भर्खरै :

कमलविनायक साकोसको साधारण सभा

भक्तपुर, २५ मंसिर । कमलविनायक बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै अतिथि जोशीले भक्तपुर नगरपालिकाले गरिरहेको कार्यबारे जानकारी गराउँदै भनपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइलगायत क्षेत्रमा विशेष प्राथमिकता राखी काम गर्दै आएको बताउनुभयो ।
उहाँले बढी ब्याज पाइने लोभमा भन्दा जनताप्रति प्रतिबद्ध सहकारी संस्थामा कारोबार गर्नुपर्ने धारणा राख्नुभयो ।
उपप्रमुख जोशीले भन्नुभयो, “भनपाका जनप्रतिनिधिहरूले निर्वाचनमा व्यक्त गरेका प्रतिबद्धता र निर्वाचन घोषणापत्रअनुसार इमानदारीपूर्वक जनताको सेवा गर्दै आएका छन् र गर्दै जानेछन् ।”
भनपा वडा नं. १० का वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले वडाको विकास निर्माणबारे जानकारी गराउनुभयो
सहकारीले आर्थिक कारोबारका अतिरिक्त राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे सहकारीका सदस्यहरूलाई सचेत गराउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले राष्ट्रघाती एमसीसी सम्झौताबारे जानकारी गराउनुभयो ।
भक्तपुर जिल्ला बचत सङ्घका प्रतिनिधि जगनाथ प्रजापतिले लोभले लाभ, लाभले विलाप हुने भएकोले आफ्नै घर–आँगनमा रहेका र स्थानीयद्वारा सञ्चालित सहकारीहरूमा आर्थिक कारोबार गर्न अनुरोध गर्नुभयो ।
भक्तपुर जिल्ला बचत सङ्घ एक व्यक्ति एक सहकारीको पक्षमा नरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णप्रसाद लाखा, भक्तपुर साकोसका निर्मल प्रजापति, संस्थाका सल्लाहकार राजाराम तजले र लक्ष्मीप्रसाद चवालले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा संस्थाका विभिन्न समिति÷उपसमितिहरूको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *