भर्खरै :

बढ्दै खोप, बढ्दै सङ्क्रमण पनि

काठमाडौँ, १ पुस (एजेन्सीहरू) । बितेका दस हप्तामा नयाँ कोरोना भाइरस खोप योजनाले ढुवानी गरेको खोपको मात्रा यस वर्षको अघिल्लो ९ महिनाको कूल मात्राभन्दा धेरै बढेको छ । केही देशहरूमा खोप लगाउने विषयमा गम्भीर चुनौती पनि देखापरेको छ । विश्व स्वास्थ्य सङ्गठन र यसका सहयोगात्मक साझेदारीले यी मुलुकसँग घनिष्ट सम्पर्क राख्दै यस चुनौतीको समाधान गरिरहेको छ ।
डिसेम्बर १४ मा विश्व स्वास्थ्य सङ्गठनले नयाँकोरोना भाइरस नियमित पत्रकार सम्मेलनको आयोजना गरेको छ । सो क्रममा विश्व स्वास्थ्य सङ्गठनका महाप्रबन्धक टेड्रोस अधानोमले उक्त कुरा बताएका हुन् । उनका अनुसार विभिन्न मुलुकबीच नयाँ कोरोना खोप लगाउने दरमा ठूलो असमानता रहेको छ । ४१ वटा मुलुकसँग आफ्नो मुलुकका १० प्रतिशत जनसङ्ख्यालाई खोप लगाउन सक्ने क्षमता छैन । साथै ९८ वटा मुलुकमा खोप लगाउने दर ४० प्रतिशतभन्दा कम छ ।
विश्व स्वास्थ्य सङ्गठनद्वारा डिसेम्बर १५ मा सार्वजनिक पछिल्लो तथ्याङ्कअनुसार, विश्वमा कोरोना सङ्क्रमितहरूको कुल सङ्ख्या २७ करोड नाघेको छ भने ५३ लाख व्यक्तिको ज्यान गएको छ । डेल्टा नहराउँदै ओमिक्रोन आएको छ । हाल ७७ मुलुक र क्षेत्रमा ओमिक्रोन सङ्क्रमितहरू फेला परेका छन् ।
कोरोनाले हरेक मुलुकमा प्रभाव ल्याउँदै हाम्रो जीवनलाई परिवर्तन गरेको छ ।
छिट्टै सकिने महामारीबारे तपाईंको केही सम्झना छ कि ? नयाँ वर्षमा कोरोना महामारी हराउँछ कि ? छिट्टै आउन लागेको सन् २०२२ को सामना गर्दै हामीले नयाँ वर्षका लागि सुन्दर अपेक्षा गरौँ ।
अमेरिकामा कोरोना सङ्क्रमण ४० प्रतिशत र मृत्यु दर ३४ प्रतिशतले वृद्धि
अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण दर ४० प्रतिशतले वृद्धि भएको छ । न्युयोर्क टाइम्सले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अमेरिकामा हालसम्म कुल आठ लाख एक हजार ३७ जनाको निधन भएको छ भने दैनिक औसतमा ३४ प्रतिशतले मृत्यु दर वृद्धि भएको छ ।
बुधबारसम्म कुल पाँच करोड तीन लाख ४६ हजार ९८७ व्यक्ति कोभिड सङ्क्रमित भइसकेका छन् । कुल ६८ हजार ७९ जना मानिसहरू अस्पताल भर्ना भएका छन् भने अस्पताल भर्ना हुने दरमा २१ प्रतिशत वृद्धि भएको छ ।
यसैगरी सीडीसीका अनुसार कुल जनसङ्ख्यामा पूर्ण खोप लगाउनेको सङ्ख्या ६१.१ प्रतिशत भएको छ भने एक मात्रा खोपमात्र लगाउनेको सङ्ख्या ७२.३ प्रतिशत पुगेको छ ।
अमेरिकामा वयस्कहरूले अर्थात् १८ वर्षभन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ८४. ६ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ७२.२ प्रतिशतले लगाइसकेका छन् । यसैगरी १२ वर्षमाथिका उमेरकाले ७०.५ प्रतिशत र ५ वर्षभन्दा माथिका उमेरकाले ६५ प्रतिशत पूर्ण खोप लगाइसकेका छन ।
त्यस्तै ६५ वर्षभन्दा माथिका उमेरकालाई कम्तीमा एक खुराक खोप ९५ प्रतिशत र पूर्ण खोप ८७.३ प्रतिशत दिइएको सीडीसीले जनाएको छ ।
अमेरिकामा हालसम्म २० करोड २८ लाख ४५ हजारलाई पूर्ण खोप दिइसकिएको छ । हालसम्म तेस्रो खोप लिनेको सङ्ख्या ५ करोड ६० लाख नाघेको छ ।
सन् २०२२ मा ईयूले ओमिक्रोनका कारण स्वास्थ्य सङ्कट आउने चेतावनी
युरोपेली सङ्घ (ईयू) को स्वास्थ्य निकायले सन् २०२२ को सुरूसम्ममा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट युरोपमा सबैभन्दा प्रभावशाली स्ट्रेन हुने भन्दै चेतावनी दिएको छ ।
चेतावनीमा त्यसले अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढाउने बताइएको छ । ‘युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल’ले सामाजिक दूरी, मास्क र बुस्टर खोप कार्यक्रममा जोड दिन सबै सदस्य राष्ट्रहरूलाई आग्रह गरेको छ । युरोपेली स्वास्थ्य आयुक्तले ईयू देशहरूलाई आफ्ना क्षमता बढाउन र आवश्यक सावधानी अपनाउनु नै महामारी नियन्त्रणको उत्कृष्ट माध्यम भएको भन्दै सबै मुलुकले नियन्त्रणका लागि प्रयास थाल्न ढिला गर्न नहुने बताउनुभएको छ ।
यसै विषयमा युरोपेली आयोग प्रमुख उर्जुला भोन देर लायनले भन्नुभयो, “ओमिक्रोनका हकमा दुई वा तीन दिन नयाँ सङ्क्रमण दोबर बनेको देखिएको छ । यो निकै धेरै हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *