भर्खरै :

कोभिड सङ्क्रमण बढेसँगै सजग हुन चिकित्सकको सल्लाह

काठमाडौँ, २८ मङ्सिर । जनस्वास्थ्यविज्ञले पछिल्ला एक–दुई दिनमा देशभर देखिएको कोभिडका बिरामीको सङ्ख्या र स्थितिले नेपाल कोभिड महामारीको अर्को सङ्घारमा उभिएको जस्तो देखिने बताउनुभएको छ ।
सङ्क्रामक रोगका विज्ञ तथा कोभिड–१९ को उपचारमा सुरुदेखि संलग्न चिकित्सक डा. अनुप सुवेदीले ट्वीटरमा लामो ट्वीट गर्दै नेपालमा धेरै सङ्ख्यामा ओमिक्रोनको सङ्क्रमण देखा नपर्दै डेल्टा भेरियन्टले नै पनि हिउँद (जाडोयाम) मा अघिल्लो लहरभन्दा सानै आकारमा भए पनि अर्काे लहर आउन सक्ने पहिला नै अपेक्षा गरिएको बताउनुभएको हो । मुख्यतः उच्च जोखिम समूहका व्यक्तिमा पहिले कोभिड सङ्क्रमण भएर वा खोप लगाएर बनेको रोग प्रतिरोध क्षमतामा केही महिनापछि ¥हास आउने देखिएकोले यस्तो सम्भावना पहिला नै अनुमान गरिएको उहाँको भनाइ छ ।
“ओमिक्रोन देखिएपछि त त्यस्तो लहर झन् चाँडो आउने र डेल्टामात्रको लहरभन्दा ठूलो हुने पनि सुनिश्चितजस्तै भएको छ । त्यो ओमिक्रोनको लहर अघिल्लो (दोस्रो) लहरजस्तै ठूलो वा उस्तै हताहती गराउने हुन्छ कि केही सानो, कम क्षति गराउने हुन्छ भन्नेमात्र अहिल्यै अनुमान गरिहाल्न सकिँदैन”, डा. सुवेदीले ट्वीट गर्नुभएको छ ।
विगत केही दिनमा विशेषगरी सभा–सम्मेलन, विवाह, भोजमा सङ्क्रमित भएर हप्तादिन जति पछि अस्पताल जाने, भर्ना हुने क्रम बढ्न थालेको भन्दै उहाँले यो बढ्दो सङ्क्रमण दर डेल्टाकै पहिलेदेखिकै अपेक्षित हिउँदे उभार हो वा यसमा केही मात्रामा ओमिक्रोनको पनि देन छ, यो विषयमा सरकारले जिनोम सिक्वेन्सिङ अध्ययनले बताउनुपर्ने बताउनुभएको छ ।
“मूल कुरा, सबै फेरि एकदम सतर्क हुनुपर्ने भयो । बिहेवारी, भोजभतेर, सभा सम्मेलनमा सकेसम्म टाढा बस्नुहोला । घरबाहिर निस्केको बेला घरका सबै सदस्यले सकेसम्म एन९५ वा सो सरहको मास्क सधैँ लगाउनुहोला । आफुले स्कुल पठाएका केटाकेटीहरूलाई पनि त्यसो गर्न सिकाउनुहोला”, उहाँले ट्वीटमा लेख्नुभएको छ ।
मास्क लगाउँदा, मास्कको छेउ वा तलमाथिबाट हावा ननिस्कने गरी अनुहारमा टपक्क मिल्ने मास्कमात्र लगाउनुपर्ने भन्दै उहाँले त्यस्तो मास्क नभेटिएमा एन–९५ मास्क र सर्जिकल मास्क दुवै अथवा सर्जिकल मास्क र कपडाको मास्क एकैचोटि लगाउनु उपयुक्त हुने सल्लाह दिनुभएको छ ।
“वातायन (भेन्टिलेसन) राम्रो नभएको बन्द कोठा वा ठाउँमा अरु व्यक्तिसँग मास्क लगाएरै पनि सकेसम्म नबस्नुहोला । सकेसम्म भेटघाट र विशेषगरी अरु व्यक्तिसँग खानपिन बाहिर खुला ठाउँमा मात्र गर्नुहोला”, ट्वीटमा लेखिएको छ ।
“परिवारको कसैलाई ‘सामान्य रुघा’ वा खोकी वा ‘हल्का ज्वरोमात्र’ वा जुनसुकै कोरोनासँग मिल्न सक्ने लक्षण छ भने यथाशक्य चाँडो पीसीआर जाँच गर्नुहोला । अनि रिपोर्ट नआउञ्जेल घरबाट अरू कोही पनि सदस्य कार्यालय, स्कूल वा बाहिर कतै नजानुहोला”,डा.सुवेदीले भन्नुभएको छ ।
“घरमा कोही एक जना सदस्यको पीसीआर पोजिटिभ आए भने पोजिटिभ हुने त अलगै बस्न प¥यो नै । बाँकी अरु सदस्यले पनि क्वारेन्टिनका सबै नियम पालना गर्नुपर्छ । सकेसम्म सबै अलगअलगै बस्ने, एकैचोटि कोठामा बस्दा मास्क लगाउने र सँगै खाना नखाने अनि अन्य सदस्यले पनि ७–१० मा पीसीआर परीक्षण गराउने”, उहाँले लेख्नुभएको छ ।
ट्वीटमा लेखिएको छ, “कसैले खोप लगाउनुभएको छैन भने तुरुन्त सरकारले दिएको खोप लगाउनुहोला । जतिसुकै महिनाको गर्भवती, स्तनपान गराउने आमा, जुनसुकै दीर्घरोग हुने वा औषधि खाने सबैले कोभिडविरुद्ध सरकारले उपलब्ध गराएको जुनसुकै खोप लगाउन सुरक्षित छ र लगाउनुपर्छ ।”
यसैबीच जनस्वास्थ्यविज्ञहरूले अग्रमोर्चामा खटिने व्यक्तिहरूलाई सरकारले कोभिडको बुस्टर डोज खोप दिन थाल्नुपर्ने बताएको छ । अहिलेसम्म नेपालमा पूर्ण मात्रा खोप लगाउने मानिस ३० प्रतिशत पुगेको छ । अझै ठूलो सङ्ख्यामा मानिसले खोप नै लगाउन नपाएको अवस्थामा बुस्टर खोपको अभियान थाल्दा खोप लगाउन नपाउने जनतामाथि न्याय नहुने पनि केही विज्ञहरूको तर्क छ ।
देशभर मङ्गलबार थप २६४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १३ हजार ७०९ जनाको पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पीसीआर परीक्षण गरिएका सङ्क्रमितको सङ्ख्या आठ लाख २४ हजार ७६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९५ हजार ८४५ पुगेको छ । पछिल्लो समय थप ३६२ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख सात हजार ५१६ पुगेको छ । निको हुने दर ९७ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५५९ पुगेको छ ।
कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी, पछिल्लो समय दुई लाख ३६ हजार ४८२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६८९ जना छ ।
कर्णालीमा ३३ प्रतिशतलाई कोरोना खोपको पूर्ण मात्रा
कर्णाली प्रदेशमा १० लाखभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोपको पहिलो र दोस्रो मात्रा लगाएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार लक्षित उमेर समूहका १० लाख ३३ हजार १९९ जनाले खोप लगाएका छन् । तीमध्ये पहिलो मात्रा ६ लाख ३३ हजार ९७६ तथा दोस्रो मात्रा तीन लाख ९९ हजार १४३ जनाले लगाएका छन् ।
निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार लक्षित वर्गमध्ये खोपको पहिलो मात्रा ५३ र दोस्रो मात्रा ३३ प्रतिशत नागरिकले लगाएको जानकारी दिनुभयो । प्रदेशमा १८ लाख ३४ हजार जनसङ्ख्यामध्ये १८ वर्षमाथिका १२ लाख नागरिक छन् । अब झन्डै दुई लाख जनसङ्ख्यालाई खोपको पहिलो मात्रा लगाउन बाँकी छ । निर्देशक डा. खड्काले खोपको सहज पहुँच भएपछि अभियान प्रभावकारी हुँदै गएको बताउनुभयो ।
लक्षित समूहको लागि कोभिडविरुद्धको खोपको पहिलो र दोस्रो मात्राको अभियान प्रदेशका सबै जिल्लामा चलिरहेको छ । उहाँले भन्नुभयो, “बाह्रदेखि १७ वर्ष उमेर समूहकालाई पनि फाइजर खोपको पहिलो मात्रा दिन थालिएको छ, हालसम्म दुई हजार बढी बालबालिकाले फाइजर खोप लगाइसकेका छन् ।” प्रदेशमा सबैभन्दा बढी डोल्पामा ७१ प्रतिशत तथा कम जाजरकोटमा ३० प्रतिशतले खोप लगाएका छन् । कर्णालीमा कोरोनाविरुद्ध कोभिशिल्ड, एष्ट्राजेनिका, भेरोसेल, जोन्सन एन्ड जोनसन र फाइजर खोप लगाइएको थियो । हाल फाइजर खोप सुर्खेतमा मात्र लगाउने व्यवस्था मिलाइएको छ । यसको पहिलो मात्रा कार्तिक २८ देखि मङ्सिर ८ गतेसम्म लगाइएको थियो । निर्देशक खड्काका अनुसार १२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई विद्यालयमै खोप केन्द्र स्थापना गरी खोप लगाउने तयारी भइरहेको छ ।
यसैबीच, कर्णालीका सुुर्खेतबाहेक नौ जिल्लामा सो उमेर समूहकालाई मोडर्ना खोप दिन लागिएको छ । नौ जिल्लाका एक लाख ५४ हजार ८७२ बालबालिकालाई खोप दिने तयारी छ । मोडर्ना खोप पुुस ४ देखि १४ गतेसम्म लगाइनेछ । विसं २०६१ मङ्सिरदेखि २०६६ सम्म जन्मेकालाई यो खोप दिन लागिएको हो ।

डा. अनुप सुवेदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *