भर्खरै :

अनुभवले आत्मआलोचनाको जग बसाल्छ !

काठमाडौँ, २८ मङ्सिर । राजनीतिक नेतृत्वको निम्ति उमेर, युवा, जातजाति, भाषाभाषी र क्षेत्रबारे अनेक छलफल र दृष्टिकोणहरू देखिएका छन् । त्यसबारे व्यवहारमा विभिन्न देशमा विभिन्न परिणामहरू देखिएका छन् । एक पुस्ता र शासनमा बसेका एक व्यक्तिले गरेको ठीक वा बेठीक निर्णय र व्यवहारले धेरै लामो असल वा खराब प्रभावमात्र होइन, धेरै राम्रो परिणाम र दीर्घकालीन परिणाम पनि देखिने गर्छ ।
एकजना घरमुलिको ठीक वा बेठीक निर्णयले घरपरिवारले त्यस्तै परिणाम व्यहोर्नुपर्ने हुन्छ । हिजो गरिबीले समाजका सबै वर्ग र परिवारले शिक्षा हासिल गर्ने परिस्थिति थिएन र शिक्षित समुदाय र परिवारमा औपचारिक वा अनौपचारिक छलफल र निर्णयको परिपाटी हुन्थ्यो । राजतन्त्र र दास गणतन्त्रमा समेत राज्यका पण्डित, बुद्धिजीवी र आजका थिङ्क ट्याङ्कहरूको राय सल्लाह लिने बन्दोबस्त थियो र छ । दासयुगमा समेत दास मालिकहरूमाझ छलफल चल्थ्यो ।
तर, के स्वाभाविक थियो र छ भने उदार र अनुदार वा निष्कृय समूह वा व्यक्ति पनि हुन्छन् । शिक्षा, अध्ययन र चिन्तनको ठेक्का एक निश्चित वर्गको हातमा रहेसम्म व्यापक जनता ती छलफल र जानकारीबाट वञ्चित रहन्छन् र एक प्रकारले समाजको ठूलो भाग अन्धकारमै रहन्छ । निश्चय पनि एउटामात्र आँखाभन्दा दुइटा आँखाको हेराइ व्यापक हुन्छ र एउटै कानले भन्दा दुइटै कानले तुलनात्मकरूपले बढी दिशाको आवाज सुन्न सक्ने हुन्छ ।
नेपाली काङ्ग्रेस होस् वा एमाले (समाजवादी वा प्रचण्ड समूह) पनि नामले होइन व्यवहारले एउटै वर्ग र समूहकै दल भनेमा फरक पर्दैन । नेपालको राजनीतिमा चार खुट्टा भएको टेबुल हो – एक नेका, दुई एमाले, तीन राप्रपा र चार– मधेसवादी एवम् अन्य जातीय र क्षेत्रीय दलहरू । त्यसमध्ये नेका, एमाले, (समाजवादी प्लस प्रचण्ड) र राप्रपा एउटै वर्ग, जाति र भाषाभाषीको वर्चस्व भएका समूह हुन् । यसको अर्थ हो – एउटै राजनीतिक सिद्धान्तबाट प्रेरित पक्ष । मधेसवादी र अन्य जातजाति, भाषाभाषी र क्षेत्रीय भावनाबाट प्रेरित दलहरू २०–३० वर्षपछि पनि कुनै एक निश्चित राजनीतिक दर्शन, सिद्धान्त र नीतिमा नबाँधिएका र वर्गीयरूपले निश्चित भूमिका नभएका हुनाले देशी र विदेशी तत्वहरूले सजिलै तलमाथि गर्न सकेको देखिन्छ । निश्चित उद्देश्य नहुनु वा भनिएको उद्देश्यमा बहुमत नेतृत्व र पार्टी सदस्यहरू प्रतिबद्ध नहुँदा तिनीहरू अस्थिर समूहको रूपमा देखिन्छन् । सरकारमा जानु वा मन्त्री र सोभन्दा तलका केही पद पाउनकै लागि राजनीतिक दल आवश्यक ठान्नेहरूलाई नेका, एमाले र राप्रपाका दलहरूले सजिलै खेलाउँदै आएका छन् । यही उपायअनुसार आ–आफ्नै दलमा समेत स–साना पद दिएर अल्झाएका छन् ।
समुदायका हरेक व्यक्तिको हितमा लड्नुपर्नेमा ‘आरक्षण’ को लोभमा फसाएर शासक दलहरूले सबै पीडितहरूलाई ‘मूर्ख’ बनाउँदै छन् । यसको ठूलो उदाहरण त भारत नै हो । यसकारण, जहिलेसम्म सम्पूर्ण समुदाय र कामदार वर्गलाई शिक्षा–स्वास्थ्य अनिवार्य गरिँदैन, रोजगारीको सुनिश्चितता गरिँदैन, शिशुशाला र बालोद्यानको व्यवस्था हुन्न, आदर निकेतनको व्यवस्था सरकारबाटै हुने बन्दोबस्त हुँदैन तबसम्म सबै ‘आरक्षण’ र आश्वासन झूट र ठगी साबित हुनेछ ।
उमेरमा, युवा पुस्ताले नै काम गर्ने हो भने भारतीय राष्ट्रिय काङ्ग्रेसमा कम उमेरका युवा र एउटै वंशको नेतृत्व भए पनि यसले प्रभावशाली नेतृत्व दिन नसकेको प्रस्टै छ । नेपालमा वर्तमान शासक दलहरूका धेरै नेताहरू युवा नै छन् र ती राजनीतिक परिवारबाटै आएका हुन्, तिनीहरू सरकारका पदहरूमा रहँदा ‘सबैजसो’ गुन्डा, कालाबजारिया, ठग, ठेकेदार, घरजग्गा कारोबारी, तस्कर एवम् अपराधीहरूबाट प्रभावित छन् । माथिल्ला नेताहरू खेतान, चौधरी, गोल्छाबाट प्रभावित थिए भने नयाँ पुस्ता नयाँ पढेलेखेका देशी र विदेशी ठगहरूबाट ठगिएका छन् । लाउडा र सुडान काण्डमा के युवाहरू नै प्रमुख पात्रहरू थिएनन् ?
हो, अनुभवको कमीले युवा र महिलाहरू फस्नु अस्वाभाविक होइन । मोटर नै राम्रो नचल्ने सडक भएको जिल्ला र क्षेत्रका युवा मुख्यमन्त्री र मन्त्रीहरूमा करोडौँको बाहन किन्ने सोच र आँट कहाँबाट कसरी पलायो ? उत्तर छ – विदेशी कम्पनीका एजेन्टहरूबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *