भर्खरै :

शिक्षकले राजनीति किन नगर्ने ?

शासक दलसम्बद्ध शिक्षक सङ्गठन र नेताहरूले विद्यालय र विद्यार्थीलाई पनि फोहोरी राजनीतिको केन्द्र बनाउँदा आज सिङ्गो शिक्षक आन्दोलन बदनाम भएको छ । शासक दलसँग आप्mनो राजनीतिक संलग्नता देखाएर अनुचित फाइदाको लेनदेन गर्ने शासक दलका शिक्षक सङ्गठनका नेताहरूको प्रवृत्तिको कारण शैक्षिक क्षेत्र फोहोरी राजनीतिको शिकार बनेको छ । कक्षा कोठामा पढाउनुपर्ने शिक्षकहरू शिक्षा कार्यालय र शिक्षा मन्त्रालय धाएर आफ्ना मान्छेको सरुवा–बढुवामा बढी लाग्दा विद्यार्थीहरू शिक्षाबाट वञ्चित भएका छन् । विद्यालयभित्र राजनीतिक दलको खिचातानीले विद्यालयको स्तरोन्नति हुन सकेन । आफूलाई ठूला भन्ने शासक दलसम्बद्ध शिक्षक सङ्गठनका यस्ता अमर्यादित गतिविधिको कारण आज सर्वसाधारणको आँखामा सिङ्गो शिक्षक आन्दोलनको बदनाम भएको छ । उनीहरूका गतिविधिको कारण नेपालको राजनीतिक परिवर्तन र न्यायपूर्ण आन्दोलनमा शिक्षकहरूले गरेको योगदान नै ओझेलमा पार्न खोजिँदै छ ।
पञ्चायती व्यवस्थाको जरा खान्न २०४२ सालमा भएको ऐतिहासिक शिक्षक आन्दोलनलाई इतिहासमा कसैले बिर्सन सक्दैन । तर, शासक दलहरू आफू सत्तासीन हुँदा विद्यालयका शिक्षक र पियनको नियुक्तिसम्म पनि भागबन्डा गर्ने, आफ्ना शिक्षकहरूले गल्ती गर्दा पनि काखी च्याप्ने, अनुपयुक्त ढङ्गले सरुवा–बढुवा गर्ने, आफूनिकट विद्यालयलाई सहुलियत र बजेट दिने सङ्कीर्णताको कारण विद्यालय र शिक्षक आन्दोलनमा विकृति मौलाएको हो । आफ्नो पढाउने दायित्व बिर्सेर राजनीति गर्ने नाममा कर्तव्यच्युत बनाउन शासक दलहरूले नै शिक्षकहरूलाई सिकाएका हुन् । त्यसकारण, शिक्षक आन्दोलनमा विकृति छ भने त्यसको निम्ति आजसम्म सरकारमा गएका दल र नेताहरू नै जिम्मेवार छन् ।
तर, शिक्षकहरू राजनीतिकरूपमा सचेत हुनु हुँदैन अथवा राजनीतिक गतिविधिमा संलग्न हुनु हुँदैन भन्ने तर्क सही होइन । राजनीतिकरूपमा सचेत शिक्षकहरूले नै देशमा जिम्मेवार र आलोचनात्मक चेत भएका विद्यार्थी तयार गर्नसक्छन् । राजनीतिकरूपमा सचेत शिक्षकले नै विद्यार्थीलाई पाठ्यक्रम र पाठ्यपुस्तकभन्दा फराकिलो ज्ञान दिन सक्छ । पञ्चायतकालमा शिक्षकहरूले विद्यार्थीहरूलाई पञ्चायती व्यवस्थाभन्दा उत्तम कुनै अर्को व्यवस्था हुनसक्छ भन्ने ज्ञान नदिएको भए आजसम्म देशले पञ्चायती तानाशाही भोग्दै हुने थियो । आजको पुँजीवादी प्रजातन्त्र आफैमा सुन्दर व्यवस्था होइन । यो व्यवस्था पनि व्यापक नेपाली जनताको हितमा छैन । नेपाली समाज योभन्दा प्रगतिशील समाजतिर जाने समाज विज्ञानको अनिवार्य नियमबारे विद्यार्थी अर्थात् नयाँ पुस्तालाई सचेत बनाउने जिम्मेवारी फेरि पनि शिक्षकहरूकै काँधमा छ ।
शिक्षक आन्दोलनलाई राजनीतिबाट अलग राख्नु भनेको शिक्षामा नवउदारवादकै एउटा चरित्र हो । चिली, ग्रीसलगायत देशमा भएको शिक्षक आन्दोलनबाट यो कुरा थाहा हुन्छ । त्यसकारण, शिक्षक र राजनीतिबीचको सम्बन्धलाई निरपेक्षरूपमा लिनु ठीक होइन । राजनीतिकरूपमा सक्रिय र जिम्मेवार शिक्षकहरूले शैक्षिक क्षेत्रमा कायापलट गरेका उदाहरण नेपालमै पनि छन् । ती राजनीतिकरूपमा सचेत जिम्मेवार शिक्षकहरूले राजनीतिलाई सत्तास्वार्थ र राज्यकोषमा ब्रम्हलुट गर्ने ठाउँको रूपमा लिएनन् । आफ्ना मान्छेलाई सरुवा बढुवा गर्ने विशेषाधिकारको रूपमा राजनीतिक संलग्नताको दुरुपयोग गरेनन् । बरु राजनीतिकरूपमा सचेत हुनुको अर्थ समाज, भविष्य र विद्यार्थीप्रति जिम्मेवार बन्नु हो भन्ने अर्थमा लिए । उनीहरूले विद्यार्थीहरूलाई देश र संसारमा भइरहेको विस्तारवादी र साम्राज्यवादी थिचोमिचोबारे जानकारी दिए । संसारको इतिहास, भूगोल, राजनीति र अर्थशास्त्र पढाए । पाठ्यक्रमभन्दा बाहिर गएर पनि विद्यार्थीलाई जीवनका विभिन्न पक्ष, संसारका प्रसिद्ध साहित्य र साहित्यकारबारे पढाए । राजनीतिप्रति घिनाउने विद्यार्थीलाई राजनीतिलाई फोहोर बनाउने शासक दलका नेताहरूप्रति घृणा गर्न सिकाए, राजनीतिप्रति होइन । त्यसले देशमा जिम्मेवार नागरिकको जन्म सम्भव बनायो । त्यसकारण शिक्षक आन्दोलनमा पुँजीवादी विकृतिको जरा उखेलौँ, शिक्षक गतिविधिको होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *