यक्रम’ मा १४ वटा विभिन्न खेलकुदका विजयी खेलाडी तथा विद्यालयहरूलाई शिल्ड, मेडल, प्रमाणपत्र र खेलकुद सामग्री वितरण गरियो ।
समापन कार्यक्रममा सांसद सुवालले खेलकुद मित्रता, स्वास्थ्य र अनुशासनको निम्ति खेल्नुपर्नेमा जोड दिँदै भक्तपुर नगरपालिकाले आयोजना गर्दै आएको विद्यालयस्तरीय र नगरव्यापी खेलकुद प्रतियोगिताले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने बताउनुभयो ।
चीनले सन् २०२२ को शीतकालीन ओलम्पिक खेलको लागि सिङ्गो संसारलाई स्वागत गर्दै गर्दा संयुक्त राज्य अमेरिकाले गरेको कूटनीतिक बहिष्कार गर्नुको कुनै तुक नभएको बताउनुभयो ।
देशको सार्वभौमिकता थिचोमिचो गर्ने एमसीसी सम्झौता कुनै पनि हालतमा नेपालको संसदबाट पारित हुन नदिन देशभक्त जनता यसविरुद्ध एकताबद्ध हुुनुपर्ने बताउँदै सांसद सुवालले खेलकुद देशको सार्वभौमिकता रक्षाको निम्ति आवश्यक भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलकुद प्रतियोगिताले भक्तपुर नगर खेलकुदमय भएको चर्चा गर्दै भारतले नेपालमा गरेको सीमा अतिक्रमणविरुद्ध आवाज बुलन्द पार्न खेलाडीहरूलाई देशभक्त बनाउनुपर्ने बताउनुभयो ।
स्वस्थ र सभ्य नागरिक तयार गर्ने सिलसिलामा भक्तपुर नपाले प्रत्येक वर्ष अन्तरनगर प्रतियोगिता आयोजना गर्दै आएको उल्लेख गर्दै उहाँले यस वर्ष पनि अन्तरनगर प्रतियोगिता आयोजना गर्ने तयारीमा जुटेको बताउनुभयो ।
बाग्मती प्रदेशसभा सदस्य सृजना सैंजुले खेल जगतमा शताब्दी सुहाउँदो खेलाडी तयार गर्न गरिरहेको प्रयास सराहनीय भएको विचार व्यक्त गर्दै भनपाले खेलकुद क्षेत्रको विकासमा दीर्घकालीन सोचका साथ तयारी गरिरहेको बताउनुभयो ।
कोभिड जोखिमबाट विद्यार्थीहरूलाई जोगाउन कोभिडविरुद्धको खोपको सुनिश्चितता गर्नुपर्ने आवश्यकता औँल्याउँदै सांसद सैंजुले खेलकुदलाई विद्यालय तहदेखि नैसर्गिक अधिकारको रूपमा राखिनुपर्ने बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले व्यक्तिको सामाजिक विकासमा खेलकुदको महत्वमाथि चर्चा गर्दै भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको विकासमा गरेको काम उल्लेखनीय भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, वडा नं. ७ का वडाध्यक्ष एवम् खेलकुद समितिका सदस्य उकेश कवां, भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला र भक्तपुर जिल्ला भलिबल सङ्घका अध्यक्ष विनोदचरण रायले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा विजयी खेलाडीहरूलाई प्रमुख अतिथि तथा अतिथिहरूले मेडल, सहभागी विद्यालयहरूलाई खेलकुद सामग्री र प्रथम, द्वितीय र तृतीयलाई शिल्ड वितरण गर्नुभएको थियो ।
नगरव्यापी विद्यालयस्तरीय प्रतियोगितामा टेबुलटेनिस, भलिबल, फुटसल, कबड्डी, खोखो, एथलेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, जिम्नाष्टिक, पोर्टबल, कसिमला पाँय गरी १४ वटा खेलका लागि विद्यालयहरूबीच प्रतिस्पर्धा भएको थियो । उक्त प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)को प्रमुख आतिथ्यमा मङ्सिर २० गते सहिद स्मृति खेलमैदानमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *