नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
पेरिस, बोरडओ र लन्डन
सन् १९४० जून १४ मा दे गाल अन्य मन्त्रीहरूजस्तै बोरडओ जाँदै थिए । त्यति नै बेला फ्रान्स सरकारकै आदेशमा त्यहाँ तैनाथ सैन्य कमान्डर डेन्जले राजधानी पेरिस जर्मन सेनालाई सुम्पे । लडाइँका कारण पेरिसवासी दुई दिनदेखि घरबाट निस्केका थिएनन् । लडाइँको अन्त्यसँगै पेरिसका प्रमुख भवनहरूमा स्वस्तिक छाप फहरिन थाल्यो । साँझपख बोरडओ पुगेर दे गालले फ्रान्समा बसे जर्मन सेनाको हातमा पर्ने हुनाले प्रम रेनौदलार्ई अल्जेरिया जानुपर्ने बताए । त्यसैले दे गालले यात्राको तारतम्य मिलाउने जिम्मेवारी लिँदै ब्रिटानीतिर लागे । उनले त्यहाँ सैन्य अधिकारीहरूलाई भेटे र समुद्रको बाटो हुँदै निस्किने बाटोको सर्वेक्षण गरे । उनले आफ्नी जहानलाई भेटे र बाहिरिन तयार रहनू भने । त्यसपछि उनी लन्डन गए । त्यहाँ उनले बेलायतका लागि फ्रान्सेली राजदूत कोर्बिन र उद्योगपछि ज्याँ मोनेँलाई भेटे । उनले सरकारलाई नसोधी अमेरिकाबाट बोरडओतिर जाँदै गरेको सैन्य आपूर्तिसितको पानीजहाजलाई बेलायततिर मोडिन आदेश दिए । भेटघाटको क्रममा ज्याँ मोनेँले बेलायत र फ्रान्सलाई एउटै राज्य बनाउनुपर्ने प्रस्ताव अघि सारे । उनले बेलायत र फ्रान्सको एउटै सरकार, संसद्, नागरिकता, सेना र नौसेना बनाउनुपर्ने बताए । दे गालको विचार यसको उल्टो थियो । तर, अन्योलग्रस्त मनस्थितिमा दे गालले चर्चिललाई यो विचार औपचारिक रूपमा अघि सार्न अनुरोध गरे । चर्चिलले माने किनभने फ्रान्सेली सरकार ध्वस्तप्रायः थियो र फ्रान्सका उपनिवेशहरूको मालिक बन्ने योभन्दा राम्रो मौका पछि जुर्ने थिएन ।
दे गालले रेनौदलाई फोन गरेर बेलायती प्रस्तावबारे बताए । त्यसको लागि फ्रान्स सरकार झुक्नुपर्ने थियो । उसले आफ्नो भूमि, आफ्ना उपनिवेशहरू, नौसेना र झन्डा पनि बेलायतलाई सुम्पिनुपर्ने थियो । पेताँ र वेगाँको विचारभन्दा यो प्रस्ताव राम्रो हुने उनले बताए । रेनौदले कुनै जवाफ दिएनन् । फ्रान्स शत्रुको हातमा परेको खण्डमा दे गाल लन्डनमै बस्ने कुरा थियो । रेनौदको विचार जान्न उनी बोरडओ पुगे । विमानस्थलमा रेनौदले प्रमबाट राजीनामा दिएको खबर पाए । सबथोक स्पष्ट भयो । दे गालले लन्डन जान चाहिने कागजपत्र बनाउन रेनौदलाई भेट्ने मन बनाए । देशलाई पराधीन बनाइसकेपछि रेनौद ठूलो जिम्मेवारीबाट छुट्कारा पाएझैँ हलुका बनेका थिए । उनले दे गाललाई गोप्य ढुकुटीबाट प्रशस्त सम्पत्ति दिए र उनलाई सपरिवार लन्डनतिर भाग्न सहज बनाइदिए । त्यसपछि उनले बेलायती राजदूत र जनरल स्पेयर्सलाई भेटे । स्पेयर्स फ्रान्समा बेलायतका गुप्तचर प्रमुख थिए । स्पेयर्सलाई चर्चिलले निर्वासित फ्रान्स सरकारको नेतृत्व गर्न सक्ने व्यक्ति छनोट गर्ने जिम्मेवारी दिएका थिए । तर, स्पेयर्सले दे गालको व्यक्तित्वलाई महत्व दिएनन् । बरु उनी अझ ओजपूर्ण व्यक्तिलाई लन्डन लान चाहन्थे । त्यसैले केही दिनसम्म दे गाललाई स्पेयर्सले आलटाल गरिरहे र बोरडओमै जमिरहे । स्पेयर्सले जर्जेज मन्डेललाई उपयुक्त देखेका थिए । तर, मन्डेलले मानेनन् ।
जनरल पेताँ सत्तामा आइसकेका थिए । शक्ति पेताँ र वेगाँको हातमा थियो । त्यसैले दे गाल सतर्क भएर बोरडओमै बसिरहे । उनी लन्डन भागेपछि आफूलाई देशद्रोही भगुवा भनिनेबारे सचेत थिए । तैपनि उनी इतिहासले न्याय गर्नेमा विश्वस्त थिए । उनी जर्मनीले हार्ने र बेलायत, अमेरिका र रूसले जित्ने कुरामा ढुक्क थिए । रातभरि ननिदाएपछि भोलिपल्ट दे गाल, लप्टन देकोर्सेल र जनरल स्पेयर्स लन्डन गए । यस्तैमा जनरल पेताँले दे गालबारे सोधखोज गरे । दे गाल चढेको विमानले इङ्गलिस च्यानल पार गरिसकेको थियो । दे गाल भागिसकेको थाहा पाएर पेताँले उनलाई पक्राउ गर्न आदेश दिए । विमानमा उड्दै गर्दा दे गाल देश छोड्नुपरेकोले खिन्न थिए ।
वर्ग र निर्वासित सरकार
दे गाल लन्डनतिर भाग्दै गर्दा जनरल पेताँले फ्रान्सको इतिहासमै सबैभन्दा घृणास्पद मन्तव्य दिए । हिटलरले आफ्नो आत्मवृत्तान्तमा फ्रान्सलाई ध्वस्त गर्नुपर्ने विचार स्पष्ट लेखेका थिए । त्यसलाई बेवास्ता गर्दै पेताँले रेडियोमार्फत जर्मनीलाई युद्ध विराम गर्न आह्वान गरे । साथै, शत्रु फ्रान्समा पस्दै गर्दा उनले फ्रान्सेली सेनालाई हतियार बिसाएर पछि हट्न भने । पेताँको यो रवैयाले देश छोडी भाग्ने दे गालको निर्णय सही ठहरिन पुग्यो । फ्रान्सको अन्तिम वैध सरकारका मन्त्रीहरूमध्ये देशघाती नेताहरूविरुद्ध बोल्ने र लड्ने उनी एक मात्र जनरल साबित भए ।
फ्रान्सका कुलङ्गारहरूविरुद्ध सङ्घर्ष गर्ने दे गालले आफ्नो वर्गीय स्वार्थ भने त्यागेका थिएनन् । उनी आफ्नो वर्गलाई फेरि सत्तामा जमाउन चाहन्थे । उनले आफ्नो वर्गीय स्वार्थलाई राष्ट्रिय स्वार्थसँग जोड्ने काम गरे । तर, उनका समकक्षीहरूले फ्रान्समाथिको आफ्नो वर्गीय वर्चस्व जोगाउन राष्ट्रिय स्वार्थलाई च्याखेमा राखेका थिए । उनीहरूको यही प्रवृत्तिले सुरुमा भगुवाजस्तो देखिएका दे गाल फ्रान्सका आशा बने । खासमा हिम्मत, फराकिलो दृष्टिकोण, आत्मविश्वास, शान्त स्वभाव र ठूलो काम गर्ने लालसाले उनलाई देश सङ्कटमा परेको बेला फ्रान्सेली पुँजीपति वर्गको स्वार्थ रक्षा गर्न सक्षम बनायो । दे गालको व्यक्तित्वको यही विशेषताले बेलायती साम्राज्यका रक्षक विन्स्टन चर्चिललाई आकर्षित गरेको थियो । यसैकारण चर्चिलले फ्रान्सका अन्य नेतालाई भन्दा दे गाललाई काखी च्यापे । त्यतिबेला बेलायती परराष्ट्र विभागमा दे गाललाई रुचाउने अधिकारीहरू थोरै थिए । उनीहरू बोरडओ सरकारलाई चिढाउने पक्षमा थिएनन् । उनीहरू दे गालजस्ता रुखा व्यक्तिलाई भन्दा आज्ञाकारी व्यक्तिलाई निर्वासित सरकारको प्रमुखको पदमा देख्न चाहन्थे । त्यतिबेला धेरै देशका निर्वासित सरकारहरूले लन्डनमा बसाइ सरेका थिए । खासमा युरोपभरि पछि चाल्न सकिने गोटीको रूपमा आफूलाई मन पर्ने शासकहरूलाई ‘वैध सरकार’ भन्दै बेलायतले लन्डनमा आश्रय दिइरहेको थियो ।
फ्रान्समा बेलायती परराष्ट्र विभागका अधिकारीहरूले रुचाउने धेरै नेता थिए । जस्तो मन्डेल, रेनौद, दालादियर, आदि । तर, उनीहरूमा निर्णय क्षमता थिएन । उनीहरू नयाँ पाइला चाल्न डराउँथे । उनीहरूमा सिद्धान्तनिष्ठता र दूरदर्शिताको अभाव थियो । खासमा उनीहरू डरछेरुवा थिए । उनीहरू परिवर्तनदेखि आत्तिन्थे । यस्तोमा चर्चिलले दे गालमा आफ्नो परराष्ट्र नीतिको सिपाही बन्न सक्ने खुबी देखे । गुप्तचर स्पेयर्सले नरुचाए पनि चर्चिलले उनलाई जाँच्ने निधो गरे । लन्डन आएका दे गाललाई चर्चिलले बीबीसी रेडियोबाट आफ्नो देशलाई सम्बोधन गर्ने मौका दिए । बीबीसी त्यसबेला शक्तिशाली प्रचारमाध्यम थियो ।
१८ र १९ जून
१८ जून १९४० मा दे गालले बीबीसीमार्फत फ्रान्सेली जनतालाई सम्बोधन गरे । विश्वप्रसिद्ध यस मन्तव्यमा उनले दुइटा कुरा उठाए । एक, फ्रान्सको तत्कालीन सरकारले शत्रुसामु युद्धविराम गर्ने घोषणा गरेको छ । दुई, फ्रान्स युद्धमा एक्लो देश नहुनाले फ्रान्सको लडाइँको टुङ्गो लागेको छैन । मन्तव्यमा दे गालले लन्डनमा उपलब्ध देशभक्तहरूलाई प्रतिरोध सङ्घर्र्षका लागि आफूवरपर गोलबन्द हुन आह्वान गरे । यही मन्तव्यलाई पछि प्रकाशित गर्दा त्यसमा थप एउटा वाक्य देखाप¥यो । दे गालले लेखेका थिए – “फ्रान्सले एउटा लडाइँ हारेको हो, पूरै युद्ध हारेको होइन” यो वाक्य रेडियोमा वाचन नगरे पनि पर्चाको रूपमा यसले तहल्का मच्चायो । पाँच मिनेटको उनको भाषणलाई रेडियोमा नसुन्नेहरू धेरै थिए । तर, पर्चाको रूपमा यो भाषणलाई बेलायतका गल्लीहरूमा पढियो । यो नै दे गालको प्रतिरोध सङ्घर्र्षको आह्वान बन्न गयो ।
१९ जूनमा दे गालले अझ मूर्त रूपमा प्रतिरोध सङ्घर्र्षको आफ्नो खाका अघि सारे । उनले अदम्य फ्रान्सेली जनताले प्रतिकार गर्ने बताए । उनले चालु युद्धलाई फ्रान्स–जर्मनी युद्धभन्दा पनि विश्वयुद्धकै रूपमा लडिने बताए । १९ जूनको मन्तव्यमा दे गालले दुइटा कुरामा जोड दिएका थिए – एक, फ्रान्सेली सेनाले आफू जहाँ भए पनि लडाइँ चालु राख्नुपर्छ । दुई, पेताँ सरकार देशद्रोही हो । दे गालको मन्तव्यको शैली भव्य थियो । उनले आफूलाई समस्त फ्रान्सकै आवाजको रूपमा उभ्याउन खोजे । खासमा उनलाई बेलायती र फ्रान्सेली जनताको भन्दा पनि चर्चिलको साथ मात्र थियो । चर्चिलकै टेको पाएर उनी आफूलाई मैदानमा हुँदै नभएको सङ्घर्र्षको नेता दाबी गर्दै थिए ।
परिवार र जमात
लन्डनमा दे गाल परिवार हाइड पार्कनजिकै सेइमोर दरबारमा बस्थ्यो । छोरी आन झनझन् सिकिस्त भइन् । त्यसैले दे गाल परिवारले सहरभन्दा अलि टाढा बसाइ स¥यो । त्यहाँ उनीहरू कोन्नट होटलमा बसे । छोरा फिलिप र एलिजाबेथले क्रमशः जलसेना र नर्सिङको पढाइ चालु राखे । १९४० को शरदतिर कोन्नट होटलबाट जर्मन र बेलायती वायुसेना जुधेको विष्फोटक आवाज सुनिन्थ्यो । जर्मनी र बेलायतबीच खालि हावामा लडाइँ चलिरहेको थियो । दे गाल परिवार भने आरामपूर्वक रह्यो । दे गाल आफ्ना भाषणहरू लेख्थे । उनी समाज, मनोरञ्जन आदिबाट एकदम अलग रहन्थे ।
दे गालकी आमा फ्रान्समै थिइन् । उनले १८ जूनको दे गालको मन्तव्य सुनेकी थिइन् र छोराको कामलाई सह्राएकी थिइन् । १६ जुलाईमा दे गालकी आमाको निधन भयोे । दे गालले त्यसको खबर पाए र अति भावुक भए । यस्तैमा फ्रान्स सरकारले दे गाललाई मृत्युदण्डको घोषणा ग¥यो र उनको जायजेथा हरण ग¥यो । यसले गर्दा दे गाललाई आर्थिक सहयोगहरू आउन थाल्यो ।
दे गालको गतिविधि अति मन्द थियो । उनका सहयोगीहरू लाखापाखा लाग्दै गए । मोनेँले बेलायत र फ्रान्सलाई गाभ्ने योजना त्यागे । उनले बेलायतको खटनमा कुनै पनि काम गर्न नहुने बताए । रेने माएर दे गालका आर्थिक सहयोगी र राजनीतिज्ञ थिए । उनले यहुदी जनताको पीडा साटासाट गर्न फ्रान्स फर्किने निर्णय गरे । दे गालका केही सहयोगीहरू अमेरिकामा उपयोगी हुन सकिने विचारले अमेरिका लागे । त्यसैले फ्रान्सेली राष्ट्रिय समिति गठन गर्ने दे गालको विचारले आकार लिन सकेन । तिनताका फ्रान्समा पियर कोट नाउँका फासीवादविरोधी प्रसिद्ध नेता थिए । दे गाललाई उनी जस्तोसुकै मद्दत गर्न तयार थिए । तर, दे गाल आफैले उनको सहयोग अस्वीकार गरे । फासीवादविरोधी नेतालाई पन्छाएर दे गालले आफ्नो वर्गीय चरित्र झल्काए । लन्डनमा दे गालले बनाएको सङ्गठनबारे स्पष्ट इतिहास छैन । कसैले त्यसको पहिलो सदस्य फ्रान्सको एउटा कार कारखानामा काम गर्ने मजदुर थियो भन्छन् । खालि दे गाल र उनका साथीहरूको नाम मात्र स्पष्ट उल्लेख थियो । तिनीहरू फ्रान्सेली शासक खलककै थिए ।
‘फ्री फ्रान्स’
फ्रान्समाथि जर्मन आक्रमणपछि बनेको पेताँ सरकारको कार्यकाललाई भिशे सत्ता भनिन्छ । त्यसका विरुद्ध सङ्घर्र्ष गर्न दे गालले गठन गरेको सङ्गठनको नाम ‘फ्री फ्रान्स’ वा ‘फ्रान्सलाई मुक्त गरौँ’ थियो । यसको अस्तव्यस्त चरित्र खासमा दे गालकै दृष्टिकोणको छाप थियो । दे गाल कुनैबेला मौरासबाट प्रभावित थिए । जर्मन आक्रमणपछि चाल्र्स मौरास भिशे सिद्धान्तकार बनेका थिए । उनले जर्मन आक्रमणलाई ‘पवित्र आश्चर्य’ बताए । जोन अफ आर्क, मौरिस बारेस र चाल्र्स पेगाए भिशे सरकारका विभूतिहरू थिए । यहुदी भएकैले राष्ट्रवादी बेर्गसनलाई बेवास्ता गरियो । भिशे सरकारको सिद्धान्त दे गालको भन्दा भिन्न थिएन । फरक कति थियो भने दे गालले आफ्नो राष्ट्रवादलाई देशभक्तिको जामा लगाएका थिए ।
‘फ्री फ्रान्स’ को झुकाव पछि वामपन्थतिर ढल्क्यो । तर, दे गाल कहिल्यै वामपन्थी भएनन् र थिएनन् । उनको सङ्गठनमा धेरै इमानदार र देशभक्तहरू थिए । तैपनि नेतृत्व सधैँ शासक वर्गकै रह्यो । गास्तोँ पालेभ्स्की खानदानी शासक परिवारका थिए । उनी ‘फ्री फ्रान्स’ सङ्गठनका राजनीतिक इन्चार्ज थिए । पुँजीवादी घरानाहरूसँग उनको घनिष्ट सम्बन्ध थियो । हेनरी डेवाभरिनले ‘फ्री फ्रान्स’ को भूमिगत गतिविधि हेर्थे । उनी कुनै बेला नाजी जर्मनी र फासीवादी इटालीको हतियार र पैसा लिएर फ्रान्समा आतङ्क फैलाउँथे । उनी भूमिगत फासीवादी गिरोहका सदस्य थिए । उनको परिवार कपडा उद्योगले धनी भएको थियो । उनका साथीहरू बैङ्कका मालिक थिए । त्यस्तै, ‘फ्री फ्रान्स’ लाई क्याथोलिक चर्चका केही पादरीको पनि सहयोग थियो । ‘फ्री फ्रान्स’ आन्दोलनको लोगो वा चिन्ह एकजना पादरीले नै बनाइदिएका थिए ।
‘फ्री फ्रान्स’ मा फ्रान्सेली सेनाका प्रतिनिधिहरू पनि थिए । तीमध्ये हिन्द – चीन (भियतनाम, लावस र कम्बोडिया) मा गभर्नर भइसकेका जनरल क्यात्रौक्स उल्लेखनीय छन् । सन् १९४० सेप्टेम्बरमा दे गाल अफ्रिकाको भ्रमणमा थिए । दे गाल बाहिर गएको बेला बेलायतले क्यात्रौक्सलाई दे गालको स्थान लिन प्रस्ताव गरेको थियो किनभने उनी आज्ञाकारी थिए । तैपनि दे गालको सङ्गठनमा सेनाको प्रतिनिधित्व थोरै नै थियो । केही लेखकले ‘फ्री फ्रान्स’ सङ्गठनले भिशे सरकारको विरोध गरेको हुनाले क्रान्तिकारी चरित्र लियो भन्छन् । तर, झूटो हो किनभने जनताको सहभागितापछि मात्र प्रतिरोध सङ्घर्र्षले क्रान्तिकारी चरित्र लिएको थियो । १० जुलाई १९४० मा फ्रान्सेली कम्युनिस्ट नेताहरू मौरिस थोरेज र ज्याकस डक्लसले जनतालाई देशको स्वाधीनताको निम्ति सङ्घर्र्षमा लामबद्ध हुन आह्वान गरेका थिए ।
यसरी ‘फ्री फ्रान्स’ सङ्गठनमा सैन्य अफिसर, पत्रकार, विद्वान, पादरी, आतङ्कवादी आदि एकसाथ भएको देखिन्छ । कट्टर वामपन्थीहरूबाहेक दे गालले सबैलाई ‘फ्री फ्रान्स’ मा स्थान दिएका थिए । सबभन्दा महत्वपूर्ण कुरा जनरलप्रतिको बफादारिता थियो । लन्डन बसाइका क्रममा दे गालले जस्तोसुकै विचारको व्यक्तिलाई पनि खटाउन सक्ने क्षमता देखाए । यही खुबीले नै दे गाललाई उचाइमा पु¥यायो ।
दे गालको सङ्गठनमा सुरुका केही हप्तामा प्रवेश गर्ने धेरैजस्तो सदस्यहरू दे गालप्रति बफादार हुन आएका थिएनन् । त्यो बेला प्रतिरोध सङ्घर्र्ष थाल्न जोसुकैले आह्वान गरेको भए पनि त्यत्तिकै मान्छेहरू आउने थिए । एक दिन जर्मनीको पराजय हुन्छ भन्ने दे गालको विचारले नै उनीहरूलाई तानेको थियो । आफ्ना एकजना सदस्यलाई दे गालले भनेकै थिए– “मलाई लाग्छ अमेरिकाभन्दा पहिले रूस विश्वयुद्धमा आउनेछ । तर, उनीहरू दुवै आउने नै छन् । हिटलरले युक्रेन हान्ने सोचिरहेको छ । उसले रूसको भाग्य कोर्ने लोभ त्याग्नेछैन । त्यो नै अन्त्यको आरम्भ हुनेछ । सारमा युद्ध भयानक समस्या हो । तर, यसलाई हल गर्न सकिन्छ । हामीले समग्र फ्रान्सलाई एकजुट पार्नुपर्छ ।”
इतिहासबारे दे गालको ज्ञानले नै उनलाई व्यावहारिक निर्णय लिन सहयोग गथ्र्यो । उनले धैर्यपूर्वक फ्रान्सलाई एकजुट बनाउने नीति अपनाए । यसमा उनी चलाख र दूरदर्शी पनि देखिए । त्यसबेला लन्डनमा निर्वासित भएका धेरै सरकारहरूले जर्मनी कहिले हार्ला भनी हात बाँधेर पर्खिरहेका थिए । तर, दे गालले जर्मनीलाई जतासुकैबाट हराउनुपर्ने ठाने । उनी जर्मनीलाई हराउन सक्रिय भए । खासमा उनी विश्वयुद्धपछि विश्वको भाग्य निर्धारित गर्ने स्थानमा पुग्न चाहन्थे । उनले ‘फ्री फ्रान्स’ को सैन्य टुकडी बनाउन धेरैभन्दा धेरै फ्रान्सेलीहरूलाई सङ्गठित गरे । उनले फ्रान्सलाई मात्र नभई त्यसका उपनिवेशहरूमा पनि सङ्घर्र्ष विस्तार गर्न र ठूला शक्तिहरूको सम्मान जित्न खोजे । यो नै दे गालको प्रतिरोध सङ्घर्र्षको नीति र सिद्धान्त थियो । काम फत्ते गर्न दे गालसँग केही भरपर्दा सहयोगीहरू र चर्चिलको भर गर्न नहुने समर्थन मात्र थियो । दे गालले बेलाबेला हेरिरहने नक्सा पनि फ्रान्सेली नभई अङ्ग्रेजी थियो ¤
प्रस्तुति ः सुरेन
Leave a Reply