भर्खरै :

अध्यक्ष माओ त्सेतुङका दार्शनिक रचनाः एक छलफल–२

अध्यक्ष माओको बहुचर्चित भनाइ ‘सयौँ फूलहरू फुल्न देऊ’ बारे स्पष्ट पार्दै यसो भन्नुहुन्छ, “सयौँ फूलहरू फुल्न दिने र सयौँ खालका विचारधारामा प्रतियोगिता हुन दिने’ नीतिको उद्देश्य विज्ञानको प्रगति तथा कलाको समृद्धि हो र नीतिमार्फत हाम्रो देशमा समाजवादी संस्कृतिलाई फलाउन र फक्रायाउन दिनु हो ।”
“वर्गसङ्घर्ष अझै टुङ्गिएको छैन” भन्दै उहाँले चीनमा ‘समाजवाद या पुँजीवादमध्ये कुन चाहिँले आखिरमा गएर जित्ने हो भन्ने कुराको अझै पनि वास्तविकरूपमा छिनोफानो भइसकेको छैन’ भनी प्रस्ट्याउनुभयो । यसो भनेर उहाँले चिनियाँ जनतालाई अझ धेरैभन्दा धेरैलाई माक्र्सवादी शिक्षा दिन आवश्यक भएको औँल्याउनुभएको थियो । माक्र्सवादीहरूलाई उहाँ ऊर्जा प्रदान गर्दै भन्नुहुन्छ, “माक्र्सवादीहरूले जतासुकैबाट आएको आलोचनादेखि पनि डराउनुहुन्न । बरू त्यसको सट्टामा, उनीहरूले त्यस्ता आलोचनाहरूको सामना गरेर आफूलाई इस्पात खरो पार्नु र विकसित तुल्याउनु परेको छ । सङ्घर्षका आँधीबेहरीहरूकै माझ जुझेर नौला–नौला ठाउँहरू उनीहरूले ओगट्नुपरेको छ । गलत विचारधाराको विरोधमा लड्नु सरूवा रोगदेखि बच्ने सुई लिनुसरह हो ।”
यसप्रकार यस रचनामा विविध विषयमा अध्यक्ष माओले गहन विचार, दूरदर्शी चिन्तन, व्यापक सोच तथा बहुमूल्य मार्गनिर्देशन दिनुभएको छ । राजनीतिक कार्यकर्ताहरूको निम्ति यो रचना बौद्धिक तथा वैचारिक खुराक र सैद्धान्तिक ऊर्जाको स्रोत बन्ने विश्वास छ ।
‘सही विचार कहाँबाट आउँछ ?’ यस सङ्ग्रहभित्रको सङ्क्षिप्त रचना हो । तर, यसको महत्वमा कुनै कमी अनुभव हुनेछैन । सन् १९६३ मे महिनामा यो रचना तयार पारिएको हो । अध्यक्ष माओ लेख्नुहुन्छ, “मानिसका सही विचार कहाँबाट आउँछन् ? के ती आकासबाट खस्छन् ? अहँ । के ती मगजमा सहजै उब्जन्छन् ? अहँ । ती त सामाजिक व्यवहारबाट या भनूँ उत्पादनको निम्ति सङ्घर्ष, वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोगबाट आउँछन् ।” उहाँले कार्यकर्ताहरू द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तबाट प्रशिक्षित हुनुपर्ने र त्यसो भएको खण्डमा मात्र व्यापक दृष्टिकोण निर्माण हुने, अन्तर्राष्ट्रवादी सोचको विकास हुने, सङ्घर्षशील भावनामा कमी नआउने र प्रभावकारी ढङ्गमा आफ्नो भूमिका निर्वाह गरी देश र जनताको सेवा कार्यमा समर्पित बन्न सम्भव हुने बताउनुहुन्छ ।
यस सङ्ग्रहको अन्तिम रचना प्रचार कार्यसम्बन्धी अध्यक्ष माओको मन्तव्य हो । यो सन् १९५७ मार्च ६–१३ मा सम्पन्न चिकपाको प्रचार कार्यसम्बन्धी राष्ट्रिय सम्मेलनमा व्यक्त मन्तव्य हो । अध्यक्ष माओ भन्नुहुन्छ, “प्रचार कार्य गर्ने हाम्रा कामरेडहरूका हातमा माक्र्सवादको प्रचार प्रसार गर्ने काम रहेको छ । यो प्रचार बिस्तारै बिस्तारै गर्नुपर्नेछ र राम्ररी गर्नुपर्नेछ, जसबाट मानिसहरूले आफूखुसी नै स्वीकार गर्न सकून् । मानिसहरूलाई माक्र्सवाद स्वीकार गर्नका निम्ति करकाप गर्न सकिँदैन, उनीहरूलाई सम्झाउन बुझाउनमात्र सकिन्छ ।” यस लेखमा उहाँले बारम्बार समाजको बुद्धिजीवीकरण, माक्र्सवादी शिक्षाको प्रचारको आवश्यकता बुद्धिजीवीहरूको सङ्ख्यात्मक तथा गुणात्मक वृद्धि गरी समाजवादलाई विजयतर्फ डो¥याउनुपर्नेबारे छलफल गर्नुभएको छ । आधुनिक चीन निर्माणको निम्ति बुद्धिजीवीहरूमा समेत नयाँ संस्कार आवश्यक भएको बारे यस रचनामा छलफल गरिएको छ ।
पुँजीवादी विश्व दृष्टिकोण त्यागेर सर्वहारा विश्व दृष्टिकोण निर्माणतर्फको अग्रसरता टड्कारो आवश्यकता बनिसकेको बताउँदै अध्यक्ष माओ भन्नुहुन्छ, “माक्र्सवादलाई राम्ररी बुझ्नका निम्ति हामीले त्यसलाई पुस्तकहरूबाट मात्रै सिक्ने होइन कि त्यसलाई मुख्यरूपले वर्गसङ्घर्षबाटै सिक्नुपर्छ, व्यावहारिक कामबाट, ज्यामी र किसानहरूको जनसमूहसितको घनिष्ठ सम्पर्कबाट सिक्नुपर्दछ ।” ‘घोडामाथि चढेर फूलहरूलाई हेर्ने’ होइन ‘घोडाबाट ओर्लेर फूलहरूलाई हेर्नु’ भनी बडो रोचकढङ्गमा उहाँ सुझाउनुहुन्छ ।
अध्यक्ष माओले यस रचनामा राजनैतिक तथा विचारधारात्मक कार्यमा जोड दिनुभएको छ र ती मोर्चामा वर्गसङ्घर्ष जारी रहेको तर्फ गम्भीर ध्यानाकर्षण गर्नुभएको छ । त्यो वर्गसङ्घर्ष विगतमा भन्दा चर्को–तीखो हुने उहाँले खबरदारी गराउनुभएको छ । उहाँ स्पष्ट शब्दमा भन्नुहुन्छ, “विचारधाराको प्रश्न अब धेरै महत्वपूर्ण प्रश्न बनेको छ ।” सायद यही पृष्ठभूमिमा उहाँले भन्नुभयो– “….अन्तिम विजय समाजवादको हुनेछ कि पुँजीवादको भन्ने कुराको निर्णय गर्नको निम्ति अझै धेरै लामो ऐतिहासिक अवधि लाग्नेछ ।” यस दार्शनिक रचनामा लेखक, बुद्धिजीवी तथा प्रचार क्षेत्रका कार्यकर्ताहरूलाई शुद्धीकरण आन्दोलनलाई सफल बनाउन, रूढीवाद, संशोधनवादविरूद्ध निर्भिकतापूर्वक उभिन र सच्चा माक्र्सवादी बनेर जनताबीच पुग्न अध्यक्ष माओले आह्वान गर्नुभएको छ । जनतालाई शिक्षित पार्ने र समाजको सांस्कृतिक रूपान्तरण एउटा लामो प्रक्रिया हुनेतर्फ सजग गराउँदै कार्यकर्तामा धैर्य, साहस, अध्ययन र समर्पणभाव आवश्यक हुने विचार यहाँ प्रस्तुत गरिएको छ । उहाँ स्पष्ट शब्दमा भन्नुहुन्छ, “जो मानिसले हजारौँ मार खाए पनि मृत्युदेखि डराउँदैन, त्यसले नै बादशाहलाई घोडाबाट खसाल्ने साहस गर्नसक्छ । समाजवाद र साम्यवादको निर्माण गर्ने हाम्रो सङ्घर्षमा यस्तै खालको अजेय भावनाको खाँचो छ ।” नेपाल–चीन मैत्री सङ्घले २०२८ वैशाखमा प्रकाशन गरेको यो पुस्तक झन्डै ५० वर्षपछि पनि उत्तिकै पठनीय, मननीय र सामयिक अनुभव हुन्छ । नेपाली वामपन्थी आन्दोलन तथा राजनीतिक आन्दोलनका धेरै–धेरै अग्रजहरूले यो पुस्तकको अध्ययन गर्नुभएजस्तै नयाँ पुस्ताका कार्यकर्ता, शिक्षक–प्राध्यापक, स्रष्टा तथा बौद्धिकहरूलाई पनि यी रचना अध्ययन गर्ने अवसर प्रदान गर्न सकिए हितकारी हुनेछ । दर्शनशास्त्र तथा राजनीतिशास्त्रका विद्यार्थीहरूको निम्ति त यो पुस्तक झन् लाभदायी हुनेछ । नेपाली शासकहरूले राजनीतिलाई विचारशून्य बनाउन खोजिरहँदा, दर्शनबाट अलग्याउने प्रयास गरिरहँदा नैतिकताहीन बनाएर खोक्रो र अपराधीकरणतर्फ धकेलिरहँदा यो पुस्तकको अध्ययन थप सान्दर्भिक देखिन्छ । यो पुस्तकले क्रान्तिकारी आशा एवम् नयाँ ऊर्जा प्रदान गर्ने विश्वास लिन सकिन्छ ।
यी रचनाहरू तथा पुस्तकको पुनः प्रकाशन, अन्तरक्रिया, छलफल भएको खण्डमा राजनीति, साहित्य, दर्शनको क्षेत्रमा रहेका अस्पष्टता, अन्योल चिर्न सहयोग मिल्ने विश्वास लिन सकिन्छ । नेपाली वामपन्थी आन्दोलनका नयाँ कार्यकर्ताहरूले त झन् यो पुस्तक खोजी खोजी पढ्नैपर्ने देखिन्छ । अन्यथा, एउटा महत्वपूर्ण सैद्धान्तिक तथा वैचारिक भएको अनुभव नहोला भन्न सकिन्न । खुराकबाट वञ्चित भएको अनुभव नहोला भन्न सकिन्न ।
स्रोतः मजदुर–किसान वैशाख–असार, २०७७
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *