भर्खरै :

के नेपाली काङ्ग्रेस समाजवादी पार्टी हो ?

नेपाली काङ्ग्रेसले प्रजातान्त्रिक समाजवादलाई आफ्नो लक्ष्य बताउँदै आएको छ । प्रजातान्त्रिक समाजवादी अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनमा देखापरेको पुँजीवादी विचार हो । नेकांको प्रजातान्त्रिक समाजवाद र नेपाल मजदुर किसान पार्टीजस्तो असल कम्युनिस्ट पार्टीले आफ्नो लक्ष्य बनाएको वैज्ञानिक समाजवाद आधारभूत रूपमा फरक छ । नेकांको समाजवादले श्रमिक जनतालाई केही सहुलियतको कुरा गरे पनि श्रमिक जनतामाथि पुँजीपति वर्गले गर्दै आएको शोषण उन्मूलनको कुरा गर्दैन । बरु नेकांको समाजवादले पुँजीपति वर्गको शोषणलाई वैधता दिन्छ । निजी पुँजीले मुनाफा कमाउनुलाई स्वाभाविक प्रक्रिया, अर्थतन्त्रको अपरिहार्य प्रक्रिया मान्छ । त्यसले केही सहुलियत दिएर श्रमिक वर्गको आन्दोलनलाई निस्तेज पार्छ र वर्ग सङ्घर्षबाट श्रमिक जनतालाई अलग राख्ने प्रयास गर्छ । नेकांले आफ्ना दस्तावेजमा राष्ट्रिय पुँजी विकासको पक्षमा उभिएको उल्लेख गरे पनि उसको व्यवहार हेर्दा उसले विदेशी, अझ भारतीय एकाधिकार पुँजीकै सेवा गर्दै आएको देखिन्छ । नेकांले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनुको सट्टा देशका उद्योग कलकारखानाहरूसमेत निजीकरणको नाममा भारतीय एकाधिकार पुँजीको पोल्टामा राखेर राष्ट्रिय अर्थतन्त्रलाई अझ पराधीन बनाएको छ ।
राष्ट्रिय उद्योग विदेशीको हातमा पर्दा वा नष्ट हुँदै जाँदा देशको अर्थतन्त्र विदेशीको नियन्त्रणमा गएको छ । देश अझ पराधीन बन्दै गएको छ । राष्ट्रिय अर्थतन्त्र विदेशीको हातमा सुम्पेबापत र नेपाली युवाहरूलाई रोजगार बनाउने नाममा विदेशी बजारमा आपूर्तिबाट आउने कमिसनबाट नेकांजस्ता पार्टीहरू प्रत्यक्ष वा परोक्षरूपमा चलेको हुन्छ । नेपाली युवाहरूलाई राणाहरूले बेलायत र भारतमा भाडाका सिपाहींका रूपमा बेचेका थिए भने नेकांले अझ ठूलो सङ्ख्यामा अन्तर्राष्ट्रिय बजारमा नेपाली युवाहरू निर्यात गरेको छ । उत्पादनमूलक राष्ट्रिय अर्थतन्त्रको विकास गर्नुभन्दा कमिसनमा चल्ने दलाल अर्थतन्त्र चलाउनु नै नेकांको आर्थिक नीति भएको आजसम्मको व्यवहारबाट पुष्टि हुन्छ । पराधीन अर्थतन्त्र कहिल्यै पनि वैज्ञानिक समाजवादी व्यवस्था हुनसक्दैन । वैज्ञानिक समाजवादतिर अघि बढेका देशहरूले आफ्नो युवा शक्तिलाई आफ्नै देशको उत्पादनशील अर्थतन्त्रको प्रवद्र्धनमा लगाउने गर्छ ।
नेमकिपाजस्ता कम्युनिस्ट पार्टीले आफ्नो लक्ष्य बनाएको समाजवाद भने शोषणबाट मुक्त समाजवाद हो । वैज्ञानिक समाजवादमा मानिसले मानिसलाई शोषण गर्ने छुट हुँदैन । दिगो र स्वाधीन अर्थतन्त्रको विकास नै वैज्ञानिक समाजवादको आधार हो । वैज्ञानिक समाजवाद स्थापनापछि नेपाली युवाहरू अन्तर्राष्ट्रिय बजारमा श्रम बेच्न बाध्य हुनुपर्ने छैन । विदेशसँग आर्थिक अन्तरनिर्भरता कायम रहनेछ, तर परनिर्भरता र पराधीनता अन्त्य हुनेछ । कसैले कसैलाई अत्याचार गरेर नाफा कमाउने छुट हुनेछैन । समाजवादी राज्यले सहर र ग्रामीण क्षेत्रबीचको फराकिलो अन्तर कम गर्दै जानेछ । गरिबी उन्मूलन गरिनेछ । शिक्षा, स्वास्थ्य, वातावरण, आवासजस्ता मानिसका आधारभूत आवश्यकता राज्यकै दायित्वअन्तर्गत रहनेछ र त्यसमा कुनै पनि आधारमा विभेद गरिनेछैन । वैज्ञानिक समाजवादमा वातावरणमा प्रतिकूल असर पार्ने ढ·को मनपरी उत्पादन र ऊर्जा उपभोग गरिनेछैन । बरु वैज्ञानिक समाजवादअन्तर्गत हरित र दिगो विकासलाई जोड दिइनेछ ।
नेकां र नेमकिपाजस्ता कम्युनिस्ट पार्टीले उठाइरहेको समाजवादको मुद्दाबीच अन्तर नबुझ्दा कतिपय जनतालाई यिनीहरूका लक्ष्य एकै हुन भन्ने लाग्ने गरेको छ, जो पूर्णतः गलत हो । नेमकिपाले स्थापना गर्न चाहेको समाज नयाँ समाज हो भने नेकांले स्थापना गर्न चाहेको समाजवाद पुरानो समाजमा केही टालटुले प्रक्रियामात्र हो, जो भित्रबाट खोक्रो र पुरातन हुने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *