भर्खरै :

सक्वको म राजदास–११४ / मेरो जीवनका सुख दुःखका केही अनुभूतिहरू

ठेकेदार साथी साँच्चिकै दुई तीन बोरा चुनढुङ्गा बोकेर कीर्तिपुरस्थित मेरो अफिसमा आउनुभयो र भन्नुभयो, “लौ सर ! यो धादिङ जिल्ला जोगीमारा मौवा खोलाको चुनढुङ्गा हो ।”
उहाँको जाँगर र उत्साह अनि तत्परता देखेर म खुसी भएँ र भनेँ, “दुई तीन दिन काठमाडौँमा बस्नुहोस् । भोलि बिहान १० बजे यहाँ आउनुस्, म तपाईँलाई कसरी चुनढुङ्गा पोलेर चुन बनाइन्छ भनेर देखाइदिन्छु र सिकाइदिन्छु ।”
चितवन निवासी पुष्पराज खतिवडा १० बजे नै मेरो अफिस आउनुभयो । हामी मैले चुनढुङ्गा पोलेर अनुसन्धान गर्न पहिले नै बनाइराखेको एउटा प्रयोगशालामा साइजको इँटाले बनाइराखेको चुल्होमा कोइला र चुनढुङ्गा मिलाएर तहतहमा राखेँ । चुल्होको मुखमा दाउरा राखेर चुन पोल्न तयार ग¥यौँ । चुल्होमा चुन ढुङ्गा र कोइला मिलाएर माथिसम्म भरेपछि माथिबाट ढुङ्गा, इँटा र माटो मिलाएर छोपिदियौँ । एउटा माटोको पाइप चुल्होमाथि धुवाँ निस्कनको लागि तेस्र्याइदियौँ ।
एक दुइ घण्टामै चुल्हो बाल्न तयार भयो । चुल्होको मुखमा आगो सल्काएर चुन पोल्ने कामको शुभारम्भ भयो । एकैछिनमा चुल्होको माथि राखेको चिम्नी पाइपबाट धुवाँ निस्केर आगो बलेको सङ्केत दियो । त्यसपछि एक किलो जति सानो साइजका ढुङ्गाहरू (उहाँले ल्याउनुभएको) एउटा मेरै अफिसभित्र रहेको विद्युतीय चुल्हो (इलेक्ट्रिक ओभन) मा राखेर एक हजार डिग्री सेन्टिग्रेड तापक्रममा राखेर ओभन बन्द गरिदियौँ ।
इलेक्ट्रिक ओभनभित्र अठार–बीस डिग्री सेन्टिग्रेडको तापक्रम विस्तारै विस्तारै उठ्दै सात सय–आठ सय डिग्री हुँदै एक हजार डिग्री सेन्टिग्रेडमा गएर रोकिने र एक हजार डिग्री पुगेपछि आफै निभ्ने (अटोमेटिक) इलेक्ट्रिक ओभन मेरो प्रयोगशालामा थियो । त्यो ओभन पनि चलाएपछि ठेकेदार साथी पुष्पराजजीलाई मैले चुन ढुङ्गा पोल्न र पाक्ने विधि छोटकरीमा बताएँ । भोलि बिहानसम्ममा चुल्होमा राखेको चुन ढुङ्गा र इलेक्ट्रिक ओभनमा राखेको चुनढुङ्गा दुवै पाकेको हुन्छ । त्यसकारण, भोलि बिहान १० बजेतिर फेरि आउन अनुरोध गर्दै चियानास्ताबाट सत्कार गरी बिदावारी गरिदिएँ । मेरो अफिस पहिले एक आवास गृह भएकोले त्यहाँ भित्र विदेशी डिजाइनमा सुत्ने कोठा, बाथरुम, भान्सा कोठा सबै बनाइएको थियो ।
इलेक्ट्रिक फर्नेस (विद्युतीय चुल्हो) को तापक्रम विस्तारै विस्तारै बढाउँदै लानुपर्ने भएकोले म दिनभरि त्यहीँ प्रयोगशालामा बस्नुपर्ने भयो । दिनभरि पनि १००० डिग्री सेन्टीग्रेड नपुग्ने भएकोले साँझ अबेरसम्म कुरेर बस्नुपरेको हुनाले त्यो रात म घर गइनँ । आफ्नो अफिसभित्रै रात गुजारेँ । खानेकुरा केही थिएन, तापनि केही मतलब नगरी रातभरि चुरोट तान्दै इलेक्ट्रिक फर्नेसको तापक्रम कन्ट्रोल गर्दै चुल्होभित्र चुनढुङ्गा रातो पिरो हुँदै बलिरहेको हेर्दै रात बिताएँ । इलेक्ट्रिक चुल्होको ढोकामा एउटा सानो सिसाले छोपेको झ्यालजस्तो प्वाल हुन्छ । बीच बीचमा त्यो प्वाल खोलेर भित्र के भइरहेको छ भनेर हेर्न मिल्छ ।
रात बित्यो, बिहान भयो । मैले इलेक्ट्रिक चुल्हो बन्द गरिदिएँ । भित्र एकपटक चिहाएर हेरेँ, चुन ढुङ्गा अझै रातो थियो । चुल्हो बन्द भएपछि विस्तारै विस्तारै सेलाउँछ, तुरुन्त निकाल्नु हुँदैन । सेलाउँदा सेलाउँदै पनि त्यो पोलिएको ढुङ्गाभित्र रासायनिक प्रक्रिया भइरहेको हुन्छ । पूर्णरूपमा सेलाएपछि त्यो खरानी रङ्गको चुनढुङ्गा सेतो भएको हुन्छ र आफ्नो प्रारम्भिक तौलको आधा तौल घटेर हलुका ढुङ्गामा परिणत भएको हुन्छ । जसलाई ज्युँदो चुन अथवा एक्टीभ लाइम भनिन्छ ।
बिहान इलेक्ट्रिक चुल्हो बन्द गरेपछि म दुई घण्टा जति आफ्नै प्रयोगशालामाथि कोठामा सुत्न गएँ । समयअनुसार काम राम्ररी सकिएकोले म खुसी भएँ । दुई घण्टा जति सुतेपछि बाहिर एउटा चिया पसलमा चियासँगै बिस्कुट खाएँ । ठीक त्यही बेला ठेकेदार साथी आउनुभयो । दुवै जना मिलेर दुवै ठाउँबाट इँटाको सानो भट्टाबाट र अफिसभित्रको इलेक्ट्रिक फर्नेसबाट पोलिएको चुनढुङ्गा निकाल्यौँ ।
इलेक्ट्रिक फर्नेसमा एक किलो चुनढुङ्गा हालेका थियौँ । त्यो निकालेर तौलेर हे¥यौँ, ५ सय ग्राम जति बाँकी रह्यो । पुष्पराजजी अचम्मित भएर सोध्नुभयो, कसरी यो त्यतिको हलुको भयो ? मैले भनेँ, पुष्पराजजी चुनढुङ्गा भनेको रासायनिक भाषामा क्याल्सियम कार्बाेनेट हो । यसमा क्याल्सियमको भाग, कार्वनको भाग र अक्सिजनको भाग, तीन तत्व मिलेर बनेको हुन्छ । चुन ढुङ्गा पोलेपछि तातो भएर कार्वन र अक्सिजन मिलेर बनेको कार्वनडाइअक्साइडको भाग ग्यासको रूपमा उडेर जान्छ र क्याल्सियमको एक भाग र अक्सिजनको एक भाग मिलेर बनेको क्याल्सियम अक्साइड भन्ने भाग हलुका चुनको ढिक्काको रूपमा रहन्छ र यसलाई अङ्ग्रेजीमा एक्टीभ लाइम र नेपालीमा ज्यूँदो चुन भनिन्छ । यो अहिले इलेक्ट्रिक फर्नेस (चुल्हो) बाट निकालेको हलुका ५०० ग्रामका ढिक्काहरू यही क्याल्सियम अक्साइड भन्ने ज्यूँदो चुन हो । अब यो ज्यूँदो चुनमा केही पानी हाल्दा फेरि अर्काे नयाँ रासायनिक प्रक्रिया सुरु हुन्छ र नयाँ पदार्थ बन्छ । साधारण चुन जसलाई अङ्ग्रेजीमा हाइडे«टेड लाइम भन्छन् । बजारमा बेचिराख्ने र हामीले घरायसी कामको लागि किनेर ल्याउने चुन भनेको यही हाइडे«टेड लाइम अथवा साधारण घर पोत्ने चुन हो । यो चुन निर्माण कार्यमा, घर पोत्ने काममा, खानेपानी पोखरीमा, पानी सफा गर्न, कीटनाशकको रूपमा अनि सडक गल्लीमा पनि फोहोर किटाणु नाश गर्न र इनारको पानी सफा गर्न धेरै ठाउँमा प्रयोग हुन्छ ।
त्यो आधी किलो जतिको ज्युँदो चुन एउटा स्टीलको भाँडोमा राखेर माथिबाट विस्तारै पानी खन्याउँदै लगेँ । भर्खर चुल्होबाट निकालेको अलि अलि तात्तै अवस्थामा रहेको ज्यूँदो चुनमा पानी पर्नासाथ सुइँय आवाज निकाल्दै एकदम तिर्खाएको मानिसले पानी पिएजस्तै त्यो ज्युँदो चुनले पानी सबै आफूभित्र सोसेर लियो । निकै तातो वाफ निकाल्दै विस्तार आफू फुट्दै फुलेर आयो र सेतो मसिनो चुनको धुलोले स्टीलको भाँडो भर्न थाल्यो । भाँडो तातो थियो र समात्दा पोल्दथ्यो । चुन र पानीको रासायनिक प्रक्रिया हुँदा तापबाट निस्केको हो ।
ज्युँदो चुनमा पानी हाल्दा क्याल्सियम अक्साइड र हाइड्रोजन डाइअक्साइड (पानी) दुई पदार्थबीचमा रासायनिक संयोग हुन्छ र यो रासायनिक प्रक्रिया हुँदा धेरै ताप सृजना हुन्छ अथवा निस्किन्छ । यसप्रकार ताप निस्किने प्रक्रियालाई रासायनिक भाषामा एक्जो थर्मिक रियाक्सन भनिन्छ ।
त्यो आधा किलो ज्यूँदो चुनमा पानी हाल्दै जाँदा पूरा पानी सोसिसकेपछि बनेको चुन फेरि एक किलो जति हुन आयो । मैले ठेकेदारलाई भनेँ, “ल पुष्पराजजी, यो हो असल गुणस्तरको असल चुन । अब यसमा अलिकति पानी थाप्दै जानुस् र हेर्नुस् कस्तो हुन्छ ।” नभन्दै उहाँ आफैले अलिअलि पानी थप्दै एउटा चम्चाले चलाउँदै जानुभयो र एकछिनमा अलिअलि गिलोगिलो मैदाजस्तो चुनको सेतो दही जस्तो पदार्थ बन्यो ।
अनि त्यसमा मैले मसिनु चालिएको बालुवा मिसाएर फेरि पानी थप्दै गएँ र चुन र बालुवाको मिश्रण तयार पारिदिएँ । त्यो चुन बालुवाको मिश्रण एउटा पर्खालको भित्तामा पोत्यौँ ।
नौनीजस्तो मलिलो सेतो च्याप च्याप्टी टाँस्ने चुन देखेर ठेकेदार पुष्पराजजी धेरै खुसी भई दङ्ग हुनुभयो र भन्नुभयो, “अब म जोगीमारा गएर चुन उद्योग स्थापना गर्छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *