भर्खरै :

संरा अमेरिकामा प्रजातन्त्रको अवस्थाबारे अन्तरक्रिया

काठमाडौँ, २५ मङ्सिर । नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्लाको आयोजनामा शुक्रबार संयुक्त राज्य अमेरिकाको प्रजातन्त्रको अवस्थाबारे अनलाइन अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले संयुक्त राज्य अमेरिकाको प्रजातन्त्र देखाउने दाँतमात्र हो भन्नुभयो ।
अमेरिकी साम्राज्यवादले प्रजातन्त्र कमजोर राष्ट्र र पेट्रोलियम पदार्थमा धनी देशहरूमाथि आक्रमण गरी आफ्नो कठपुतली बनाउने काम गर्दै आइरहेको उहाँले बताउनुभयो । नेपालमा पनि एमसीसी सम्झौता ल्याएर नेपालको सार्वभौमिकता र स्वाधीनतामा घात गर्न खोजेको बताउँदै उहाँले एमसीसी संसद्मा पेश गरे थप सङ्घर्ष गर्नका लागि तयारी रहन कार्यकर्ताहरूलाई आह्वान गर्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले अमेरिकी साम्राज्यवादले विश्वमै अशान्ति मच्चाउने काम गरिरहेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश सभा सदस्य सृजना सैंजुले अमेरिकी साम्राज्यवादले हरेक देशहरूमाथि हैकम चलाइरहेको प्रस्ट पार्दै अमेरिकी साम्राज्यवादको विरोधमा सबै देशका न्यायप्रेमी जनताले निरन्तर विरोध गर्नुपर्ने बताउनुभयो ।
नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको कार्यक्रममा काठमाडाँै जिल्लाका सचिव श्यामकुमार महर्जन र सहसचिव विश्वक डंगोलले पनि बोल्नुभएको थियो ।
सूर्यविनायकमा अनलाइन गोष्ठी
संरा अमेरिकाको प्रजातन्त्र शोषक वर्गको प्रजातन्त्र भएको विचार शुक्रबार आयोजित एक अनलाइन कार्यक्रमका वक्ताहरूले बताउनुभएको छ ।
नेपाल मजदुर किसान पार्टी, सूर्यविनायक नगर समितिको आयोजनामा ‘संरा अमेरिकामा प्रजातन्त्रको अवस्था’ बारे भएको कार्यक्रममा वक्ताहरूले पुँजीवादी प्रजातन्त्र पुँजीपति वर्गको निम्ति प्रजातन्त्र भएको धारणा राख्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले संरा अमेरिकालगायत विश्वका पुँजीवादी देशका राजनीतिक पार्टीहरूले निर्वाचन जितेपछि घोषणापत्रअनुसार काम नभएको तर्क राख्दै जनताको बाँच्ने र शिक्षा ग्रहण गर्ने अधिकार समाजवादी देशले दिन्छ भन्नुभयो ।
उहाँले अमेरिकी शैलीको प्रजातन्त्र पैसाबाट चल्ने धनीमानीको खेल बनेको भन्दै नेपालको सन्दर्भमा पनि उही कुरा लागु भएको विचार राख्नुभयो । केन्द्रीय सदस्य गोसाईले संरा अमेरिकामा धनीमानी वर्गको सानो सङ्ख्याले राजनीतिक, सैनिक र आर्थिक क्षेत्रमा प्रभाव जमाएको भन्दै धनी वर्गले नै राज्यका संरचना र नीति निर्माण प्रक्रिया तथा जनमतको परिचालनमा नियन्त्रण जमाएको बताउनुभयो ।
नेमकिपा, सूर्यविनायक नगर समितिका अध्यक्ष एवम् कार्यक्रमका सभापति सूर्यभक्त त्वातीले संरा अमेरिकामा अहिले पनि जातिभेद बाँकी रहेको भन्दै कालाजातिमाथिको दमनको कारण संरा अमेरिकी प्रजातन्त्र बदनाम भएको विचार राख्नुभयो ।
उहाँले जर्ज फ्लोयड नामका कालाजातिको युवाको हत्याले अमेरिकाको जातिभेद छताछुल्ल भएको विचार राख्नुभयो ।
नेमकिपा, सूर्यविनायक नगर समितिका सदस्य महेन्द्र बखुन्छेँले मुट्ठीभर व्यापारिक सञ्चार समूहले संरा अमेरिकी सञ्चारमाध्यमहरूमाथि नियन्त्रण जमाएको उल्लेख गर्दै राज्यको चौथो अङ्गले धनी वर्गको सेवा गरेको तर्क गर्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ, सूर्यविनायक नगर समितिका अध्यक्ष रोशन मचामसीले संरा अमेरिकाले आफूसँग संसारकै सर्वोत्कृष्ट स्वास्थ्य र औषधि उपचारको स्रोत भएको दाबी गरे तापनि कोभिडको प्रतिरोधको समयमा त्यहाँको स्वास्थ्य क्षेत्र पूर्णतः भद्रगोल देखिएको बताउनुभयो । संरा अमेरिकाकी जनताको स्वास्थ्य उपचारको बन्दोबस्त कति कमजोर रहेछ भन्ने कुरा कोभिड–१९ महामारीले देखइदिएको उहाँको तर्क थियो ।
कार्यक्रममा नेक्रायुसङ्घ, सूर्यविनायक नपा वडा नं १० का अध्यक्ष विष्णुप्रसाद सुवालले संरा अमेरिकाले क्युवा, कोरियाजस्ता साना देशमाथि दशकौँदेखि अमानवीय नाकाबन्दी गरी आर्थिक प्रभुत्ववादको अभ्यास गर्दै आएको विचार राख्नुभयो ।
चाँगु नपामा अन्तरक्रिया
यसैगरी नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगर समितिले संरा अमेरिकामा प्रजातन्त्रको अवस्था विषयमा अनलाइन अन्तरक्रिया शुक्रबार सम्पन्न ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशका सदस्य सुरेन्द्रराज गोसाईले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको कथित ‘प्रजातन्त्र सम्मेलन’ विश्वलाई युद्धको स्थितिमा लाने नयाँ षड्यन्त्र भएको बताउनुभयो ।
उहाँले लिबिया, इराकजस्ता देशमा प्रजातन्त्र नभएको भनी आक्रमण गर्ने साम्राज्यवादी अमेरिकाले समाजवादी देशहरूमा पनि आक्रमण गर्न प्रजातन्त्रको व्याख्यालाई बङ्ग्याइरहेको उल्लेख गर्दै प्रजातन्त्रको परिभाषा अमेरिकाले भनेजस्तै नहुने र अमेरिका प्रजातन्त्रको ठेकेदार नभएको बताउनुभयो ।
“वास्तवमा अमेरिका अत्यन्त अप्ठ्यारो अवस्थामा पर्दै गएकोले ऊ आक्रामक देखिँदै छ । साम्राज्यवादी अमेरिकाको विरोध गर्नु र कामदार जनताको पक्ष लिनु साँचो प्रजातन्त्र हो ।” उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले चीन र रूसलाई आमन्त्रण नगरी चीनको अभिन्न अङ्ग थाइवानको प्रतिनिधिलाई बोलाएर ‘प्रजातन्त्र सम्मेलन’ गर्नु एक चीन नीतिको विपरीत हुनुका साथै साम्राज्यवादी अमेरिकाको चीनविरुद्ध आक्रमण गर्ने नयाँ चालबाजी रहेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगर समितिका घनश्याम खड्का, इन्द्रबहादुर फोजू र मिनबहादुर बाटाले पनि बोल्नुभएको थियो ।
नेक्राविसङ्घको अनलाइन कार्यक्रम
संरा अमेरिकामा प्रजातन्त्रको अवस्था विषयक अध्ययन गोष्ठी नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ १३ औँ राष्ट्रिय सम्मेलन तयारी समितिको आयोजनामा अनलाइनमार्फत सम्पन्न भयो ।
अध्ययन गोष्ठीमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले अमेरिकामा मानवअधिकार नभएको र प्रजातन्त्रको दिनदिनै हत्या हुने गरेको छ भन्नुभयो । हतियार बेच्न संसारमा युद्ध मच्चाउने देशले मानवअधिकार र प्रजातन्त्रको वकालत गर्दै प्रजातन्त्र सम्मेलन गर्नु हास्यास्पद रहेको सांसद सैंजूले बताउनुभयो ।
“चीनमा एक पार्टीले मात्र शासन गर्ने कारण प्रजातन्त्र नरहेको पश्चिमाहरूले आरोप लगाउँछन् । तर, चीनमा होइन अमेरिकामा एकदलीय तानाशाही व्यवस्था छ । त्यहाँकर्पोरेटहरूको शासन छ, दुई पार्टीलाई तिनीहरूले नै चाहेअनुसार जिताउने गर्छन् । चीनमा परामर्शमा आधारित प्रजातन्त्र छ, त्यहाँका ८ पार्टी र जनताको परामर्शमा शासन चल्छ,” उहाँले भन्नुभयो ।
चीनजस्तो देशलाई नबोलाउनु नै प्रजातन्त्र सम्मेलनको असफलता हो भनी अमेरिकी बुद्धिजीवीहरूले भनिरहेका छन् । दोस्रो विश्व युद्धपछि विश्वका ५० नेताको हत्या गर्ने र गएको २० वर्षमा अन्य देशमा ९० हजार पटक हमला गर्ने र ५० हजार निर्दोष जनता मार्ने, अमानवीय नाकाबन्दी लगाउने देश कदापि प्रजातन्त्रवादी हुन सक्दैन सांसद सैंजूले भन्नुभयो ।
चीन आर्थिक, सामाजिक, राजनीतिक, प्रजातान्त्रीकरण सभ्यतामा अगाडि बढेको देख्न नसकी अमेरिकालगायतका पश्चिमी देशले सिंच्याङ, तिब्बतलगायत क्षेत्रमा प्रजातन्त्र नभएको आरोप लगाएका हुन्, उहाँले भन्नुभयो ।
तयारी समितिका संयोजक प्रकाश गुरुङले अमेरिकाले प्रजातन्त्रको नाममा गर्ने हस्तक्षेप, हमला, दमन, अत्याचार, अमानवीय नाकाबन्दीको निरन्तर विरोध गर्न युवा – विद्यार्थीहरू तयार भइरहनुपर्छ भन्नुभयो ।
अध्ययन गोष्ठीमा आर्थिक संयोजक दिनेश खड्गी, सदस्यहरू किरण गोसाई, हृदय दाहाल र तारा न्यौपानेले अमेरिकी प्रजातन्त्र र मानव अधिकारको वास्तविकताबारे आ–आफ्नो अध्ययन प्रस्तुत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *